लण्डनस्थित नेपाली दूतावासले नारी दिवसमा सम्झियो महिला

लण्डन । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाली राजदूतावासले ९ मार्च २०१९ का दिन राजदूतावासमा एक विशेष समारोह आयोजना गरेको छ।

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीकी धर्मपत्नी श्रीमती पुनम सुवेदीको सभापतित्वमा आयोजित सो विशेष समारोहमा नेपाली साङ्गीतिक आकाशकी एक धरोहर, वरिष्ठ गायिका तथा संगीतकार श्रीमती मीरा राणा प्रमुख अतिथि तथा सामाजिक अभियन्ता राधा पौडेल एवं संयुक्त अधिराज्यको जोन मुर युनिभर्सिटीकी प्राध्यापक डा सारा पार्कर विशिष्ट अतिथिका रुपमा उपस्थित थिए ।

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै श्रीमती पुनम सुवेदीले नेपालको संविधानले नेपाली महिलाहरुलाई समान हक, अधिकार र सुविधा प्रदान गरेको र संविधानले प्रत्याभूत गरेको हक र अधिकारवाट आज हजारौ नेपाली नारीहरु नेपालको संघ, प्रदेश र स्थानीय तहका राजनैतिक पदहरुमा निर्वाचित भएर देश र जनताको सेवा गरिरहनु भएको छ भन्नुभयो । उहाँले नेपालको राष्ट्रपतिको सर्वोच्च पद तथा प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्ष पदमा महिला आसिन हुनुहुन्छ, जुन समस्त नारीहरुका लागि गौरवको विषय हो भन्नुभयो ।

उहाँले समस्त बेलातयबासी नेपाली दिदीवहिनीहरुलाई एकतावद्ध भएर नेपाली महिलाहरुको चेतना र विकासका लागि योगदान गर्न आह्वान गर्नुभयो।

विशेष समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी र सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट व्यक्त शुभकामना सन्देशहरु पढेर सुनाउनु भयो।

राजदूत डा. सुवेदीले आमा शिक्षित भए परिवार शिक्षित हुन्छ र परिवार शिक्षित भए समाज शिक्षित हुन्छ भन्नुहुँदै राष्ट्रको समग्र विकास र महिला उत्थानमा नारी शिक्षा र सामाजिक चेतना सवैभन्दा महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो। उहाँले स्वदेशमा मात्र हैन, विदेशमा पनि नेपाली नारीहरुले आफ्नो देशको धर्म, संस्कृति, पर्व, परम्परा, रीतिरिवाज, भाषा, साहित्य, कला र संगीतलाई सधैं जोगाउँदै सधैं नेपालीमन र नेपालीपन बोकेर नेपाली भएर बाच्नु पर्छ भन्ने विचार व्यक्त गर्नुभयो।

समारोहका प्रमुख अतिथि वरिष्ठ गायिका श्रीमती मीरा राणाले नारी र पुरुष एक अर्काका अभिन्न अङ्ग हुन् भन्दै समाज र राष्ट्र निर्माणमा महिला र पुरुष सँगसँगै हातेमालो गरेर अघि बढ्नु पर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले राजदूतावासले नारी दिवसमा अवसरमा बेलायतका विभिन्न स्थानवाट महिलाहरुलाई आमन्त्रण गरी आयोजना गरिएको यो समारोहले साच्चिकै नेपाली नारीहरुको सम्मान गरेको छ भन्नुभयो।

समारोहकी विशिष्ट अतिथि राधा पौडेलले नेपालका गरीब र विपन्न वर्गका महिलाहरुमाथि महिनावारीका समयमा हुने सामाजिक दुर्व्यवहार र अन्धविश्वासवाट मुक्त हुन सवैले खुलेर बहस गर्नुपर्ने समय आएको बताउँदै महिनावारी समस्या र त्यसको समाधानका सम्बन्धमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो ।

त्यसैगरी विगत तीस वर्षदेखि नेपालको अध्ययन र अनुसन्धान गर्दै आउनु भएकी प्राध्यापक डाक्टर सारा पार्करले  नेपालको सिक्लेसमा आफू र आफ्नो सामाजिक संस्थाद्धारा सामाजिक, शैक्षिक र स्वास्थ्यसम्बन्धी चेतानामूलक कार्यक्रमहरुका माध्यमवाट नेपाली महिला तथा वालवालिकाहरुप्रति पुर्याएको योगदानबारे एक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

समारोहमा बेलायतको नेपाली समाजकी एक सशक्त महिला समाजसेवी तथा गैर आवासीय अन्तर्राष्ट्रिय नेपाली संघकी केन्द्रीय सदस्य श्रीमती शान्ति थापा कुँवरलाई विशेष सम्मान गरिएको थियो ।

समारोहमा लण्डन लगायत बेलायतका विभिन्न शहरवाट करिब दुईसय महिलाको सहभागिता थियो । अन्तमा बेलायतको सयपत्री नेपाली सांस्कृतिक समूहद्धारा एक मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री