सोमबार, मंसिर २३ २०७६ | Mon, December 09, 2019
नेपालको समय: १३:१३ | UK Time: 07:28

उजाड जिन्दगीमा म हांसु कसरी ?

कथा

अन्जु भण्डारी
२०७५ चैत १४ गते १७:४५

रमेश कोठाबाट एकनासले बोलाइरहेको थियो । तर, म नसुनेझैं भान्छामा व्यस्त भइदिए त्यो पनि बिना काम ।

अनि उ पनि सदाको जस्तै रिसाएर भान्छामा नै आयो…. तिमीलाई मलाई सताउन निकै मन पर्छ है। आजभोली 
मैले बोलाएको पनि सुन्न छोड्यौ । पछाडिबाट अंगालो हाल्दै बोल्यो उ । सताउंछु मात्रै र ? माया पनि त गर्छु त्यो पनि कति धेरै…।

कति..?
हजुरले कल्पना गरे भन्दा नि धेरै..यो आकाश जस्तै सिमाबिहीन अनि यो धर्ती जस्तै गहिरो।
तर डर लाग्छ कतै त्यो बादल जस्तै उडेर बिलाउनु हुन्छ कि धर्तीमा खसेर कतै मिसिनु हुन्छ।

धत लाटी त्यस्तो नि हुन्छ र ? तिमीबाट टाढा त …यो आकाश धर्ती त के भगवानले पनि गर्न सक्दैन । तिमीले यसरी नै माया गरिराख्यौ भने त एकदिन यो संसारलाई जित्ने छु म। तर कुनै दिन झुक्यिर भए नि तिम्रो मन दुखाएछु भने मलाई छोडेर कतै नजाउ है।

हस्….उसको निधार नजिकै ओठ पुरयाएको मात्र के 
थिएं पर क्षितिजमा गुनगुन…।

सदाको जस्तै आज पनि सपनाको मिठो त्यान्द्रो टुट्यो ।

तं मेरो घर छोडेर किन जांदिनस् ? एउटै कुरा कति भनु कति दोहोराउं। मैले त संग बिहे मेरो लागि होइन, यो घरको इज्जत मान प्रतिष्ठाको लागि गरेको हो। तं यो घरको बुहारी मात्र होस् मेरी स्वास्नी होइनस् र कहिले हुने छैनस् पनि। त्यसैले बिन्ती स्वास्नी बनेर मेरो मन जित्ने कोसिस नगर्नु।

आज पनि लड्बडिएको बोलीसंगै लड्बडिएका खुट्टाले डङग बिस्तारामा पल्टियो रमेश। बिहे गरेको केहि समय देखि नै सुन्न र भोग्न थालेको २ वर्ष भयो तैपनि यो मनले यी सब कुरा रमेशले भनेको भनेर मान्न तयार छैन् । मानु पनि कसरी सधैं खुशी दिन्छु, सुख दिन्छु भन्ने बाचा गरेर यो सिउंदो रंगाएको थियो उसले । तर कति सजिलै आफूले गरेको बाचा भुल्छन है मान्छे।

उ कति खेर उठ्छ, के खान्छ, कतिखेर अफिस जान्छ 
मैले कहिल्यै मेलो पाइन् । बिहानको धन्दा सकेर कोठामा चिया पुराउंदा उ कहिल्यै हुन्थेन। तर बेलुका घर फर्कने बेलामा हावाले पनि उसको गन्ध लिएर आउंथ्यो। अनि उ संगै आउथे मेरा लागि उसका गुनासाहरु …..न तं संग मेरो रुप मिल्छ, न पढाइ, न स्टाटस, न केहि, तं कहां गाउंकी पाखे अनि कहांको म। तर यही पाखे रातमा अप्सरा लाग्छ उसलाई। किनकी हरेक रात म उसको लागि सृष्टि हुन्छु । उसैको नाममा गिजल्न्छ, भोग्छ सुमसुमाउंछ अनि पोखिन्छ म माथि र पोख्छ उसका सारा चीज र उत्तेजना । २ वर्ष देखि उही अन्जानको नाउंमा लुटिरहेछ मेरो शरीर तर मन लुट्ने प्रयास कहिल्यै गरेनन् उसको शब्द र ब्यवहारले दुखेको मुटुनै सुम्सुमाउने काम गरयो ।

२ वर्षको थिएं रे आमाले छोडेर जांदा, आमाको माया त के आमाको अनुहार पनि याद छैन् मलाई। आमाको माया कस्तो हुन्छ भनेर सोध्दा हजुरआमालाई देखाउने गर्थें रे। अनि आमाको प्रतिबिम्ब चाहिं कान्छी आमाको अनुहारमा खोज्थें रे।

कान्छी आमाबाट भाइ जन्मे पछि त बाबा पनि मेरो लागि आकाशको जुन जस्तै हुनुभयो। देख्दा राम्रो प्यारो शितलता दिने तर छुन कहिल्यै नसक्ने। भाइको जन्म 
संगै बाबाको काखमा लुटुपुटिने दिन पनि गयो। मेरो हजुरआमाले पनि छोडेर जानु भयो। एक्ली भएं । १६ वर्षमा हिंड्दै थिएं घरमा बिहेको कुरा चल्यो । छोरीको इच्छा के छ, के चाहन्छे कसैको चासोको विषय रहेन। मात्र केटा हेरियो अनि उसको सम्पति ।

