सङ्घीय संसद्को तेस्रो अधिवेशन अन्त्य

संघीय संसद भवन नयाँबानेश्वरमा आइतबार बसेको संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा सहभागी सांसद । यस वर्षको संघीय संसदको हिउँदे अधिवेशन आज अन्त्य भएको छ । तस्वीर- रासस

काठमाडौँ, १० चैत – गत पुस ११ गते प्रारम्भ भई आज चैत १० गतेसम्म जम्मा ८९ दिन चालू रहेको सङ्घीय संसद्को तेस्रो अधिवेशन आज अन्त्य भएको छ । यस अवधिमा प्रतिनिधिसभामा जम्मा २३ वटा सरकारी विधेयक दर्ता भएकामा आठ विधेयकसभामा प्रस्तुत हुन बाँकी रहेका छन् ।

सात विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने दुईमाथि राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएको सभामुख कृष्णबहादुर महराले जानकारी गराउनुभयो । अन्य छ विधेयक सङ्घीय संसद्को दुवै सदनबाट पारित भइसकेको छ । साथै सभाको दोस्रो अधिवेशनबाट प्राप्त विभिन्न सात विधेयकमध्ये चार विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने दुई विधेयक समितिमा विचाराधीन अवस्थामा नै रहेको र एक विधेयक राष्ट्रियसभामा विचाराधीन रहेको अवस्था छ ।

सभाको विभिन्न बैठकमा सडक दुर्घटना रोक्न कदम चाल्नुपर्नेसम्बन्धी र छाउपडीप्रथाको अन्त्यका लागि विशेष अभियान सञ्चालन गर्नुपर्नेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावउपर छलफल भई सम्बन्धित मन्त्रीबाट जवाफ दिने कार्य सम्पन्न भएको थियो ।

गत माघ ४ गतेको बैठकमा प्रारम्भ भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रममा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ प्रधानमन्त्रीबाट दिने कार्य भएको थियो । साथै सभाको विभिन्न बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीबाट दिइएको थियो । त्यस्तै विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भई सदनमा प्रस्तुत गर्न बाँकी रहेका मौखिक एवं लिखित उत्तरसमेत टेबुल भएका छन् ।

सभाको बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदन पेश गर्ने कार्य सम्पन्न भएको सभामुखले बताउनुभयो । यस अधिवेशन अवधिभर पूर्वसदस्य चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर, मोतिदेवी थारु, कमलादेवी शर्मा, रवीन्द्रप्रसाद अधिकारी, भरतमोहन अधिकारी, गणेश पण्डित र जीतबहादुर पुरीको निधन भएकामा शोक प्रस्ताव पारित भएका छन् ।

यसै अवधिमा सदनको विभिन्न बैठकमा प्रधानमन्त्रीले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट कार्यान्वयनका बारेमा, गृहमन्त्रीले नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सम्झौताका विषयमा र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सम्बन्धमा सार्वजनिक महत्वको वक्तव्य दिनुभएको थियो ।

यसअघि आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका नेताले अधिवेशन समापनका अवसरमा मन्तव्य दिनुभएको थियो । त्यस्तै सभामा प्रस्तुत हुन नसकेको लिखित एवं मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीबाट टेबुल गरिएको थियो । बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त संसद् अधिवेशन अन्त्य हुनेसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

राष्ट्रियसभाको चालु हिउँदे अधिवेशन आजदेखि समापन भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चालू हिउँदे अधिवेशन समापन भएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा बैठकमा पढेर सुनाउनुभयो । बैठकमा अध्यक्ष तिमिल्सिनाले तेस्रो अधिवेशन अवधिभर भएका बैठक र काम कारवाहीबारेमा जानकारी गराउँदै ८९ दिन बैठक बसेको र विभिन्न १२ विधेयक पारित भएको बताउनुभयो ।

यसअघि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भएको सन्देशसहित प्रतिनिधिसभामा पठाइएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ लाई प्रतिनिधिसभाबाट पारित भई आएको सन्देश बैठकसमक्ष जानकारी गराउनुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री