प्रधानमन्त्री हुरीबतास प्रभावित क्षेत्रमा, राहत तथा उद्धारमा समस्या हुन नदिन निर्देशन

आइतबार सांझ आएको हुरीमा परी वीरगन्जको नारायणी अस्पतालमा भर्ना भएका घाइतेको अबस्थाको बारेमा जानकारी लिदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर – बिजय कुमार महतो रासस

काठमाडौँ, १८ चैत – प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो ।

निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिनुभएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे पनि जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाका बारेमा जानकारी दिनुभएको थियो ।

गए राति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीसम्बद्ध सांसदको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेतासमेत रहनुभएका ओलीले राहत र उद्धारमा खटिन पार्टीका नेता कार्यकर्तासँगसमेत आग्रह गर्नुभएको छ ।

कलैया अस्पताल पनि पुगे ओली

प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट घाइते भई कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गर्नुभएको छ । उहाँसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि हुनुहुन्थ्यो । अस्पातालमा उपचार गराइरहेका ४९ जनाको घाइते अवस्था बुझी प्रधानमन्त्री ओलीले घाइतेको यथाशीघ्र भरपर्दो उपचार व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई अस्पतालका डा सचेन्द्रकुमार यादवले उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी गराउनुभएको थियो । आइतबार साँझ ७.३० बजेतिर आएको हुरीबतासबाट सबभन्दा बढी बारा जिल्लामा धनजनको क्षति भएको छ । बारामा मृतकको सङ्ख्या २८ पुगेको तथा पर्सामा एक जनाको मृत्यु भएको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । अहिलेसम्म क्षतिको पूर्ण विवरण आउन नसके पनि घाइतेको सङ्ख्या बढ्न सक्ने सुरक्षा निकायले अनुमान गरेको छ ।

प्रधानमन्त्रीको उक्त टोली पर्साको वीरगञ्जस्थित नारायणी उपक्षत्रीय अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था बुझ्न त्यसतर्फ प्रस्थान गरेको छ । यसअघि गृह सचिव प्रेमकुृमार राईले हावाहुरीबाट व्यापक जनधनको क्षति भएको बारा जिल्लाको फेटा गाउँपालिका–७ पुरैनिया गाउँको स्थलगत निरीक्षण गर्नुभएको थियो । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेशका मन्त्रीले पनि सो ठाउँको निरीक्षण गर्नुभएको थियो । कलैया अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिसमेतले बुझी घाइतेको उपचारमा राज्यले कुनै कसर बाँकी राख्न हुँदैन भन्नुभयो ।

घाइतेको उपचार प्रबन्ध गर्न राष्ट्रपतिद्वारा ध्यानाकर्षण

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बारा र पर्सालगायत जिल्लामा भीषण हावाहुरीका कारण ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज वक्तव्यमार्फत सो प्राकृतिक विपत्तिमा परी ठूलो सङ्ख्यामा जनसमुदाय घाइते भएकामा सहानुभूति प्रकट गर्दै घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

हावाहुरी, बाढीपहिरो, डढेलो, आगलागीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षलाई समयमा नै पूर्वसावधानी अपनाउनसमेत राष्ट्रपतिले ध्यानाकर्षण गराउनुभएको छ । उहाँले भौतिक पूर्वाधार विकास गर्दा जोखिम न्यूनीकरणका सबल उपाय अवलम्बन गर्न सरोकार भएका सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपतिले मुलुकका विभिन्न भागमा भएका सडक दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति पनि समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

एकार्कालाई सहयोग गर्न उपराष्ट्रपतिबाट आग्रह 

उपराष्ट्रपति नन्दबहादुर पुनले हावाहुरी र असिनापानीले राष्ट्रलाई नै शोकमा पार्ने गरी मध्य तराईका बारा, पर्सा लगायत जिल्लामा भएको ठूलो मानवीय र भौतिक क्षतिले मर्माहत र दुःखित बनाएको बताउनुभएको छ ।

उहाँले अकल्पनीय प्रकारको प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनुभएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपतिले प्राकृतिक प्रकोपमा परी घाइते हुनुभएकाको शीघ्र पूर्ण स्वाथ्यलाभको कामना गर्दै प्रभावकारी उपचारका लागि सरकार र सबै पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

घाइतेको उद्धार र उपचार तथा पीडितका लागि राहत, पुनस्र्थापना र घर पुनःनिर्माणमा सरकारले विशेष ध्यान दिनेमा विश्वस्त रहेको बताउँदै उपराष्ट्रपतिले सुरक्षित आवास र भौतिक पूर्वाधार नहुँदा धेरै जनधनको क्षति भएको देखिएकाले त्यसलाई विशेष ध्यानमा राख्न सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई अनुरोधसमेत गर्नुभएको छ ।

एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्ने हामी नेपालीको संस्कार भएको स्पष्ट पार्दै उहाँले हावाहुरीबाट पीडितलाई स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइले सकेको सहयोग गर्ने अपेक्षा गर्नुभएको छ । अकल्पनीय प्राकृतिक प्रकोप पीडितको पीडामा आफू सधैँ साथमा नै रहेको बताउँदै उहाँले विपद्का समयमा खुला हृदयका साथ सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ ।

काङ्ग्रेसद्वारा दुःख व्यक्त

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा आइतबार भएको जीप दुर्घटनामा परी छ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज विज्ञप्तिमार्फत सो घटनाका मृतकप्रति श्रद्धाञ्जलि अर्पण र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । साथै उहाँले घाइतेहको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री