आफू भन्दा १५ वर्ष जेठो केटाको पछि लगाएर पठाइयो । त्यो पनि मैले हुर्काएको माली गाइलाई जस्तै । अनि म पनि पछि लागे आफ्नो भाग्य सम्झेर । माली गाईलाई पठाउंदा त बाबाको हातमा पैसा परेको थियो तर मलाई पठाउंदा बाबालाई के मिल्यो कुन्नि..? मेरो भागमा चाहिं जीवन भरि पुग्ने पीडा ।

सपना कस्तो हुन्छ देखाउने मान्छे कोही भएन अनि माया कस्तो हुन्छ। मेरो लागि दुर देशको खजाना जस्तै थियो। देख्न हेर्न मिल्ने तर महशुश गर्न कहिल्यै नसकिने। त्यसैले त होला उसको घृणालाई पनि माया सम्झेर माया गरिरहें तर उसले मेरो माया र सरलतालाई मेरो कमजोरी सम्झेर घृणा गरिरहयो।

छुट्ने भनेको त समयको पलहरु मात्रै रैछ। आमा र हजुरआमाको मृत्यु, बिहेको अर्थ थाहा नहुंदैको बिहे, रमेशको बेवास्ता । समयले दिएको यी पीडाहरु मै संग हिंडिरह्यो अनन्तसम्म पनि । अनि म पनि यिनै पीडाहरु संगै हिंडे । यी आंसुहरु..सायद अरुसंग बांड्न नसकेका पीडाहरु आंसु बनेर आँफैसँग बाडिंदा हुन्। त्यसैले त जति जति यी आंसुहरु परेलीमा भरिन्छन् उति उति मन पनि हल्का हुंदै जान्थ्यो।

८ महिनाको गर्भवती थिएं । एकदिन सासुआमाको कोठा सफा गर्दै थिएं, पुरानो एल्बममा गएर आंखा अडियो। खोलेर हेरेको रमेशको सानोको फोटोहरु रैछ। अनि फोटो संगै थिए उसले मंसग लुकाएको रहस्यका पोकाहरु। फोटोको पानाहरु जति पल्टदै जान्थें उति रहस्यहरु खुल्दै जान्थे। अनि जति रहस्य खुल्दै जान्थे त्यतिनै म मुनीको जमिन भांसिदै जान्थ्यो।

यी फोटोमा जति खुशी त रमेश यो २ वर्षमा कहिल्यै देखेको थिइन् मैले। सायद त्यो खुशीको कारण तिनै हुन् जोसंग ऊ उभिएको थियो । हो त्यो उभिने तिनै थिइन् जसले खुशी खुशी मलाई यो घरमा भित्राएकी थिइन्।

तर त्यो दिन पछि उनी मेरो अगाडि कहिल्यै देखा परिनन् । परिवारको अनुसार उनि रमेशको नजिकैको साथी । रमेशको बिहेकै लागि नेपाल आएकी र बिहेकै दिनको फ्लाइट बाट फेरी विदेश फर्केकी थिइन् ।

यस्ता कुराहरुको कल्पनाले त मुटु हल्लाउंछ, आंखा रसाउंछ, पीडा हुन्छ । तर, यहां त धेरै कुराहरु कल्पना भन्दा बाहिरका थिए । कसरी सहने। भोली यथार्थ संग कसरी लड्ने ? कसरी सामना गर्ने ? हिंड्न नसक्ने मान्छेको अगाडि सगरमाथाको उचाईं जस्तै भयो…जीवन अनि यसको गोरेटोहरु।

बेस्सरी रुन मन लाग्यो। भाग्य लेख्ने भगवानलाई गाली गर्न मन लाग्यो। तर जति रोए गाली गरे पनि मेरो चित्कार सुन्ने कोही थिएन सिवाय निर्जिव भित्ता। सुनेको थिएं आंशुमा यती धेरै शक्ति हुन्छ कि जसले पत्थरलाई पनि पगाल्छ। हो यी भित्ताहरु पनि पग्लिए मसंगै 
रोए, कराए । तर, मान्छेलाई पगाल्न सकिन। किनकी यिनीहरु कसैको संवेदना र आंसुले पगाल्न नसक्ने सास भरिएका मान्छे थिए । अनि म यस्ता मान्छेलाई एकदिन पगाल्न सक्छु कि भन्ने झुटो आशा लिएर बांचेको रैछु।

सोचेको थिएं यो बच्चा नै रमेश र मेरो सम्बन्धको पुल बन्नेछ। हाम्रो नजोडिएको मनलाई जोड्नेछ तर म गलत साबित भएं । म त उनीहरुको खुसीको लागि उपयोग पो भएको रैछु। एउटा निर्जिव सामान जस्तै। उनीहरुको उद्देश्य पुरा भए पछि म मिल्काइनेछु कुनै गल्लीतिर। अनि मेरो बच्चालाई लानेछन् म बाट कहिं कतै टाढा।

रुंदा रुंदै कतिखेर कहां लडेछु । बिउंझदा हस्पिटलको बेडमा थिएं। त्यो पनि भर्खेरै जन्मिएका बच्चाहरुको भिडमा। कोही रोइरहेका, कोही आमाको दुध चुसिरहेका अनि कोही बाबाको काखमा निधाइरहेका । मैले पनि शल्यक्रियाबाट छोरो जन्माइछु तर उ मेरो साथमा थिएन । उ त केहि पर रमेशको काखमा लुट्पुटी रहेको थियो अनि रमेश संगै उभिएकी थिई त्यही फोटोको महिला, 
रमेशको जेठी पत्नी श्रृष्टि। त्यो पनि मैले जन्माएको छोराको लागि हातमा दुधको बोट्टल बोकेर ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक