हावाहुरीबाट २९ जनाको मृत्यु, सुरक्षाकर्मी उद्धार र उपचारमा सक्रिय 

बाराको फेटा गाउपालिका स्थित आइतबार सांझ आएको हुरीमा परी २७ जनाको मृत्यु र सयौँ घाइते भएका छन । तस्वीर – बिजय कुमार महतो पर्सा/रासस

वीरगञ्ज, १८ चैत – असिनापानीसँगै आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको सङ्ख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् ।

बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भलुहीमा रामसुरत दासकी पत्नी माहेश्वरीको मृत्यु भएको छ । सो ठाउँमा हावाहुरीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको छ । मृत्यु हुनेमा फेटा गाउँपालिका–७ पुरैनियाँका दुई वर्षीया अलिशा खातुन, १८ वर्षीया शवनम खातुन, २९ वर्षीया सकिया खातुन, ९ वर्षीया रुकसार खातुन, ११ वर्षीया समसिदा खातुन, ५५ वर्षीया मीना खातुन, २५ वर्षीया विशिया खातुन र ५० वर्षीय तैयर खातुन छन् । अन्यको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

यसैगरी कलैया–१२ धर्मनगरस्थित काजल इँट्टाभट्टामा कार्यरत चार भारतीय मजदूरको मृत्यु भएको छ । हावाहुरीले फेटा गाउँपालिकाको भरवलिया टोलमा विद्युत्को खम्बा ढलेर चार जनाको मृत्यु भएको छ । जिल्लाको तेलकुवा, सुवर्णपुर, प्रसौनी, भलुही, पशुरामपुर, हर्दिया लगायतका ठाउँमा समेत मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनुभयो । घाइतेको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरी कलैया, वीरगञ्जलगायत अस्पताल भर्ना गरेका थिए । कलैया अस्पतालमा उपचार गराइरहेका ४० घाइतेको प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापालगायतले स्थलगत निरीक्षण गरी घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो । साथै उहाँहरुले नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

यसैगरी नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले कलैया अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

हावाहुरीबाट पर्साको हरवलियामा वहिदा देवीको मृत्यु भएको छ भने हेटौँडाबाट वीरगञ्जतर्फ आइरहेको ना६ख ९३६० नंको बसमा बिजुलीको खम्बा खस्दा वीरगञ्ज महानगरपालिका–१२ का १८ वर्षीय सरोज रामको मृत्यु भएको थियो । हावाहुरीबाट ग्रामीण क्षेत्रमा अत्यधिक क्षति भएको छ । क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी छ ।

बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा भएको धनजनको क्षतिबारे जानकारी लिन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत लगायतका मन्त्रीले सो ठाउँको स्थलगत निरीक्षण गर्नुभएको थियो । असिनाले बालीनालीमा क्षति पुगेको छ । टेलिफोन लाइन र विजुलीका खम्बा ढलेका छन् । हावाहुरीले घरको छाना उडाएपछि पीडित रूखमुनि पाल टाँगेर बसेका छन् ।

प्रहरीको चिकित्सक टोली बारा पर्सामा

बारामा आएको हावाहुरीका कारण गम्भीर घाइते भएका थप दुई जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । अहिलेसम्म शिक्षण अस्पतालमा नौ जना घाइतेको उपचार भइरहेको छ ।

बारा परवानीपुर गाउँपालिका–८ का १० वर्षीय नुरमोहम्मद अन्सारी र बारा कलैयाका सुनितादेवी ठाकुरलाई थप उपचारका लागि आजै शिक्षण अस्पताल ल्याइएको प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुसहित नौ जनाको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यसअघि सेनाको हेलिकप्टरबाट सात जना घाइतेलाई ल्याइएको थियो ।

यसअघि ल्याइएकामा बारा फेटा गाउँपालिकाका ३६ वर्षीय त्रिचन पटेल, ५९ वर्षीय मोबारक महमद मियाँ, ५० वर्षीय सुरेश पटेल, तीन वर्षीय अमन पटेल, ३५ वर्षीया गीतादेवी पटेल, ३३ वर्षीय मुना अन्सारी र नौ वर्षीय सलिना खातुन थिए । प्रहरीका अनुसार सो घटनामा अहिलेसम्म २७ जनाले ज्यान गुमाएका छन् भने ६०० भन्दा बढी घाइते छन् । धेरै घाइते उपचारपछि घर फर्किसकेका छन् ।

