बेलायतका नेपालीलाई मर्यादित महिनावारीबारे सुनाउंदै राधा

लन्डन । मदन पुरस्कार बिजेता तथा सामाजिक अभियन्ता राधा पौडेल बेलायत भ्रमणमा खुबै व्यस्त भइन् । उनीसंग साक्षात्कार गर्न इच्छुक संघसंस्था र व्यक्ति धेरै नै भए ।

एनआरएनए यूके, तमुधिं यूके, मगर संघ यूके, ग्रेटर रेडिङ नेप्लीज कम्युनिटी, बेजिङस्टोक नेप्लीज कम्युनिटी, बेजिङस्टोक टेक्नोलोजी कलेज, क्रेनबोर्न कलेज लगायतले 
राधासंग साक्षात्कार गरे ।

१०९ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ब्रिटिस एकेडेमी र लिभरपुल जोनमुर युनिभर्सिटीको संयुक्त निमन्त्रणामा बेलायत आएकी थिइन् राधा । बेलायत बसाईका क्रममा ब्रिटिस एकेडेमी र लिभरपुल युनिभर्सिटीको अफिसियल प्रिजेन्टेशन सकिए पश्चात उनले नेपाली समुदाय र विभिन्न स्थानीय कलेजहरुमा आयोजित 
अन्तरक्रियामा भाग लिइन् । लिभरपुल युनिभर्सिटी र राधा 
पौडेल फाउन्डेसनले ‘डिग्निटी वीदाउट डेन्जर रिसर्च’ प्रोजेक्टमा संयुक्त रुपमा काम गरिरहेका छन् ।

सोआस युनिभर्सिटी अफ लन्डनका प्रोफेसर र मास्टर्स गरिरहेका विद्यार्थीहरुसंग पनि उनले हिन्दु धर्म ग्रन्थमा महिलाहरुको अवस्था र महिनावारी सम्बन्धी भ्रमपूर्ण रुढीवादी मानसिकता बारे अन्तरकृया र छलफल गरिन् ।

छाउपडी प्रथा विशेष गरि नेपालको सुदुर पश्चिममा मात्र छ भन्ने भ्रम नेपालीमा भएपनि त्यो सुदुर पश्चिममा मात्रै नभएर स्वदेश लगायत विदेशमा जहां जहां नेपाली छन् त्यहां भएको कुरा उनले प्रष्ट पारिन् । उनकै शब्दमा, फरक यत्ति छ सुदुर पश्चिममा छाउगोठमा महिलाहरुलाई राखिन्छ भने शहर बजार र विदेशमा कोठाको एउटा कुनामा राखिन्छ । सो प्रथा अन्त्य गर्नुपर्ने र महिनावारीको रगत अपवित्र होइन् भन्ने कुरा उनले प्रष्ट्याइन् । यसबारे उनले आफ्नो नयां कृति ‘अपवित्र रगत’ मा पनि खुलेर चर्चा गरेकी छन् ।

ब्रिटिश एकेडेमी र लिभरपुल युनिभर्सिटीको कार्यक्रमपछि भएका आधा दर्जन बढि कार्यक्रमको संयोजन बेजिङस्टोक नेपलीज कम्युनिटीकी सल्लाहकार एवं तमुधिं यूकेकी आजीवन सदस्य समाजसेवी सुधा गुरुङले गरेकी थिइन् ।

‘मर्यादित महिनावारी सबैको जिम्मेवारी’ बारे गत आइतबार 
तमु धिं यूके मिचेट भवनमा सम्पन्न अन्तरक्रियामा विभिन्न उमेर समूहका करिब सय बढि महिला तथा पुरुष सहभागी थिए । उनले कार्यक्रममा पावर प्वइन्टमार्फत आफ्नो 
प्रिजेन्टेशन पनि देखाइन् । कार्यक्रममा राधाले गत महिना मात्रै सार्वजनिक गरिएको आफ्नो पुस्तक ‘अपवित्र रगत’ बारे चर्चा गरिन् । राधाले उक्त पुस्तकमा आफूले भोगेका र गाउं ठाउं डुल्दा देखे भोगेका प्रसंग लेखेकी छन् । त्यसपछि सहभागीहरुले प्रश्नोत्तर गर्दै महिनावारीबारे आ आफ्नो अनुभव सुनाएका थिए । महिनावारीबारे प्रचलित रुढीवादी परम्परा र संस्कारलाई समयसापेक्ष परिवर्तन गर्दै लैजानुपर्ने समयको माग र आवश्यकता भएको उनले बताउने गरेकी छन् ।

उनले त्रिभुवन विश्वविद्यालय र फिलिपिन्सको मनिलाबाट ट्रिपल मास्टर्स गर्नुका साथै मर्यादित महिनावारीबारे पिएचडी 
गर्ने अन्तिम तयारी पनि गरिरहेकी छन् ।

राधाका शान्तिका पाइलाहरु (कविता संग्रह), मर्यादित महिनावारी सबैको जिम्मेवारी (हयान्ड बुक) र खलंगामा हमला कृति प्रकाशित छन् । उनले नेपालको ६२ वटा जिल्लामा पुगेर सेवा पुरयाइसकेकी छन् भने करिब डेढ दर्जन मुलुकका युनिभर्सिटीहरुमा मर्यादित महिनावारीबारे प्राध्यापन 
गराइसकेकी छन् । सोही क्रममा सन् २०१५ मा बेलायत आउंदा उनले विश्व प्रसिद्ध अक्सफोर्ड युनिभर्सिटी, क्याम्ब्रीज युनिभर्सिटी, युनिभर्सिटी अफ एसेक्स्मा पनि सोबारे प्राध्यापन गराइन् । देश तथा विदेशमा मर्यादित महिनावारीबारे अभियान चलाउने उनी नै पहिलो महिला हुन् ।

उनले सामाजिक अभियानमा एनपिस अवार्ड, वुमन पिस मेकर अवार्ड, प्रतिभाशाली सामाजिक पुरस्कार, खलंगामा हमलाका लागि मदन पुरस्कार प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री