श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा मारिनेको संख्या कम्तीमा २९० (अपडेट)

कोलोम्बो । श्रीलङ्काका गिर्जाघर र होटलहरूमा आइतवार शृङ्खलाबद्ध विस्फोटन हुँदा मारिनेको संख्या कम्तीमा २९० पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । करिब ५०० जना घाइते भएका छन् ।

प्रहरीले अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको जनाएको छ तर ति घट्नामा संलग्न थिए वा थिएनन् थाहा भएको छैन् । श्रीलंकाको विदेश मन्त्रालयले मारिनेमा कम्तीमा ३६ जना विदेशी नागरिक रहेको जनाएको छ ।

बीबीसीका अनुसार आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएका थिए । त्यसपछि पनि थप दुईवटा विस्फोटन भए ।

घटनापछि श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका छन् । उनले फेरि आक्रमण हुन नदिन र विस्फोटन कसले गराएको हो त्यो पत्ता लगाउन सुरक्षाकर्मीहरूलाई परिचालित गरिएको बताएका छन् ।

श्रीलङ्कामा देशभरि नै लागु हुनेगरी आइतवार साँझ छ बजेदेखि मंगलबार बिहान छ बजेसम्म कर्फ्यू लगाइएको छ । सामाजिक सञ्जाल चलाउन पनि प्रतिवन्ध लगाइएको छ ।

विस्फोटन हुँदा इसाई धर्मावलम्बीहरू कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लामा रहेका गिर्जाघरमा इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदै थिए ।

मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनामन ग्रान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएका थिए । पछि देहिवाडाको एउटा सानो होटलमा पनि विस्फोटन भएको बताइएको छ । आठौँ विस्फोटन भने डेमाटागोडामा भएको थियो ।

विश्वभरिबाट निन्दा

शृङ्खलाबद्ध आक्रमणको विश्वभरिबाट निन्दा भएको छ । उक्त घटनाप्रति नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्री तथा अन्य दक्षिण एशियाली देशका नेताहरूले गहिरो दु:ख प्रकट गरेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ती विस्फोटनमा निर्दोष मानिसहरू मारिएको भन्दै दु:ख व्यक्त गरेका छन् । उनले घटनालाई ‘मानवताविरोधी काम’ भनेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घटनाको निन्दा व्यक्त गर्दै सहयोगका लागि आफू तयार रहेको बताएका छन् । इसाई धर्मगुरु पोप फ्रान्सिसले सो घटनालाई ‘क्रूर हिंसा’ भनेका छन् ।

ब्रिटिश प्रधानमन्त्री टेरेजा मेले उक्त घटनालाई ‘डरलाग्दो’ भनेकी छिन् । ट्विटरमार्फत् उक्त घटनाप्रति दु:ख र समवेदना प्रकट गर्दै उनले भनेकी छिन्, ‘कसैलाई पनि भयका साथ आफ्नो धार्मिक अस्था अभ्यास गर्नुपर्ने अवस्था आउन नदिने कुरा सुनिश्चित गर्नका लागि हामी सबै एकै ठाउँमा उभिनु पर्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री