सोमबार, जेठ १३ २०७६ | Mon, May 27, 2019
नेपालको समय: १३:५४ | UK Time: 09:09

लन्डनमा ३ मिलियन पाउण्ड डुबाएर फेरि तंग्रिए दीपेन्द्र

विनेपाली
२०७६ वैशाख ११ गते ०:४८

लन्डन । उतारचढाव हरेक व्यवसायमा स्वभाविक छ । कहिले सफलताको शिखरमा, कहिले पूर्ण असफलता । लन्डन निवासी युवा व्यवसायी दीपेन्द्र कार्की यसको प्रत्यक्ष साक्षी हुन् । रेष्टुरेन्ट व्यवसायमा संकटका कारण उनकै शब्दमा ३ मिलियन पाउण्ड (करिब ४३ करोड रुपैयां) डुबाए तर कत्ति हरेस नखाइ लाग्दा दशकपछि फेरि 
तंग्रिएका छन् उनी ।

सन् २००८ देखि शुरु भएको आर्थिक मन्दी (रिसेसन), 
बिग्रंदो पारिवारिक सम्बन्ध र तीव्र महत्वकांक्षाले सन् २०१० तिर व्यवसायमा चुर्लुम्म डुबे दीपेन्द्र । ‘तीनवटा रेष्टुरेन्ट बन्द भएपछि म जीवनमै पहिलो पटक अरुको काम (होलिडे इन होटल) गर्न वाध्य भएं । त्यो बेला धेरै ठक्कर खाएं तर हरेस खाइन’- उनी विगत सम्झन्छन् । व्यवसायमा लागिरहेका नयां पुस्तालाई उनी नआत्तिइ मिहिनेत गरेर अगाडि बढ्न सुझाउंछन् । ‘आत्मबल, मिहिनेत र लगावले कुनै पनि क्षेत्रमा सफलता पाउन सकिन्छ’- उनलाई विश्वास छ ।

अहिले दिन उनकै पक्षमा फिरेको छ । आधा दर्जन रेष्टुरेन्ट सञ्चालनको जिम्मेवारी कांधमा छ यतिखेर । बोस्टन म्यानरमा मन्टिज बैंक्यूटिङ, मन्टिज उषा, ‘नेपाल’ र मन्टिज साउथ इलिङ उनैले सम्हालेका छन् । ‘सेन्ट्रल लन्डनमा लास्ट ट्राइ गर्न मन छ’- उनी हौसिंदै थिए, ‘३० वर्ष भएछ रेष्टुरेन्ट क्षेत्रमा लागेको । छोरीहरु बाबा अब त यो काम छाड्नु भन्छन् । तर, मलाई केही वर्ष अझै 
गर्ने धोको छ । प्रोपर्टी व्यवसायमा लाग्ने सोच पनि छ ।’

सन् १९७६ मा सेफ बुबा विष्णु कार्कीका साथ लन्डन आएका थिए उनी । उमेर केवल दुई वर्ष । 
काठमाडौं सोल्टी ओबरायमा काम गर्दा गर्दै सन् १९७३ मा लन्डन आएका बाबुले नटराज, महाराजा लगायत रेष्टुरेन्टमा काम गरेपछि ‘मन्टिज’ शुरु गरेका थिए पार्टनरसीपमा । हरिसिंह थापा र महन्त श्रेष्ठसंगको साझेदारीमा सन् १९८० जुनमा खुलेको थियो ‘मन्टिज’ । विकेन्डमा बाबुलाई सघाउन जांदा जांदै दीपेन्द्र यही व्यवसायमा रमाउन थाले । तर, मन्टिजको पार्टनरसीप यात्रा ४ वर्ष नपुग्दै टुट्यो । सन् १९९२ देखि बुवा विष्णु कार्की एक्लैले चलाए ‘मन्टिज’ रेष्टुरेन्ट ।

