एनआरएनए स्कटल्याण्डको आयोजनामा हिल वाक

स्कटल्याण्ड । एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समिति स्कटल्याण्डको आयोजनामा डुमएट हिल, स्टरलिङमा आइतबार हिल वाक इभेन्ट सम्पन्न भएको छ । सो अवसरमा करिब सय जनाभन्दा बढी सहभागी रहेको एनआरएनए स्कटल्याण्डले जनाएको छ ।

नौलो तरिकाको हिल वाक इभेन्टले एनआरएनएप्रति सचेतना जगाएको  एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताए । एनआरएनए स्कटल्याण्डको यो पहिलो सार्वजनिक कार्यक्रमले  सहभागीहरुमाझ एनआरएनएप्रति सकारात्मक भावना जगाएको र यसले एनआरएनएको सदस्यता र संगठन विस्तारमा सहयोग पुगेको अध्यक्ष कार्कीले बताए ।

हिल वाक इभेन्टबाट सहायता कोषका लागि सहयोग संकलन भएको र सहयोग संकलन क्रम जारी नै रहेको कार्कीले जानकारी दिए । उक्त कोषबाट संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने छ ।

हिल वाक शुरु हुनुभन्दा अघि एनआरएनए स्कटल्याण्डका सचिव कृष्ण दाहालले हिल वाकको विवरण, स्वास्थ्य, सुरक्षाबारे जानकारी दिएका थिए । डुमएट हिलमा पाँच माइलको हिँडाइका लागि करिब दुई घण्टा लागेको थियो । एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपानेसहित उक्त कार्यकममा स्कटल्याण्डको विभिन्न स्थानहरु एडिनब्रा, ग्लास्गो, एबर्डिन, फलक्रिक, फाइफ, पर्थ ,डनफर्मलिन र स्टरलिङबाट सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताए ।

हिल वाक इभेन्टमा भिजिट नेपाल २०२० को प्रचार समेत गरिएको छ।  उक्त इभेन्टमा अध्यक्ष कार्कीले प्रायोजन गरेको भिजिट नेपाल २०२०को प्रचार सामाग्री कार स्टिकर वितरण गरिएको थियो ।

एनआरएनए स्कटल्याण्डका अध्यक्ष कार्कीले स्कटल्याण्डका प्रत्येक एनआरएनएले आफ्ना साथीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे नेपालको पर्यटन ब्यवसायमा सहयोग पुग्ने बताए । एनआरएनए स्कटल्याण्डले भिजिट नेपाल २०२० को प्रचारका लागि नेपाली दूतावास र पर्यटन बोर्डसंग समन्वय गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री