राष्ट्रपति न्यूयोर्कमा उच्चस्तरीय भेटवार्तामा व्यस्त

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो संयुक्त राष्ट्र सङघको न्युयोर्कस्थित मुख्यालयमा महासभाका इस्पिनोसा गार्सेससँग भेटवार्ता गर्नुभई महिलाका हक हितका विषयमा छलफल गर्नुभयो । तस्वीर सौजन्य वसन्त रुपाखेती-रासस

काठमाडौँ, २९ फागुन – महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू) को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभयो ।

त्यस क्रममा उहाँले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेससँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच जलवायु परिवर्तन, बहुपक्षीयता, दिगो विकासका लक्ष्य, विश्वमा शान्ति स्थापना, नेपालमा भूकम्पपछिको पुनःनिर्माणका साथै विविध विषयमा विचारविमर्श भएको संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ ।

महासचिव गुटरेसले करीब ४१ वर्षअघि गरेको नेपालको भ्रमणको स्मरण गर्दै राष्ट्रसङ्घीय शान्ति स्थापनाका कार्यमा नेपालले गरेको योगदानको सराहना गर्नुभयो । साथै उहाँले उक्त विश्वसंस्थामा नेपालले सक्रिय भूमिका निर्वाह गरेकामा प्रशंसा गर्नुभयो ।

राष्ट्रपति भण्डारीसँग अपराह्न संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले शिष्टाचार भेट गर्नुभयो । ‘शक्तिमा नारी’ विषयको छलफल कार्यक्रमका साथै अन्य धेरै महत्वपूर्ण विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा राष्ट्रपतिले उहाँको प्रशंसा गर्नुभयो । अध्यक्ष ग्रेसेसले छलफलमा सहभागी भएर आफ्ना गहन अन्तर्दृष्टि र अनुभव सुनाउनुभएकामा राष्ट्रपति भण्डारीप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

बुधबार नै राष्ट्रपति भण्डारीले इस्टोनियाका राष्ट्रपति केस्र्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग बेग्लाबेग्लै द्विपक्षीय वार्ता गर्नुभयो । आफ्ना इस्टोनियाली समकक्षीसँगको भेटमा दुई देशका राष्ट्रपतिबीच जलवायु परिवर्तन, दिगो विकासका लक्ष्य, बहुपक्षीयताजस्ता समसामयिक विश्वका महत्वपूर्ण विषयमा विचार आदान प्रदान भएको उक्त नियोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्रोएशियाका राष्ट्रपतिसँगको भेटमा पारस्परिक हित र चासोको विविध विषयमा विचारविमर्श गर्नुका साथै राजनीतिक नेतृत्वमा नारीको भूमिकाबारे छलफल भएको थियो । नेपाल र क्रोएशियाबीच विद्यमान सुमधुर सम्बन्धप्रति दुवै राष्ट्रपतिले सन्तुष्टि व्यक्त गर्दै त्यसलाई थप घनीभूत तुल्याउनेबारेमा पनि विचार आदानप्रदान गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेबी भण्डारीले हिजो न्यु योर्कमा क्रोयसियाकी राष्ट्रपति कोलिन्दा ग्राबरसँग भेटवार्ता गर्नुभयो । उक्त अवसरमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको थियो । तस्वीर रासस

उहाँसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपतिले फागुन २९ गते राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्नुहुनेछ । राष्ट्रपतिको सम्मानमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत अर्जुनकुमार कार्की र राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्त रूपमा स्वागत समारोह आयोजना गर्नुहुनेछ ।

राष्ट्रपतिसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच जलवायु परिवर्तन, न्याय, नारी सशक्तीकरण र नारी नेतृत्वबारे छलफल भएको थियो ।

राष्ट्रपति भण्डारी भोलि बिहीबार न्यूयोर्कबाट काठमाडौँका लागि प्रस्थान गरी चैत १ गते अपराह्न राजधानी आइपुग्ने कार्यक्रम रहेको छ ।

