मंगलबार, मंसिर २४ २०७६ | Tue, December 10, 2019
नेपालको समय: २२:१२ | UK Time: 16:27

देखासिकीले हिंडाएको गलत बाटो

-डा बच्चुकैलाश कैनी
२०७५ चैत ३० गते १०:५४

डा बच्चुकैलाश कैनी

आजको जमाना प्रतिस्पर्धाको जमाना हो । समाज, व्यक्ति वा संस्थाको प्रगतिको लागि प्रतिस्पर्धा लाभदायक पनि हुन्छ । काम, पढाई, ब्यापार, ब्यबसाय जस्ता रचनात्मक र प्रत्यूत्पादक कुरामा हुने प्रतिस्पर्धाले समाज, संस्था र मानिसलाई मजबुत बनाउँछ । प्रतिस्पर्धासंग कोही डराउनु पर्ने कुनै कारण नै छैन् । प्रतिस्पर्धा र देखासिकी फरक फरक कुरा हुन् ।

अहिलेको आधुनिक युगको विडम्वना के छ भने हामी प्रतिस्पर्धाको नाममा अस्वस्थ्य प्रतिस्पर्धा गर्न सिक्दैछौँ । अर्थात, अहिले देखासिखीको होडबाजीको समय चलेको छ । त्यो पनि आफू माथि पर्ने होडबाजी वा अर्कोको देखासिकी गरेर समाजमा देखाउने होडबाजी ।

देखासिकी गरेर राम्रो काम गर्नु प्रसंशनीय हो । अरुले हिँडेको राम्रो बाटोमा हिंड्नु र अरुको सिकेर आफूले पनि प्रगति गर्नु राम्रो हो । सबैमा हरेक पटक हरेक क्षेत्रमा रचनात्मक काम गर्ने शैली, ज्ञान र सीप नहुन पनि सक्छ । तसर्थ, राम्रो काम अरुबाट सिक्ने र आफ्नो ब्यबहारमा लागु गर्ने कुरा सकारात्मक हो । मेरो यो लेख राम्रो कामको देखासिकी गरेर सही बाटोमा हिँड्नेलाई सलाम गर्दै नराम्रो कामको देखासिकी गरेर समाज बिगार्नेहरु पनि सप्रन सकुन् भनेर प्रेरणा दिन लक्षित छ ।

अधिकांश मानिस हरेक कुरामा आफूलाई अरुसंग तुलना गर्छन् । तुलना मात्रै हैन अरुले प्राप्त गरेको धन, पद, मानसम्मान प्राप्तिको इर्श्या गर्छन् र त्यस्तै हुने लोभलालच राख्छन् । अनि अरु जस्तै हुनको लागि जे जस्तो बाटो पनि हिंड्न तयार हुन्छन् । अर्कोलाई होचो देखाएर आफू अग्लो हुने प्रयास गर्छन् । यो प्रवृति  गलत हो ।

आफ्ना छोराछोरीलाई प्रतिस्पर्धी बनाउने होडबाजीमा महँगो स्कुल पढाउने चलन चलेको छ । अनि महँगो स्कुल पढाउनको लागि जे जसरी भए पनि धन कमाउने होडबाजी चलेको छ । समाजमा धन कमाउनेलाई मात्र प्राप्त हुने मान सम्मानले जसरी पनि धन कमाउने र ‘ठूलो मान्छे’ हुने होडबाजी चलेको छ । नाम र दाम एक अर्काको पर्यायवाची बनेको छ । दाम खर्च गरेर नाम कमाउनेहरु पनि नाक फुलाएर हिँड्ने गरेका छन् ।

एउटाले साइकल किने अर्कोले मोटरसाइकल किन्ने, अर्कोले मोटरसाइकल किने झन् अर्कोले कार किन्ने होडबाजी छ । आवश्यकता र हैसियत भन्दा देखासिखी गरेर भौतिक सुख सुविधाको पछि लाग्ने र आफू माथि पर्ने होडबाजी छ । चाडपर्वको नाममा गरगहना देखाउने होडबाजी छ । बिहे, पूजापाठ वा अन्य कुनै भोजको नाममा आफ्नो चरित्र नाङ्गो हुने गरी दिवा वा रात्री भोज गर्नेहरुको अगाडि समाज नतमस्तक हुन्छ र भोजमा सरिक हुँदै उसैको प्रसंशा गर्छ ।