सुरक्षाकर्मी उद्धार र उपचारमा सक्रिय 

बारा र पर्सामा आइतबार साँझ आएको असिनापानीसहितको हावाहुरीबाट निम्तिएको विपत्तिमा सबै सुरक्षा निकाय उद्धारमा सक्रिय रहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले उद्धार कार्य तीव्र पारेको गृह मन्त्रालयले जनाएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट विशेषज्ञ चिकित्सकसहित १९ जना स्वास्थ्यकर्मीको दुई टोली उपचारमा सक्रिय रहेको छ । प्रहरी वरिष्ठ उपरीक्षक जोशीका अनुसार नेपाल प्रहरी श्रीमती सङ्घले पाँच हजार थान त्रिपाल, ड्राइफुड समेतका खाद्यान्न, सरसफाइलगायत अन्य राहत सामग्री प्रभावित क्षेत्रमा तत्काल पठाएको प्रहरीले जनाएको छ । प्रभावित स्थानमा खोज, उद्धार तथा राहतलाई तीव्रता दिन आइतबार रातिदेखि नै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पाल समेतको टोली परिचालित रहेको थियो ।

साथै जिल्ला प्रहरी कार्यालय बारा तथा पर्सा, दङ्गा नियन्त्रण प्रहरी गण हेटौँडा, सशस्त्र प्रहरी गण जनकपुर, मध्य क्षेत्र सशस्त्र प्रहरी गण रातोमाटे, विपद् व्यवस्थापन गुल्म वीरगञ्ज लगायतका प्रहरी युनिटबाट समेत तत्काल प्रहरी टोलीलाई उद्धारमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रदेशसभाद्वारा दुःख व्यक्त

हेटौँडा, १८ चैत – प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेश नं २ का बारा र पर्साको विभिन्न ठाउँमा आइतबार राति आएको हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकामा दुःख प्रकट गर्दै उक्त घटनामा मृत्यु भएकाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । बैठकले मृतात्माको चिरशान्तिको कामना गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।

सोही बैठकमा विशेष समयमा बोल्नुहुने प्रदेशसभाका सदस्यहरुले नागढुङ्गा काठमाडौँको यातायात सेवा बढी चापका कारण अस्तव्यस्त भई सर्वसाधारणले निकै दुःख भोग्नु परेको स्मरण गर्दै प्रदेश सरकारले तत्कालै सो सडकको निर्माण कार्य पूरा गरी धुलो नियन्त्रण गर्नेतर्फ प्रयास गर्नुपर्ने सुझाव दिनुभयो । उहाँहरुले हेटौँडा कुलेखानी सडकअन्तर्गत पर्ने सिस्नेरी र फाकेल सडक निर्माणलाई अग्रता दिन प्रदेश सरकारले छुट्टै कार्यदल बनाई उक्त सडकलाई फराकिलो पार्ने र ढल निकासको व्यवस्था गरी सवारी दुर्घटनालाई नियन्त्रण गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयले विशेष पहल गर्नुपर्ने आग्रह गर्नुभयो ।

प्रदेशसभा सदस्यहरुले प्रदेशअन्तर्गत रहेका ऐतिहासिक धरोहर र सम्पदालाई स्थानीय एवं सरकारी पक्षबाट मर्मतसम्भार र रेखदेख गर्न स्थानीय निकायलाई अधिकार प्रत्यायोजित गर्न प्रदेश सरकारले तत्काल गृहकार्य गरेर कार्यान्वयन गर्न सुझाव दिनुभयो । उहाँहरुले दुर्गम भेगका जनतालाई खानेपानी, सडक निर्माण, ग्रामीण विद्युतीकरण तथा आयआर्जन गर्न फलफूल एवं तरकारी खेतीलाई पकेट क्षेत्रका रुपमा सञ्चालनमा ल्याउन पनि सरकारले छुट्टै कार्यक्रम ल्याउनुपर्ने माग गर्नुभयो ।

विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यमा यज्ञराज सङ्ग्रौला, गणेशप्रसाद दुलाल, भीमसेन खत्री, केशवराज पाण्डे, सुरेन्द्रराज गोरसाई, जीवन खनाल, राजेशकाजी महर्जन, केशवप्रसाद पोखरेल, शोभा शाक्य, रमा आलेमगर, रीना गुरुङ, सृजना सैँजु, जीवन डङ्गोल, प्रेमबहादुर पुलामी, रीता माझी र डा राजाराम कार्की हुनुहुन्थ्यो । उक्त बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल तथा सामाजिक विकासमन्त्री युवराज दुलालका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशभित्र सार्वजनिक लिखत प्रमाणीकरण गर्न बनेको विधेयक २०७५, सूचना हकको व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशभित्र बालबालिकाको अधिकारको संरक्षण गर्न बनेको विधेयक २०७५, प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक २०७५ सैद्धान्तिक छलफलका लागि प्रस्ताव टेबुल गर्नुभएको थियो ।

यसैगरी उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले प्रदेशमा कर तथा गैरकर सङ्कलनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ को पनि छलफलका लागि प्रस्ताव टेबुल गर्नुभएको थियो । ती विधेयकको प्रस्तावमा प्रदेशसभाका केही सदस्यले सैद्धान्तिक पक्षमा आ–आफ्नो धारणा व्यक्त गर्दै ती सुझावलाई चालू आवमा कार्यान्वयन गर्नेतर्फ प्रदेश सरकारको प्रतिबद्धता आउनुपर्दछ भन्नुभयो । सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले सदस्यहरुले उठाउनु भएको सुझावलाई आफूले मार्गदर्शनका रुपमा लिएको छु भन्नुभयो । प्रदेशभित्र स्थापना गरिएका विभिन्न सिमेन्ट उद्योगबाट लिइने करमध्ये ६० प्रतिशत प्रदेश सरकारलाई र ४० प्रतिशत स्थानीय निकायलाई बाँडफाँडको विधेयकमा प्रस्तावना गरिएको बताउनुभयो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

प्रतिमृतक परिवारलाई रु लाख राहत

पर्सा, १८ चैत – प्रदेश नं २ सरकारले हावाहुरीबाट मृत्यु भएका परिवारलाई रु तीन लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका घाइतेलाई हेर्न पुग्नुभएका मुख्यमन्त्री लालबाबु राउतले सो जानकारी दिँदै हावाहुरीमा परी घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले नै व्यहोर्ने बताउनुभयो ।

प्रदेश नं २ सरकारको आज बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत रकम र उपचार खर्च व्यहोर्ने निर्णय गरेको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो । उहाँले हुरीमा परी क्षति भएका घरलाई पुनःनिर्माण गर्न प्रदेश सरकारले आर्थिक सहयोग दिनेसमेत निर्णय गरेको बताउनुभयो ।

हावाहुरी पीडितलाई प्रदेश को सहयोग

हेटौँडा ,१८ चैत- प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हावाहुरीबाट पीडित भएका बारा र पर्साका जनतालाई प्रदेश ३ सरकारले पनि सहयोग गर्ने बताउनुभएको छ ।

आँधीग्रस्त क्षेत्रको प्रत्यक्ष्य अवलोकनपछि रासससँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले विपद्को यो घडीमा यो वा त्यो प्रदेश नभनी सहयोग गरिने बताउनुभयो । पौडेलले प्रदेश ३ ले तत्काल राहत तथा पीडित जनताको पुनस्र्थापनाका लागि दीर्घकालीन व्यवस्थापनमा पनि सहयोग गर्ने उल्लेख गर्नुभयो ।

यसअघि बिहान सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्नुभएका मुख्यमन्त्रीले आज बाराको फेटा तथा कलैयाका पीडितलाई भेटेर सान्त्वना एवं समवेदना व्यक्त गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । मुख्यमन्त्रीसँग प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रधानमन्त्रीका सल्लाहकार अच्युत मैनाली, प्रदेशसभा सदस्य दीपक निरौला लगायतले घटनास्थलको अवलोकन तथा बारा र पर्साका विभिन्न अस्पतालमा पुगी बिरामीको स्वास्थ्य अवस्था बुझ्नुभएको संयोजक दाहालले बताउनुभयो ।

अवलोकन गरी फर्कनुभएका मुख्यमन्त्रीले घटनालाई दर्दनाक र त्रासदीपूर्ण प्राकृतिक विपत् भएको बताउँदै पीडितको व्यवस्थापनमा प्रदेशले के गर्न सक्छ छलफलपछि बताउने उल्लेख गर्नुभयो । सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश ३ सरकारले आवश्यक औषधि उपचारसहित चिकित्सक तथा स्वस्थ्यकर्मीको टोली पठाएको र उनीहरुले बाराको अस्पतालबाट घाइते तथा बिरामीको उपचार गरिरहेको बताउनुभयो ।

काङ्ग्रेस सांसदले दुई दिनको पारिश्रमिक दिने

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सङ्घीय सांसदहरुले हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप दुई दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

आइतबार राति बारा, पर्सालगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप उक्त सहयोग गर्ने निर्णय गरिएको काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो । सो विपद्मा २९ जनाभन्दा बढीको ज्यान गएको थियो भने सयौँ घाइते भएका छन् ।