महिलाको अस्तित्व स्वीकार गर्दा ठूलो परिवर्तन गर्न सकिन्छ- राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङघीय आयोगको ६३ औँ अधिवेशनका अवसरमा राष्ट्र सङघका महासभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले न्यूयोर्कस्थित महासभा कक्षमा आयोजना गर्नुभएको …शक्तिमा महिला’ मूल विषयअन्तर्गत उच्चस्तरीय सत्रमा भाग लिँदै । तस्वीर, सौजन्य – युएनवेभटिभी, रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले महिलासम्बन्धी कानूनी र संवैधानिक परिवर्तन गर्दा तथा महिलाको अस्तित्वलाई स्वीकार गर्दा मुलुकमा निकै ठूलो परिवर्तन गर्न सकिने बताउनुभएको छ ।

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औँ अधिवेशनका अवसरमा राष्ट्र सङ्घका महासभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले न्यूयोर्कस्थित महासभा कक्षमा आयोजना गर्नुभएको ‘शक्तिमा महिला’ मूल विषयअन्तर्गत उच्चस्तरीय एक सत्रमा भाग लिँदै राष्ट्रपति भण्डारीले महिलाप्रति विभेद समाजले बनाएकाले यो अप्राकृतिक भेदभाव भएको र अपरिवर्तनीय नभएको स्पष्ट गर्नुभयो ।

‘महिला नेत्रीले कसरी विश्व परिवर्तन गर्छन्’ भन्ने विषयको उच्चस्तरीय गोलमेच छलफल(सत्र)मा उहाँले लैङ्गिक समानता जीवन जगत् र दार्शनिक रुपमा सहअस्तित्वको विषय भएको बताउँदै महिलालाई हेर्ने अन्धविश्वास र हेय दृष्टिकोणले समाजलाई पछाडि पार्ने औँल्याउनुभयो ।

“संवैधानिक र कानुनी प्रावधान स्पष्ट रुपमा परिवर्तन नगर्दा महिला पछि पर्छन्, नेपालमा कानूनमा सामान्य परिवर्तन गर्दा छोटो समयमा ठूलो परिवर्तन भएको छ”, उहाँले उदाहरण दिएर भन्नुभयो । राष्ट्रपतिले केही वर्ष अगाडि नेपालमा एक लाख पदमा भएको निर्वाचनमा १३६ जना महिला प्रतिनिधि मात्र निर्वाचित भएकामा हालैका वर्षमा केही कानूनी प्रावधानलाई सच्याउँदा एकै पटक करीब ४० हजार महिला निर्वाचित भएको बताउनुभयो । उहाँले नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको र केन्द्र, प्रदेश र स्थानीय तहमा ३५ देखि ४१ प्रतिशत महिला निर्वाचित भएर आएको जानकारी दिनुभयो ।

कार्यक्रममा आफ्ना अभिप्रेरणाका कथाका विषयमा सोधिएको एक प्रश्नमा राष्ट्रपति भण्डारीले आफू निकै दुर्गम गाउँमा जन्मेको र उक्त ठाउँमा सबैले पढ्ने, उपचार गर्ने र वर्षभरि खान पाउने अवस्था नभएको उल्लेख गर्दै सबै जनताले पढ्न, खान र उपचार गर्न पाउनुपर्छ भनेर नै आफू युवावस्थादेखि नै राजनीतिक परिवर्तनको कार्यमा लागेको बताउनुभयो । उहाँले आफ्ना बुबा गाउँको पढेलेखेको र माध्यमिक विद्यालयका प्रधानाध्यापक भए पनि उहाँको उपचार नभई निधन भएको बताउँदै त्यसैले पनि आफूलाई राजनीतिमा लाग्न प्रेरणा दिएको हो भन्नुभयो । उहाँले भन्नुभयो, “मलाई जनता, आममानिस र महिलाको सम्मान, प्रतिष्ठा र सशक्तीकरणका लागि काम गर्न कहिल्यै थकाइ लाग्दैन ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री