सन् १९९९ मा २५ वर्षको थिए दीपेन्द्र । उनले इलिङ सपिङ मलमा ‘मन्टिज’ चलाउने आंट गरे । ‘कोहीपनि नेपालीले सपिङ मलमा रेष्टुरेन्ट खोल्ने आंट गरेका थिएनन् तर मैले ‘हाइ रिक्स, हाइ गेन’ भनेर आंटे’- उनले सुनाए- ‘राम्रो चल्दै गयो । आमाको नाममा उषा वेष्ट इलिङ, मन्टिज एक्टन, हिमालयन स्पाइस पनि लिएको थिएं । तर, २००८ को ‘रिसेसन’ र रेन्ट डबल भएपछि मलाई धान्न गारहो भयो । सपिङ मलमा तीन वर्षको लिज पनि सकिएपछि त्यहां बन्द गरें । मन्टिज हाउन्स्लो खोलेको त्यो पनि अल्कोहल बेच्ने लाइसेन्स नआएपछि चलाउन सकिएन ।’

‘बेलायतमा कम्पनी बन्द भएपछि केही तिर्नुपर्दैन तर मैले अस्तिसम्म तिर्दै थिएं’- उनी इमान्दार रहेको प्रमाणित गर्न खोज्दै थिए ।

१९८०-९० को दशकमा रेष्टुरेन्ट व्यवसायमा प्रतिष्पर्धा कम तर व्यापार राम्रो थियो । जनशक्ति पाउन पनि सजिलो । तर, अहिले सरकार नै कामदारप्रति अनुदार छ । मानिस सजिलै पाउन छाडिएको छ । बैंकले ऋण पत्याउंदैनन्, सामान खस्न नपाउंदै सप्लायर पैसा ताकेता गर्छन् । कामदारलाई ज्याला, कर, भाडा आदि इत्यादि खर्च छंदैछ । ‘हाम्रो पालामा सप्लायर्स पनि ६ महिना कुर्थे पैसा लिन । बैंकले सोधी सोधी ऋण दिन्थ्यो तर अहिले परिस्थिति त्यस्तो रहेन’- दीपेन्द्रको अनुभव छ ।

रेष्टुरेन्ट चल्ने मिठो खानाले नै हो भन्छन् उनी । ‘गुणस्तरमा कम्प्रमाइज गर्नै हुन्न’- उनी भन्छन्, ‘७० प्रतिशत मिठो खाना र बांकी अरु ‘फयाक्टर्स’ राम्रो हुन आवश्यक छ ।’

स्कुल, हाइस्कुल, कलेज बेलायतमै पढे पनि परिवारले नेपालीपन, नेपाली संस्कार सिकाएकाले आफ्नो मन मस्तिष्कमा नेपाल नै रहेको उनी बताउंछन् । उनले नेपाल फर्किएर उतै बस्ने भित्री इच्छा सुनाए तर व्यवहारमा त्यति सहज पनि छैन् । ‘मलाई नेपाल गएको बेला यति आनन्द लाग्छ’, उनले भने, ‘तर, विदेशमा बस्ने अधिकांश नेपालीले देश र नेतालाई गाली गरेको सुनिन्छ । वास्तवमा विदेशमा बसेर नेपाललाई गाली गर्ने अधिकार छैन् जस्तो लाग्छ ।’

दुई वर्षको उमेरदेखि बेलायत बसेपनि दीपेन्द्र राम्ररी नेपाली बोल्छन् । नेपाली चाडपर्व, रितिरिवाज, रहनसहन, कला संस्कृति उनलाई बडो चाख लाग्छ । तर, नेपाली समुदायका कार्यक्रममा उनलाई देखिन्न । न एनआरएनए वा अन्य संस्थामा बसेर पद ग्रहण गर्ने लालच छ । ‘सकिन्छ मातृभूमिका लागि केही सहयोग गर्ने हो नत्र संघसंस्थामा पद हानथाप बेकार हो’- उनको टिप्पणी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक