आइतबार, मंसिर १ २०७६ | Sun, November 17, 2019
नेपालको समय: २१:१७ | UK Time: 15:32

नेपालको जलविद्युत् दक्षिण एशियाको विकासको आधार

रासस
२०७५ चैत १६ गते ११:२६

काठमाडौँ, १५ चैत – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्र नै मुलुकको आर्थिक रुपान्तरणको प्रमुख आधार भएकाले सरकारले यस क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ ।

यहाँ जारी लगानी सम्मेलनमा ‘आर्थिक समृद्धिका लागि ऊर्जा’ विषयको सत्रलाई सम्बोधन गर्दै उहाँले सरकारले आगामी दश वर्षमा १५ हजार मेगावट विद्युत् उत्पादन गर्ने र त्यसमा पाँच हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।

ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले नियमित रुपमा नीतिगत सुधार गरी लगानीमैत्री वातावरण बनाएको र ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो ।

नेपाली जनताको लगानीमा केही आयोजना निर्माण गर्ने लक्ष्यका साथ सरकारले जनताको जलविद्युत् कार्यक्रम शुरु गरिसकेको जानकारी दिँदै मन्त्री पुनले ठूला आयोजनामा विदेशी लगानी भित्र्याउन सरकार प्रयासरत रहेको बताउनुभयो । प्रशारण गुरुयोजना तथा ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइनजस्ता आयोजना अगाडि बढाइएको र क्षेत्रीय बजारसम्म पुग्नका लागि दिपक्षीय तथा बहुपक्षीय संयन्त्रमार्फत काम भइरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री पुनले नेपालको जलविद्युत् दक्षिण एशियाको विकासका लागि महत्वपूर्ण आधारस्तम्भ भएकाले यसमा वैदेशिक लगानीका लागि आग्रह गर्नुभयो । सरकारले एकीकृत जलस्रोत नीतिमार्फत जलस्रोतको बहुउपयोगमा जोड दिएको, सम्भाव्य परियोजनालाई सार्थक सहयोग उपलब्ध गराएको तथा नदी बेसिनको अध्ययनसमेत अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

राष्टिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न जलायशयुक्त जलविद्युत् आयोजना निर्माण जरुरी रहेकामा जोड दिनुभयो । बाढी नियन्त्रण, खानेपानीको उपलब्धता तथा सिँचाइ सुविधाका लागि समेत ठूला आयोजना जरुरी रहेको भन्दै उहाँले पछिल्ला दिनमा सरकारले त्यस्ता परियोजनालाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।

चीन, भारत र बङ्गलादेशसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न दिपक्षीय संयन्त्रसमेत खडा गरिएको स्पष्ट पार्दै उहाँले नेपालको जलविद्युत्लाई क्षेत्रीय बजारमा उपलब्ध गराउन लागिपरेको बताउनुभयो । ठूला आयोजनालाई तोकिएका समयमै सम्पन्न गर्न नीतिगत सुधार, अनुगमन संयन्त्र जरुरी रहेको भन्दै डा ओलीले पछिल्ला दिनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठोस कार्ययोजनासहित काम गरिरहेको जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आगामी तीन वर्षमा तीन हजार मोगावट, पाँच वर्षमा पाँच हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएकाले त्यसलाई व्यवस्थापन गर्न आफूहरू लागिपरेको बताउनुभयो ।

वित्तीय लगानीको जोखिम कम गर्न सरकारले ‘हेजिङ फण्ड’ सम्बन्धी व्यवस्था गरिसकेकाले वैदेशिक लगानीकर्तालाई समेत सहजरूपमा लगानी गर्ने वातावरण बनेको उहाँको भनाइ थियो । प्राधिकरणले नदी प्रवाहमा आधारित आयोजनाभन्दा जलाशययुक्त र अर्धजलायशयुक्त आयोजनालाई प्राथमिकतामा राखी विद्युत् खरीद सम्झौताको नयाँ मूल्यसूचीसमेत सार्वजनिक गरिसकेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

करीब १६ हजार मेगावट क्षमताका आयोजना विभिन्न चरणमा रहेको जानकारी दिँदै उहाँले करीब पाँच हजार मेगावट क्षमताका आयोजना निर्माणमा रहेको बताउनुभयो । बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका प्रमुख इञ्जिनीयर मोहबुबुर रहमानले आफ्नो देशको कूल मागमध्ये १५ प्रतिशत विद्युत् छिमेकी देशबाट आयात गरिरहेको जानकारी दिँदै नेपालसमेत आफूहरुका लागि उपयुक्त स्रोत भएको बताउनुभयो ।

नेपालमा जलविद्युत्को पर्याप्त सम्भावना रहेको औँल्याउँदै उहाँले जलविद्युत्को विकास लागि नेपालसँगै सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्य लिएको र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट तत्काल ५०० मेगावाट विद्युत् खरीद गर्न लागिरहेको जानकारी दिनुभयो ।

सम्मेलनमा पावर चाइनाका महाप्रबन्धक सङ दोङ सेङले एक क्षेत्र एक मार्ग अभियानअन्तर्गत नेपालमा थप लगानी गर्न चाहेको जानकारी दिनुभयो । उहाँले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेकोसमेत स्पष्ट पार्नुभयो ।

यसैगरी भारतको केन्द्रीय विद्युत् नियमन आयोगका सचिव सनोजकुमार झाले नेपाल, बङ्गलादेश र भुटानको विद्युत् विकासका लागि आफ्नो सरकारले प्रमुख प्राथमिकतामा राखी अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी गुरुयोजनासमेत तय गरेको बताउनुभयो