चितवन एड ट्रस्ट युकेको आठौं अधिवेशन ७ जुलाईमा

लन्डन । युकेमा रहेका चितवनवासीहरूको साझा संस्था चितवन एड ट्रस्ट (क्याट) युकेको आठौं अधिवेशन यही जुलाई ७ मा हुने भएको छ ।

क्याट युकेको आइतबार प्लमस्टिडस्थित चौतारी रेष्टुरेण्टमा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

अधिवेशन आयोजना गर्न संस्थाका उपाध्यक्ष जीवन सेनलाई संयोजकको जिम्मा दिइएको छ ।

समर भेटघाट तथा विविध साँस्कृतिक कार्यक्रमसहित अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष देवेन्द्र श्रेष्ठले बताए । अधिवेशनबाट नयाँ कार्यसमितिको चयन हुनेछ ।

नयाँ समिति चयनका लागि निर्वाचन कमिटीको प्रमुखमा पूर्व अध्यक्ष राजेन्द्र खरेललाई जिम्मा दिइएको छ । खरेलले आवश्यकता अनुसार कमिटी विस्तार गर्नसक्ने कार्यादेश दिइएको छ ।

यसैगरी बैठकले नेपाल जर्नी अर्गनाइजेसनले चितवनको भरतपुर महानगरपालिका ४ मा स्थापना गर्न लागेको अपांगमैत्री सार्वजनिक पुस्तकालयमा क्याट युकेले सहयोग गर्ने र त्यसको संयोजक संस्थाका उपाध्यक्ष यादव श्रेष्ठलाई तोकिएको छ । त्यस्तै, धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ब्यापक सहयोग जुटाउन र विभिन्न संघसंस्थासंग छलफल गर्न चितवन एड ट्रस्ट (क्याट) युके को उपाध्यक्ष जीवन सेनको संयोजकमा एउटा कमिटी गठन गरिएको छ जसमा केदार थपलिया, रघु दाहाल रहेका छन् ।

बैठकले यही मे १२ का दिन ट्राफलगर स्क्यारमा बुद्ध फाउण्डेशन युकेले गर्न लागेको बुद्ध जयन्ती कार्यक्रम सबैले आफ्नो स्थानबाट सहयोग गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा संस्थापक अध्यक्ष कपिल श्रेष्ठ, पूर्व अध्यक्ष राजेन्द्र खरेल, सल्लाहकारहरू टीका पौडेल, कमल पौडेल, शान्ता बिनोद लामिछाने, केदार थपलिया, रितेश पाण्डेको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री