बेलायती सेनामा तेश्रो गोर्खा बटालियन थपिंदै

लन्डन । बेलायतले आफ्नो सेनामा तेश्रो गोर्खा बटालियन स्थापना गर्ने भएको छ । उक्त बटालियन विशेष इन्फेन्ट्री बटालियन हुने र त्यसको भर्ती सन् २०१९ बाट शुरु गरिने बेलायती रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।

बेलायतले सन् २०१५ मा प्रकाशित गरेको रक्षा 
पुनरावलोकन प्रतिवेदनले ५ वटासम्म विशेष बटालियन बनाउन सुझाव दिएको थियो ।

गत वर्ष नेशनल अडिट अफिसले करिब ८ हजार दुई सय सैनिक नपुग भएको प्रतिवेदन पेश गरेको अवस्थामा गोर्खा बटालियन स्थापना गर्ने घोषणा भएको हो ।

‘शताब्दियौं लामो सेवा र बलिदानबाट आफ्नो सीप र बहादुरीका लागि गोर्खा सैनिकहरुले अरु कसैले हासिल गर्न नसकेको इज्जत कमाएका छन्’, बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यान्कास्टरले उक्त घोषणा 
गर्दै विज्ञप्तिमा भनेका छन् ‘गोर्खाहरुको दक्षता र बेलायतप्रति उनीहरुको दृष्टिकोणका कारण पनि विशिष्ट तेश्रो बटालियन बनाउन उनीहरु नै आदर्श ठहरिएका हुन् ।’

रोयल गोर्खा राइफल्स्का कर्णेल मेजर जेनेरल गेज 
स्ट्रिकल्याण्डले भने, ‘तेश्रो बटालियन खडा गर्न सेनालाई सहयोग गर्न पाएकोमा रोयल गोर्खा राइफल्स् निकै खुशी छ । विशेष इन्फेन्ट्रीको भूमिका उत्साहप्रद र चुनौतिपूर्ण हुनेछ । यो जिम्मेवारी बहन गर्न सेनाले हामीलाई विश्वास गरेकामा हामी निकै गौरवान्वित छौं ।’

नयां युनिटले गोर्खाहरुलाई करिअरमा थप अवसरको पहुंच, पदोन्नतिसहित ब्रिगेड अफ गोर्खाजमा २४ वर्ष आर्मी सेवा गर्न मौका मिल्ने विश्वास गरिएको छ ।

गोर्खाहरु विगत दुई सय वर्षभन्दा बढि समयदेखि 
ब्रिटिश सेनामा अभिन्न अंग बन्दै आएका छन् । इन्टेक 
२०१९ का लागि गत महिनामात्र नेपालबाट करिब चार सय युवा ब्रिटिश आर्मीमा छानिएर आइपुगेका छन् । यस अलवा बेलायतले ब्रिगेड अफ गोर्खाजमा पहिलोपटक नेपाली महिला पनि सामेल हुन सक्ने गरि बाटो खोलिदिएको छ । सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गरिने यसअघि नै घोषणा भइसकेको छ ।

उता, बेलायत सरकारले गत सातामात्र भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न वृहत गोर्खा प्याकेज सार्वजनिक गरेको थियो । उक्त प्याकेजमा भूतपूर्व गोर्खा सैनिकहरुलाई सन् २०१६ को १ जनवरी देखि नै ३४ प्रतिशतसम्मका दरले पेन्सन वृद्धि गरी गुडवील प्याकेजका रुपमा यो वृद्धि एकमुष्ट उपलव्ध गराउन ४६ मिलियन पाउण्ड (६ अर्ब ७० करोड रुपैयां) व्यवस्था गरिएको उल्लेख छ ।

त्यस्तै, सन् २०१९, १ अप्रिल देखि ३४ प्रतिशतसम्मको पेन्सनवृद्धि अलवा नेपालको मुद्रास्फिति अनुसार थप ३.७ प्रतिशत वृद्धि हुने र सोका लागि प्रतिवर्ष १५ मिलियन पाउण्ड (ने.रु २ अर्ब २५ करोड) छुट्टयाइएको छ ।

अहिलेको पेन्सन वृद्धिले सबैभन्दा कम पेन्सन पाउने भूतपूर्व गोर्खाले समेत वार्षिक रु ७ लाख ३० हजार पाउने प्याकेजमा उल्लेख छ ।

त्यसैगरि भूतपूर्व गोर्खा सैनिक र उनीहरुका परिवार लगायतलाई सहज तवरले औषधोपचारको व्यवस्था गर्न १० वर्षको अवधिमा नेपालका पांच शहर दमक, धरान, पोखरा, बुटवल र काठमाडौंमा स्वास्थ्य केन्द्र स्थापना गर्ने र सो प्रयोजनका लागि थप २५ मिलियन पाउण्ड (ने.रु ३ अर्व ६० करोड) व्यवस्था गरिएको छ ।

यस अघि गोर्खा ब्रिगेडमा ४ वर्षभन्दा कम अवधि सेवा 
गरी स्वास्थ्यको कारणले नेपाल फर्केकाहरुलाई समेत बेलायतमा आई बसोबास गर्न सक्ने व्यवस्थाका लागि आवश्यक कार्य अघि बढाइने पनि बताइएको छ ।

८० वर्ष पुगेका भूतपूर्व गोर्खाहरुलाई पेन्सनमा विशेष वृद्धि गरिने एवं यस अघि गोर्खा पेन्सन वापतको रकम भारतको बैंक हुंदै नेपाल पठाउने व्यवस्था भएकोमा अबदेखि सिधै नेपालका बैकिङ्ग सेवामार्फत पेन्सन रकम पठाइने व्यवस्था घोषणा गरिएको छ ।

तर, यस प्याकेजमा भूतपूर्व गोर्खाहरुले असन्तुष्ट व्यक्त गर्दै नयां आन्दोलन थाल्ने चेतावनी दिएका छन् । –इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री