लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण – प्रधानमन्त्री

आइतवार काठमाडौंमा रिपोर्टर्स क्वब नेपालको २१ औं वार्षिकोत्सव कार्यक्रमको उदघाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर -प्रदीपराज वन्त, रासस

काठमाडौँ, १७ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहित नवनेपाल निर्माणमा सरकारले आफ्नो सबै ध्यान केन्द्रित गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उहाँले आर्थिक समृद्धिमार्फत गरीबी, र पछौटेपनको अन्त्य तथा पूर्वाधार विकासमा जोड दिइएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो “देशको पूर्वाधार विकास गर्न शनिवार सम्पन्न लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो । लगानी सम्मेलन उत्साहजनक ढगले सम्पन्न गरयौं, राष्ट्र एक ठाउँमा रह्यो । सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश दिएका छौं ।” समृद्ध नेपाल आफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरिएको प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो ।

कर्मचारी समायोजन सहज नभए पनि त्यससम्बन्धी काम सकिएको तथा कानून बनाइएको बताउँदै उहाँले संविधान कार्यान्वयन गर्ने कानून र संरचना निर्माणमा सफलता प्राप्त भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले आगामी दिनमा संविधानले सङ्घ, प्रदेश र स्थानीय तहलाई तोकेका क्षेत्र र अधिकारका बाँडफाट समन्वयात्मक रुपमा मिलेर अगाडि बढ्ने बताउनुभयो ।

प्रधानमन्त्रीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भए पनि त्यस्ता प्रयास असफल बनाइएको उल्लेख गर्दै भन्नुभयो, “हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने र अनेक नाममा लडाउन खोज्ने पृथकताका सोचहरुलाई अन्त्य गरेका छौं । ”

प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जसरी पनि विरोध र जसरी पनि समर्थन गर्नुपर्ने अवस्थामा नरहेको बताउँदै सबैलाई सकारात्मक सोच राख्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले हामी विकसित दुनियाँका सन्तानभन्दा पनि सभ्य र सुसंस्कृत समाजका हौं भन्ने भुल्नु हुँदैन । हामीले आफ्नो समाज, इतिहास र सभ्यता विकासको परम्परा र गौरवलाई भुल्नु हुँदैन ।”

सो अवसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि र विकासका लागि आगामी दिनमा थप सहमति, सहकार्य र एकताको खाँचो औँल्याउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो “ मलाई कुनै व्यक्तिगत लाभ र मोह छैन, अब मेरो चाहना देशको आर्थिक समृद्धि र विकास हो ।” उहाँल राष्ट्रिय एकता, स्थायित्व र विकासलाई कमजोर पार्ने र बदनाम गर्नेलाई बालीमा गोडमेल गरेझैँ गोडमेल नगर्न सञ्चार जगत्लाई आग्रह गर्नुभयो ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र स्थापना गर्न सञ्चार जगत्ले अहं भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आर्थिम समृद्धि भाषणले होइन, लगानीले आउने चर्चा गर्दै शनिवार लगानी सम्मेलनका समापनका अवसरमा हस्ताक्षर गरिएका योजना विगतमै आएको जिकिर गर्नुभयो । उहाँले विगतका राजनीतिक अप्ठ्यारो परिस्थितिमा पनि पूर्वाधार विकासका क्षेत्रमा नेपालले सफलता हासिल गरेको उल्लेख गर्दै पूर्वाधार विकासमा पक्ष विपक्षमा बाँडिनु हुँदैन भन्नुभयो ।

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारले लोकतान्त्रिक मूल्यमान्यतानुसार प्रेस क्षेत्रलाई निर्बाध चल्न दिनुपर्छ भन्नुभयो । गैरआवासीय नेपाली महासङ्घका पूर्वअध्यक्ष उपेन्द्र महतोले राजनीतिक स्थिरतापछि आर्थिक समृद्धिमा लाग्नुपर्छ भन्नुभयो । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले स्वतन्त्र प्रेसले प्रजातन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री