मोदीद्वारा ‘म पनि चौकीदार’ अभियान सुरु

मोदी

नयाँदिल्ली, २ चैत– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (बिजेपी)को “म पनि चौकीदार” अभियानको शनिबार सुरुवात गर्नु भएको छ ।

सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गरेर उहाँले अभियानको सुरुवात गर्नु भएको हो ।

“तपाईका चौकीदारहरु देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन । हरेक व्यक्ति जो भ्रष्टाचार, गलत काम, सामाजिक विकृतिका विरुद्धमा लड्छन्, ती सबै चौकीदार हुन्,” उहाँले भन्नु भएको छ ।

प्रधानमन्त्री मोदीले देशको प्रगतिका लागि कडा मिहनेत गर्नेहरुलाई पनि चौकीदारको संज्ञा दिँदै आज भारतका सबै नागरिकले म पनि चौकीदार हुँ भन्ने गरेको बताउनुभयो ।

अघिल्लो पटक सन् २०१४ मा भएको निर्वाचनमा आफू चौकीदार बन्न चाहेको बताउनु भएका मोदीले अहिले फेरि त्यही चौकीदारको विषयलाई अभियानको रुपमा सुरु गर्नुभएको हो ।

चौकीदारले पैसा र सम्पत्तिको सुरक्षा गरे झैं आफूले देशको संरक्षण गर्न चाहेको उहाँको भनाई छ ।

काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले “चौकीदार चोर भयो” भन्ने टिप्पणी गरेपछि बिजेपीले त्यसको सर्वेक्षण गर्दा धेरै मान्छे चौकीदारको पक्षमा देखिएकाले “म पनि चौकीदार” अभियान उहाँले सुरु गर्नु भएको हो ।

सर्वेक्षणले चौकीदारलाई होच्याइएकामा धेरै जना रिसाएको पनि देखाएको अधिकारीहरुले जनाएका छन् ।

यसअघिको निर्वाचनमा प्रधानमन्त्री मोदीलाई “चियावाला” को रुपमा पनि यसैगरी प्रचार गरिएको थियो । त्यो पनि सकारात्मक र प्रभावकारी भएको थियो ।

भारतमा यही मार्च ३१ देखि निर्वाचन हुन लागेकाले निर्वाचनको दिन नजिकिदै जादा प्रचार प्रसार पनि तिव्र हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री