बारा र आसपास जिल्लामा हावाहुरीको वितण्डा, दर्जनौंको मृत्यु

काठमाडौँ- आइतबार साँझ अचानक आएको हावाहुरीसहितको असिनापानीका कारण बारा र आसपासका जिल्लामा हालसम्म ३१ को ज्यान गइसकेको छ भने करिव ६ सय घाइते भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली तीनवटै सुरक्षा निकायलाई उद्धार तथा राहत वितरणका लागि परिचालन गरिएको बताएका छन्। उनले मौसममा सुधार आउने बित्तिकै उद्धारमा खटिनका लागि ‘नाइट भिजन हेलिकप्टर’ तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्।

सामाजिक सञ्जालबाट प्राप्त सूचना अनुसार बारा र पर्साका अधिकांश अस्पतालहरु अहिले घाइतेहरुले भरिएका छन्। अस्पतालहरुमा रगतको अभाव भएसँगै रगतदान गर्नका लागि आह्वान समेत गरिएको छ।

इकान्तिपुरका अनुसार, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई उद्धार तथा घाइतेको उपचारका लागि खटिन आह्वान गरेका छन् ।रातको अवस्था भएको र बत्ति समेत नभएकोले उद्धारमा खटिन कठिन भइरहेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन्।

प्रदेश नं २ को सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाका अनुसार बाराका भलुही, भरवलिया र फेटा सबैभन्दा बढी प्रभावित भएका छन्। प्रभावित जिल्लाहरूमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित भएको बीबीसी संवाददाता माधुरी महतोले वीरगन्जबाट बताएकी छन्।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भने, “गम्भीर प्रकृतिका घाइतेको सङ्ख्या धेरै पाइएकाले क्षतिको विवरण बढ्न सक्ने देखिन्छ।”

दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले घाइतेहरूको निःशुल्क उपचार गर्न अस्पतालहरूलाई निर्देशन दिएका छन्।

हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधन पल्टाउनुका साथै माटोबाट बनेका घरहरूमा क्षति पुगेको बताइएको छ। बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको बताइएको छ।

वीरगन्जस्थित बीबीसी संवाददाता माधुरी महतो भन्छिन्, “झन्डै आधा घण्टा चलेको हुरीलगत्तै उद्धारका लागि थुप्रै दमकल र प्रहरीका गाडिको आवाज सुनिएको थियो। स्थानीय अस्पतालहरूले घाइतेको सङ्ख्या निकै बढेपछि भुइँमै राखेर उपचार गरिएको बताएका छन्।”

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार अस्पतालमा बढेको चापको कारण साँझदेखि नै रक्तदानको आह्वान गरिएको छ। समाचारहरूमा जनाइए अनुसार अस्पतालहरूमा सुरक्षाकर्मी एवं सर्वसाधारणहरूले आकस्मिक रक्तदान गरिरहेका छन् ।अस्पतालहरूको क्षमताभन्दा निकै धेरै घाइतेहरू भएकाले त्यसो गर्नुपरेको हो । सम्पूर्ण घाइतेको नि:शुल्क उपचारको व्यवस्था गरिएको छ ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार नेपाली सेना पनि उद्धारका लागि परिचालित भएको छ। सुरक्षाकर्मीहरू अनुकूल मौसमको पर्खाइमा रहेका रिजालले जनाएका छन् ।

आइतवार बिहान मौसम पूर्वानुमान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्वतिर सरिरहेको जनाएको थियो । राति पनि महाशाखाले त्यस्तै पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री