सोमबार, जेठ १३ २०७६ | Mon, May 27, 2019
नेपालको समय: १३:१० | UK Time: 08:25

यसपालीको पलेंटीमा छन्द कविता

विनेपाली
२०७६ वैशाख ९ गते १०:१२


काठमाण्डौ । सांगीतिक पलेँटीसँग परिचित श्रोताहरूले यसपाली फरक स्वादको कार्यक्रम हेर्न पाउने भएका छन् । नेपाली छन्द कविता लयात्मक माधुर्य र लालित्य बोकेको विशेष शैलीको साहित्यिक विधा हो । कुनै बखत छन्द विधा नेपाली साहित्यको मेरुदण्ड नै मानिन्थ्यो तर अहिले यो विधा सिमित लयप्रेमीहरू बीच मात्र साँघुरिएर रहेको छ ।

पर्याप्त रुपमा प्रचार हुन बाँकी नेपाली छन्द कवितामा अनेकौं भाकाहरूले भरिएको सुगन्धको खानी हो । बसन्त ऋतुको मनमोहक वातावरणमा तिनै सुगन्धित भाकाहरूका साथ पलेँटी प्रस्तुत हुने भएको छ ।

छन्द कविता, वाचन परम्पराको माध्यमले पुस्तान्तरण हुँदै जानुपर्ने साहित्यिक विधा हो । पुस्तकका पानामा मात्र सिमित राखेर छन्दको सौन्दर्य खुल्दैन । त्यसैले यो विधालाई भाका दिएर गाउँदै प्रसारित गर्ने परम्परालाई विकसित गर्नु आवस्यक छ । पलेँटी शृंखला त्यहि नेपाली मौलिक गायन परम्पराहरूको अभिलेख राख्न सधैँ उत्साहका साथ क्रियाशील रहेको छ ।
छन्द-पलेँटीलाई नेपाली साहित्यका अग्रज कविका कविताहरूको उत्सवका रुपमा मनाइने छ जसमा सोमनाथ सिग्ध्याल, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे लगायतका सुप्रसिद्ध कविहरूका रचना समावेस हुनेछन् ।

छन्द परम्परा नेपालमा मात्र प्रचलित शैली होइन । छापाखाना अथवा प्रिन्टिङ प्रेसको शुरूवात हुनुभन्दा पहिले संसारभरिका ग्रन्थहरू गाउन मिल्ने भाकामै लेखिन्थे । किनभने धुनमा बाँधिएका ग्रन्थहरू सम्झनामा लामो समय राख्न सहज मानिन्थ्यो । गाथा-गायनदेखि छन्द कवितासम्मका श्रुतिपरम्पराले पुरातन मानव परम्पराको इतिहासलाई जोगाउन मद्दत गरेको पाइन्छ । कथा र संदेशलाई गीत अथवा भाकामा समेटेर भन्नु पर्ने कारणले ती रचनाहरू छरिता र चुनिँदा हुनु जरुरी हुन्थ्यो । त्यही घनत्वका कारणले नेपाली छन्द कविताहरू साहित्यिक हिसाबले विशेष र सम्वृद्ध छन् । तर लामो समयदेखि हामीले नेपाली छन्द परम्परातर्फ त्यति ध्यान पुर्‍याएका छैनौं । यो परम्पराको व्यापकतालाई बुझ्नका निम्ति यसपालीको पलेँटी नमूना पलेँटी बन्न सक्छ ।

साहित्यमा क्रियाशील भूषिता वशिष्ठले स्वेच्छाले तयार परिरहेको छन्दको अभिलेखलाई सामाजिक संजालमा वाचन गरेको सुने पछि, उनै भुषिता मार्फत पलेंटीमा छन्द प्रस्तुत गर्ने सोच सुरु भएको हो । भूषिताको बाल्यकालदेखिकै छन्दमोहको निरन्तरता थियो त्यो । बाल्यकालमा भूषितासँग उनका अविभावक कविताबाटै आफ्नो कुरा अभिव्यक्त गर्थे । आमालाई त नैतिक शिक्षा नै कविताका हरफबाट दिने बानी परेको थियो । ‘असल बानी’ बारे छन्दमै सुन्नु पर्थ्यो । कठोर कुरालाई पनि कति लालित्यपूर्ण तरिकाले भन्न सकिँदो रहेछ भन्ने कुरा उमेर चढ्दै गएपछि भूषितालाई झन् स्पष्ट हुँदै गयो । लामो अन्तरालपछि जब वयस्क उमेरमा कठोरताहरूले घेर्न थाले; उनी फेरि छन्दका तिनै लालित्यपूर्ण धुनहरूतर्फ फर्किइन् । अँग्रेजी साहित्यकी जिज्ञासु विद्यार्थी भूषिता अहिले छन्द कविताका भाकाहरूबाट मात्र होइन यसभित्रको साहित्यिक र दार्शनिक पक्षसँग पनि मोहित छिन् ।

‘छन्द कविता मात्रिक अथवा मेट्रिक कविता हो’ भूषिता भन्छिन् ‘जुन विधाले साधारणतया प्राज्ञिकता भन्दा उत्साह र उमंगलाई पछ्याउँछ’ ।अँग्रेजीमा रहेका आयंबिक र डायक्टल मिटर जस्तै नेपालीमा पनि गति, ताल र लयकारीको उतार चढाव बोकेका विभिन्न मात्रा र छन्द रहेका छन् । नेपाली छन्द कविताको परम्परामा सयौं प्रकारका मात्रा अथवा मीटर रहेका छन्, ‘ भूषिता भन्छिन । ‘उदाहरणको लागि पञ्चचामर छन्द अँग्रेजी साहित्य परम्परामा रहेको आयंबिक अक्टामीटरलाई लिन सकिन्छ ।’
‘छन्द कवितासँग सांगीतिक सहकार्य गर्ने अवसर जुरेकोमा खुशी छु । ‘संगीतकार आभासले भने । ‘छन्दसँगको सामान्य चिनारीको विगतभन्दा यसपाली भिन्दै अनुभूति भइरहेको छ; यो मेरालागि नौलो अनुभव हो’ आभासको थप टिप्पणी थियो ।
छन्द पलेँटीको संयोग छन्द दिवससँग पनि जोडिन पुगेको छ । हिजो वैशाख ८ गते छन्द कविताको उत्सव, राष्ट्रिय छन्द दिवस पनि थियो ।

छन्द पलेँटीको प्रस्तुति यही अप्रिल महिनाको २६, २७, २८ तारिख साँझ कालिकास्थान स्थित नेपालयको साविककै कार्यक्रम स्थल ‘आर’ शालामा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक