ब्रेक्जिट प्रस्ताव तेस्रो पटक विफल भएपछि प्रक्रिया लम्बिने सम्भावना

लन्डन– बेलायती संसद हाउस अफ कमन्सले शुक्रबार अपराह्न भएको मतदानमा प्रधानमन्त्री टेरेजा मेको प्रस्तावलाई तेस्रो पटक अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले युरोपेली यूनियन (इयू) बाट बेलायत बिना कुनै सम्झौता बाहिरिने सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रधानमन्त्रीको उक्त प्रस्तावमा मतदान हुँदा बिना सम्झौता बाहिरिनु ठीक हो भन्ने प्रस्ताव ३४४ मतले पराजित भएको थियो । प्रधानमन्त्रीको पक्षमा २८६ मत मात्र प्राप्त भएको थियो ।

प्रधानमन्त्रीको प्रस्ताव विफल भएसँगै इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) मा थप ढिलाई हुने सम्भावना बढेको छ । सहमति बमोजिम इयूबाट बेलायत आगामी शुक्रबार अर्थात् मार्च २९ तारिखमा बाहिरिनुपर्ने थियो तर प्रधानमन्त्री मेले गत साता युरोपेली नेताहरु समक्ष केही समय दिन आग्रह गर्नुभएको थियो ।

बेलायती संसदको उक्त कदमलगत्तै युरोपेली यूनियनका परिषद अध्यक्ष डोनाल्ड टस्कले अप्रिल १० मा ब्रसेल्समा आपतकालीन बैठक डाक्नु भएको छ । इयूले बेलायतको निर्णयका लागि अप्रिल १२ को नयाँ मिति तोकेको छ । उक्त मितिमा दुई वटा विकल्प रहने छन्- बिना सम्झौता बेलायत इयूबाट बाहिरिने छ वा नयाँ विधिका साथ लामो समयावधि बेलायत समक्ष उपलब्ध हुनेछ ।

यसैबीच, युरोपेली संसदको निर्वाचन आगामी मे महिनामा हुँदैछ । प्रधानमन्त्री मेले उक्त चुनावमा बेलायती जनतालाई मतदान गराउने कुरा ‘अस्वीकार्य’ हुने स्पष्ट गर्नुभएको छ । ‘इयूबाट बाहिरिने विषयमा सन् २०१६ मा आयोजित जनमतसङ्ग्रहमा भाग लिइसकेका जनतालाई पुनः युरोपेली संसदको निर्वाचनमा सहभागी गराउनु ठीक होइन’- प्रधानमन्त्री मेले भन्नुभयो ।

बेलायती सांसदहरुले प्रधानमन्त्री मेले इयूसँग गरेको सम्झौता अस्वीकृत गरिसकेका छन् । फ्रान्स र जर्मनीले बेलायतले आफ्नो धारणा सुस्पष्ट रुपमा अगाडि ल्याउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री