न्यूयोर्कमा ‘आँकुरापुञ्ज’ कविता-संग्रह विमोचित

न्यूयोर्क । आचार्य पीपलमणि सिग्देलद्वारा लिखित ‘आँकुरापुञ्ज’ कविता-संग्रहको विमोचन लंग आइल्यान्ड नेपाली समाजको आयोजनामा न्यूयोर्क हिक्सभिलमा शनिबार सम्पन्न भयो ।

प्रमुख अतिथि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीले यो कृति नेपाली साहित्यको नौलो आयाम लिएर आएको बताउनुभयो । विमोचन गर्दै उहाँले साहित्यको ऐतिहासिक विकास र समीक्षा तथा कविता भागलाई अलग अलग खण्डमा प्रकाशन गर्न उपयुक्त हुने बताउनुभयो ।

विशेष अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी बोर्ड अफ ट्रष्टी गीता खत्रीले यो कृतिभित्र नेपाली गद्य कविताका प्रतिनिधि कविता समेटिएकाले पाठकलाई निकै उपयोगी हुने बताउनुभयो ।

अतिथिको आसनबाट बोल्दै नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदीले कृतिलाई अंग्रेजी भाषामा अनुवाद गर्न आफूले पनि सहयोग गर्ने बताउनुभयो ।

सभामा जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वांगले १५ वर्ष पहिले गणतान्त्रिक आन्दोलनमा ‘निरन्तर शनिबार’ कार्यक्रममार्फत् कवि सिग्देलसँगै कविताबाट नै विद्रोहको शंखघोष गरिएको स्मरण गर्नुभयो ।

कृतिको समीक्षा गर्दै डा. हरि दाहालले कृतिको भूमिका खण्डमा कवितात्मक रुपमा सिग्देल वंशावली पस्किएकाले पूर्खाको सम्मान गर्ने नयाँ प्रयोग गरिएको बताउनुभयो ।

कृतिका लेखक पीपलमणि सिग्देलले सबैलाई धन्यवाद दिंदै भविष्यमा थप उर्जाका साथ साहित्य सिर्जनामा लाग्ने अठोट व्यक्त गर्नुभयो ।

सभामा जयतु संस्कृतम् अमेरिका शाखाका महासचिव श्रीहरि कँडेल, एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरका सभापति रामहरि अधिकारी, उपसभापति विष्णु राना, महासचिव महेश खड्का, जनसम्पर्क समिति अमेरिका लंग आईल्यान्ड च्याप्टरका अध्यक्ष विश्वराज वास्तोला, उपाध्यक्ष विनोद थापा, जनसम्पर्क समिति अमेरिका न्यूयोर्क च्याप्टरका महासचिव महेश मल्ल, उपाध्यक्ष अमर तामांग, रिजउड नेपाली समाजका महासचिव दीपकराज काफ्ले, धादिंग समाजका अध्यक्ष दिवाकर पाण्डे, समाजसेवी यम अधिकारी, एनआरएनए अमेरिकाका पूर्व बोर्ड अफ डाइरेक्टर हरिश्चन्द्र हमाल, साहित्यकार कुन्ती थापा, क्वीन्स कम्युनिटी ५ का बार्ड मेम्बर ज्ञानल थापा, नेविसंघका पूर्व केन्द्रीय सदस्य अन्जन चौंलागाईं, साहित्यकार विजया सिंखडा, अच्युत सिग्देल, पत्रकार बद्री गौतम, लंगआईल्यान्ड नेपाली समाजकी उपाध्यक्ष कल्पना थापालगायत वक्ताहरुले नेपाली साहित्यको विविध आयामको चर्चाका साथ लेखकलाई शुभकामना दिंदै निरन्तर लेखन कार्यमा लाग्न सल्लाह समेत दिनुभएको थियो ।

प्रमुख अतिथि, विशेष अतिथिका साथै लेखकका पिता डिल्लीराम सिग्देलले पनि संयुक्तरुपमा कृति विमोचन गर्नुभएको थियो । आचार्य श्रीहरि कँडेलद्वारा स्वस्तिवाचन, दीप प्रज्वलन, तथा स्मृति, रिया, गीता, कविता एवं ज्योतिद्वारा राष्ट्रिय गानका साथ प्रारम्भ भएको कार्यक्रममा आशामाई मन्दिरका अध्यक्ष सेनापति लुण्डले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

लंग आईल्यान्ड नेपाली समाजका अध्यक्ष टीका ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव राजन गौलीले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री