कोरियाली भाषा परीक्षाका लागि ५० हजारले दिए आवेदन

दक्षिण कोरियामा रोजगारीका लागि कोरियन भाषा परीक्षा शुल्क बुझाउन काठमाडौँको कीर्तिपुरस्थित ग्लोबल बैंकमा शुक्रबार युवायुवतीको भीड । तस्बिर- रोशन सापकोटा, रासस

काठमाडौं, ८ चैत – रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि अहिलेसम्म ५० हजार बढीले आवेदन दिएका छन् ।

गए राति १२ बजेदेखि आवेदन खुला गरिएको थियो । आज अपराह्न ५ बजेसम्म ५० हजार युवाले आवेदन फारम भरिसकेको इपिएस कोरिया शाखाले जनाएको छ । यस पटकदेखि अनलाइनबाटै दरखास्त शुल्क तिर्ने व्यवस्था मिलाइएपछि आवेदकले विगतमा झै सास्ती व्यहोर्नु परेन ।

विगतका वर्षमा अनलाइन भुक्तानी प्रणाली लागू नगर्दा आवेदकले अघिल्लो दिनदेखि नै बैंक काउन्टर अगाडि लाइन लाग्नुपर्ने अवस्था देखिएको थियो । विद्युतीय भुक्तानी सेवा प्रदायक संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायतबाट दरखास्त शुल्क बुझाउने व्यवस्था मिलाइएपछि यसपटक विगतमा जस्तो आवेदकको भीडभाड कतै पनि देखिएन ।

अनलाइनबाट परीक्षा दस्तुर भुक्तानी गर्न सकिनेबारे जानकारी नपाएका केही युवा बिहानै बैंकको काउन्टर अगाडि लाइन लागे पनि मध्याह्नपछि कुनै पनि बैंकको काउन्टरमा लाइन देखिएको थिएन । आवेदन फारम यही चैत १७ गते राति १२ बजेसम्म भर्न सकिनेछ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री