नेकपाका सांसदले एक दिनको पारिश्रमिक दिने

बारा र पर्साका हावाहुरी पीडितलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ आज एक विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइते भएका सर्वसाधारणप्रति सहानुभूति प्रकट गर्दै यथाशीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उपनेता नेम्वाङले पीडितलाई राहत, क्षतिपूर्तिका साथै घाइतेको उपचारका लागि यथाशीघ्र उचित प्रबन्ध गर्न सरकारको ध्यानकर्षणसमेत गराउनुभएको छ ।

राजपाले पाँच लाख सहयोग गर्ने

राष्टिय जनता पार्टी नेपाल (राजपा) ले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरी प्रभावितलाई रु पाँच लाख सहयोग गर्ने भएको छ ।

राजपाका अध्यक्ष मण्डलका अध्यक्ष शरदसिंह भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै पीडितका लागि पार्टीले राहतस्वरुप रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।

घटनाप्रति दुःख व्यक्त गर्दै राजपाले पूरै पार्टी पङ्क्तिलाई उद्धार कार्यमा यथाशीघ्र लाग्न आग्रह गरेको छ । साथै राहत सहयोग सङ्कलन गर्न तथा पीडित परिवारलाई सहयोग गर्न आम नागरिक, व्यवसायी तथा देश–विदेशमा रहेका सबैलाई अपिल गरेको छ । राजपाले प्राकृतिक विपत्को अवस्थामा प्रदेश दुई सरकारले देखाएको तत्परतको प्रशंसा गर्दै सङ्घीय सरकारलाई सहयोग गर्न आग्रह गरेको छ । बारा र पर्सामा आइतबार साँझ आएको आँधी, हावाहुरी र असिना पानीले हालसम्म २७ जनाको मृत्यु भएको छ ।

प्राधिकरणको रु १५ करोड क्षति, मङ्गलबारसम्म विद्युत् सञ्चालन गरिने

आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको रु १५ करोड बराबरको क्षति भएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको छ । वीरगञ्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने बाराको सदरमुकाम कलैयामा विद्युत् आपूर्ति नियमित रहेको छ ।

हुरीबतासका कारण परवानीपुर–वीरगञ्ज ६६ केभी डबल सर्किट प्रसारण लाइनमा क्षति पुगी विद्युत् आपूर्तिमा समस्या आएको छ । यस्तै वीरगञ्ज–कलैया ३३ केभी प्रसारण लाइनमा समेत क्षति पुगेका कारण विद्युत् आपूर्तिमा समस्या आएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।

भारतबाट विद्युत् आयात हुने १३२ केभी रक्सौल–परवानीपुर प्रसारण लाइनको ठूलो टावरमा समेत क्षतिग्रस्त भएको छ । सोही कारण विद्युत् आपूर्तिमा समस्या आएको छ । कलैया वितरण केन्द्रअन्तर्गतको विद्युत् प्रणालीमा मात्र एक हजार ५०० खम्बा ढलेका छन् ।

क्षतिग्रस्त भएका प्राधिकरणको संरचना तत्काल मर्मत गरी विद्युत् आपूर्ति नियमित गराउनका लागि प्राधिकरणको हेटौंडास्थित क्षेत्रीय कार्यालयको टोली तथा बारा र पर्साको टोली आँधी हुरी प्रभावित क्षेत्रमा पुगेका छन् ।

हेटौंडा क्षेत्रीय कार्यालयका प्रमुख नवराज सुवेदीका अनुसार आज साँझसम्म केही स्थानमा र मङ्गलबार अबेरसम्म सकेसम्म सबै स्थानमा विद्युत् आपूर्ति गर्ने तयारीमा प्राधिकरण जुटेको सुवेदीले जानकारी दिनुभयो । हावाहुरीले प्राधिकरणका तार चुन्डेका छन् भने ट्रान्सफर्मरसमेत लडेर क्षति पुगेको प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयले जनाएको छ ।

प्राधिकरणले कलैयास्थित सबस्टेशन आइतबार नै चन्द्रनिगाहपुर सवस्टेशनबाट चार्ज गरी बजार क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था मिलाएको छ । दुवै जिल्लामा गरी दुई हजार बढी खम्बा लडेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

विद्युत् प्रणालीमा क्षति पुगे पनि विद्युतीय दुर्घटना हुन नदिन प्राधिकरणले सजगता अपनाएको जानकारी दिँदै प्राधिकरणका प्रवक्ता अधिकारीले दैवीप्रकोपबाट हुन पुगेको प्रणाली सुधार गर्न सबै प्रकारको साधन र स्रोत परिचालन गरिएको बताउनुभयो । बारा र पर्साका क्षेत्रका बाहेक देशभर विद्युत् प्रणालीमा कुनै पनि समस्या नरहेको प्राधिकरणले स्पष्ट पारेको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री