साफ महिला फुटबल- नेपाल र भारत दुवैले जित्ने दाबी

पाँचौँ साफ महिला फुटबल प्रतियोगिता अन्तर्गत बुधबार विराटनगरको शहीद रंगशालामा भएको खेलमा नेपाल (निलो जर्सी) र श्रीलङका (पहेलो जर्सी) बीच प्रतिस्पर्धा । पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकालाई ४–० पराजित गरी फाइनलमा प्रवेश गरेको छ । तस्वीर सौजन्य एन्फा/रासस

विराटनगर, ७ चैत – पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार हुने फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन् । साफ महिला फुटबलको फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतका फुटबल टोलीले उपाधि आआफ्नो टोलीले जित्ने बताएका छन् ।

समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । घरेलु मैदानमा खेल आयोजना भएकाले प्रतियोगिताको उपाधि जित्ने नेपाली टोलीका प्रशिक्षक हरि खड्काले बताउनुभयो । नेपाली महिला फुटबल टिमकी कप्तान निरु थापाले प्रशिक्षणबाट नेपाली टोली खारिएकाले उपाधि उचाल्ने दाबी गरिन् ।

भारतीय प्रशिक्षक मयेमल रक्कीले नेपाल बलियो टिम भएकाले सोहीअनुरुप रणनीति तयार गर्ने बताउनुभयो । उहाँले नयाँ स्थान र परिवेश रहे पनि प्रतियोगिताको विजेता भारत हुने दाबी गर्नुभयो । भारतीय टोलीका कप्तान आशालता देवीले नेपाल उत्कृष्ट खेलाडीको समूह भएपनि बिनातनाव प्रतियोगितामा आफ्नो खेलाडीले प्रतिस्पर्धा गर्ने बताउनुभयो । समूह चरणको खेलमा नेपालले बङ्गलादेश, भूटान र श्रीलङ्कालाई पराजित गरेको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री