देखासिखी गरेर धन कमाउने होडबाजीमा भ्रष्टाचार, कालो ब्यापार, दलाली, कमिसनतन्त्र आदि मौलाएको छ । देश बनाउने जिम्मा पाएका शीर्ष राजनीतिज्ञ, उच्चपदस्थ कर्माचारीदेखि अधिकांश व्यक्ति, निकाय  र संघ-संस्था पनि बिकृतिको जालोमा फसेका छन् । यो प्रवृति मौलाउनुमा समाजमा हरेक व्यक्ति र निकाय पनि उत्तिकै जिम्मेवार छन् । जसरी जे गरेर पनि ठूलो हुने यो होडबाजीमा को असल र को गलत छुट्टाउने र त्यही अनुसार ब्यबहार गर्ने हो भने समाज सुधार हुन बेर लाग्दैन ।

आजको खुला अर्थतन्त्र, भौतिक विकास, प्रतिस्पर्धी समाज र पुँजीवादको बोलवाला भएको समाजमा प्रतिस्पर्धा गर्नु, कसैले प्रगति गर्नु र भौतिक धन सम्पति आर्जन गरेर सुख सयल गर्नु गलत र अन्यथा हुँदैन । तर, प्रतिस्पर्धाको नाममा आफ्नो हैसियत बिर्सनु, अरुको देखासिकी गरेर गलत तरिकाले नाम वा दाम कमाउने र समाजमा आफूलाई माथि देखाउने प्रवृति भने गलत हो ।

हरेक व्यक्तिको जीवनमा प्रतिस्पर्धी अरु कोही हुनै सक्दैन । हरेक व्यक्तिले आफ्नो जीवनमा आफैंसंग प्रतिस्पर्धा गर्ने हो । आफ्नो प्रस्थान बिन्दु र गन्तब्य आफैले तोक्ने हो । त्यसको लागि मेहेनत पनि आफैँले गर्ने हो । तर, बाहिरी संसारमा भने भईरहेको प्रगति भन्दा थप प्रगति र उन्नति गर्न प्रतिस्पर्धा गर्नु अनिवार्य जस्तै हो । एउटा धावकले ‘ट्रयाक’ मा उभिई सकेपछि मेहेनत गरेर आफ्नै भरमा अरुसंग प्रतिस्पर्धा गरेर जित्ने सपना देख्नु स्वाभाविक हो ।

हरेक व्यक्ति आफैंमा प्रतिभाशाली हुन्छ । कोही सानो वा ठूलो नै छैन यो संसारमा । हरेकको अस्तित्व बराबर छ । केवल मानिसले गर्ने काम वा भूमिका फरक हो । मानिसको काम वा भूमिकाको आधारमा फरक ब्यबहार गर्नु भनेको अर्कोको भूमिका स्वीकार नगर्नु हो । त्यो आफैँमा गलत प्रवृति हो ।

प्रतिस्पर्धा आफैँमा नराम्रो हैन । प्रतिस्पर्धालाई सहकार्यमा पनि बदल्न सकिन्छ । राम्रो काममा हुने होडबाजीलाई पनि सहकार्यमा बदल्न सकिन्छ । त्यस्तै राम्रो कामको देखासिखीलाई पनि राम्रो मान्न सकिन्छ । तर, नराम्रो काम जसले जे जसरी गरे पनि नराम्रो नै हुन्छ ।

अधिकांशका लागि आजकलको होडबाजी  पद, मानसम्मान र भौतिक सुविधा प्राप्तिको लागि हुने गरेको छ । हरेक मानिसको एक महत्वपूर्ण लक्ष्य खुसी रहनु हो । खुसी  रहनुमा जति आत्मासन्तुष्टी र आत्मासम्मान प्राप्त हुन्छ त्यो अरु कुनै कुरामा प्राप्त हुँदैन । भौतिक वस्तु, मानसम्मान र पदबाट प्राप्त हुने  खुसी क्षणिक हो । सच्चा खुसी आत्मासन्तुष्टी र आत्मासम्मानबाट प्राप्त हुन्छ, जुन देखासिकी गरेर भौतिक वस्तुको पछि लागेर प्राप्त हुँदैन  । अनि खुसी हरेक व्यक्तिले आफ्नो मनलाई काबुमा राखेर आफूले अनुभव गर्ने कुरा हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक