न्युजिल्यान्ड मस्जिद आक्रमणको विश्वभरीबाट आलोचना, घटनाप्रति दुःख व्यक्त

न्युजिल्यान्ड, १ चैत (रासस-सिन्ह्वा-एएफपी)- न्युजिल्यान्डको क्राश्चिर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विस्फोटको घटनाप्रति विश्वभरबाट विरोध भएको छ ।

यो समाचार तयार पार्दा सम्म ४९ जनाको मृत्यु भएको सो घटनाको आलोचना गर्दै विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुले न्युजिल्यान्डप्रति सहानुभूति प्रकट गरेका छन् ।

न्युजिल्यान्डकै राष्ट्र प्रमुख समेत रहनु भएकी रानी एलिजावेथ द्धितीयले घटनाबाट आफुलाई गहिरो दुःख लागेको बताउनु भएको छ ।

उहाँले प्रकाशित गर्नु भएको शोक वक्तव्यमा भनिएको छ, “यो दुःख घडीमा म सम्पूर्ण मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै उहाँका आफन्त, साथी र सम्पूर्ण देशबासीमा समवेदना व्यक्त गर्दछु ।”

उहाँले आफु र आफ्नो छोरा राजकुमार फिलीपको तर्फबाट पनि घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्नुभएको समाचारमा जनाइएको छ ।

न्युजिल्यान्डसहित बेलायत, अष्ट्रेलिया, क्यानडालगायत १६ देशकी ९२ बर्षीया रानी एलिजावेथ द्वितीयले सन् २००२ मा पछिल्लो पटक न्युजिल्यान्ड भ्रमणमा गएको स्मरण पनि गर्नुभएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै सो घटनालाई भयानक नरसंहारको संज्ञा दिनु भएको छ । ट्रम्पले ट्वीटरमा लेख्नु भएको छ, “यस दुःखद घडीमा न्युजिल्यान्डका जनता र मृतकका आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछु । ”

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले न्युजिल्यान्डमा भएको घटना थाहा पाएर आफुलाई ज्यादै दुःख लागेको बताउनुभएको छ । न्युजिल्यान्डका प्रधानमन्त्री जसिन्डा अर्डेनलाई पठाएको पुटिनको सन्देशमा घटनामा संलग्न हरेकलाई कारबाहीको भागिदार बनाउन आग्रह गर्नुभएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तएप एड्रोगानले पनि दुई ओटा मस्जिदमा भएको दुखद् घटनाको कडा शब्दमा भत्सर्ना गर्नु भएको छ । अङ्ग्रेजी र टर्किस भाषामा ट्वीट गर्दै उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नु भएको छ ।

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै न्युजिल्यान्डको सरकार, जनता र पिडितहरुप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि गहिरो सहानुभूति व्यक्त गर्नु भएको छ । यस्ता घटना न्युजिल्यान्ड मात्र नभई सिङ्गो विश्वलाई नै चिन्ताको विषय भएको उहाँले उल्लेख गर्नु भएको छ ।

फिजिका प्रधानमन्त्री भोरेक बैनिमारामाले शुक्रबार सम्प्रेषण गरेको सन्देशमा दुई मस्जिदमा भएको दुखदायी घटनाबाट आफु मर्माहित भएको उल्लेख गर्नु भएको छ ।

घटनाप्रति पाकिस्तानले पनि दुःख व्यक्त गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले जारी गरेको वक्तव्यमा दुखदायी घटनाको पाकिस्तानले भ्रत्सर्ना गर्ने उल्लेख छ ।

यसैगरी क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले पनि न्युजिल्यान्डको दुई ओटा मस्जिदमा भएको आक्रमणमा परी ४९ जना भन्दा बढीको निधन भएकोप्रति दुःख व्यक्त गर्नु भएको छ ।

उहाँले पठाउनुभएको सन्देशमा न्युजिल्यान्डका जनता र घटनाबाट पिडितप्रति ऐक्वबद्धता जनाउदै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

अन्य देशका सरकार तथा राष्ट्रप्रमुख र विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा निकायहरुले पनि शोक वक्तव्य प्रकाशित गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । त्यसैगरी सो घटनाप्रति सामाजिक सञ्जालमा पनि धेरैले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री आर्डेनले शुक्रवारलाई ‘कालो दिन’ भएको बताउँदै यो घटनालाई ’आतङ्ककारी हमला’ मात्रै भन्न सकिने बताउनुभएको छ । उहाँले न्यूजिल्यान्डको इतिहासमा यो सबैभन्दा घातक हमला भएको उल्लेख गर्नुभएको छ । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री आर्डेर्नले भन्नुभयो, “आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ ।”

अल नूर मस्जिदमा बन्दुकधारी आक्रमणकारीले टाउकोमा क्यामरा बाँधेर बालबालिका, महिला र पुरुषलाई आन्धधुन्ध गोली हानेको फेसबुकमा प्रत्यक्ष प्रसारण पनि गरेका थिए । प्रत्यक्षदर्शीहरूले आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको भिडियोमा बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री