लन्डनमा साहित्य सन्ध्या, विभिन्न श्रष्टा सम्मानित

लन्डन । बेलायतस्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले नेपाली नयां वर्ष २०७६ आगमनको अवसरमा ३० औं साहित्य सन्ध्या, पुस्तक विमोचन तथा पुरस्कार वितरण समारोह गरेको छ । कार्यक्रममा गीत संगीत र कविता वाचन पनि गरियो ।

वेम्लीस्थित वेम्ली तन्दुरी रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि परिषद्का वरिष्ठ सल्लाहकार डा. राघवप्रसाद धिताल ‘ओबिइ’ ले नेपाली नयां वर्षको आगमनसंगै सर्जकहरूलाई सम्मान र कृति विमोचन गर्न पाउंदा आफूलाई खुशी लागेको बताए । राजनेताहरूले संगठन गरेर समाज र देशको विकास गर्छन् भने लेखक साहित्यकारहरूले कलमले समाजको चेतनाको विकास गर्छन् भन्दै डा. धितालले बेलायतमा साहित्यिक गतिविधिको आरम्भ नेपाली साहित्य विकास परिषद्ले गरेर इतिहास रचेको उल्लेख गरे ।

त्यसैगरी विशिष्ट अतिथि वरिष्ठ साहित्यकार एवं पूर्वमन्त्री बलदेव शर्मा मजगैंयाले समय अभावमा पनि नेपाली साहित्यको आकाश फराकिलो बनाउन विदेशमा बसेका नेपालीको योगदान अनुकरणीय रहेको चर्चा 
गर्दै आफ्नो अभिनन्दनका लागि आभार व्यक्त गरे ।

विशिष्ट अतिथि नेपाली दूतावासका द्वितिय सचिव कवि लव सुवेदीले परिषदले बेलायतमा नेपाली माटोको माया फैलाउने ऐतिहासिक कार्य गरेको जनाउंदै यस अभियानमा आफू पनि सहागी हुन पाएकोमा गर्व लागेको बताए । उनले आफ्नो सानो योगदानलाई पनि ठूलो सम्झेर पुरस्कृत गरेकामा आयोजकप्रति आभार व्यक्त गर्दै थप जिम्मेवारी थपिएको अनुभूति भएको जनाए ।

अर्का विशिष्ट अतिथि युवा साहित्यकार निर्मलकुमार थापाले साहित्यिक माहोलमा नयां वर्ष मनाउन पाउंदा आफूलाई बढो आनन्दको अनुभूति भइरहेको र अभिनन्दन गरेर आफूले साहित्यमा खर्चेको श्रमको लेखाजोखा गरिदिएकामा आभार व्यक्त गरे । उनले विदेशी भूमिमा नेपाली पहिचान सिञ्चित गर्ने परिषद्को कार्य अत्यन्तै सरहानीय रहेको पनि बताए ।

त्यसैगरी समारोहमा यती संस्थाका नव निर्वाचित अध्यक्ष तथा परिषद्का वरिष्ठ सह-अध्यक्ष कवि ध्रुव केसीले नेपाली साहित्यको बारीमा मलजल गर्न परिषद्को स्थापनाकाल देखि नै संलग्न हुन पाएकोमा आफूलाई गर्व लाग्ने गरेको चर्चा गर्दै पुरस्कृत, सम्मानित र विमोचित कृतिका सबै सर्जक साहित्यकारमा वधाई ज्ञापन गरे ।

सभापतिको आसनबाट बोल्दै परिषदका अध्यक्ष कवि कोमल मल्लले प्रत्यक वर्ष नेपाली नयां सालको आगमनमा गरिने साहित्य सन्ध्या कार्यक्रमभित्र साहित्य सर्जकहरूमा नौलो उर्जा थपियोस् भन्ने चाहना रहेको चर्चा गर्दै सम्मान र पुरस्कार घोषणा सबै साहित्य उब्जनीको विरुवा हुन् भने ।

यसअघि पुरस्कार घोषणा तथा सम्मानित व्यक्तित्वहरुबारे प्रकाश पार्दै परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष साहित्यकार सुरेशजंग शाहले नेपाली भाषा साहित्यको गोडमेल गर्ने मेहनती सर्जकहरूको पहिचान गरेर सम्मानित, पुरस्कृत गर्नु भनेको नेपाली साहित्य फांटलाई अझ मलिलो र उर्वर बनाउनु हो भन्ने विश्वासले नै परिषद्ले आफ्नो स्थापनाकाल १९९५ देखि नै विभिन्न पुरस्कार र सम्मान व्यवस्था गरेको चर्चा गरे ।

समारोहको आरम्भमा स्वागत भाषण गर्दै परिषदकी उपाध्यक्ष कवयित्री डा. सुधा श्रेष्ठले हरेक वर्ष नयां साल आउंदा परिषद्ले यसरी नै साहित्य सन्ध्या गरेर सुख शान्तिको कामना गर्ने गरेको स्मरण गरिन् ।

परिषदका कोषाध्यक्ष कवि मनोज अन्जानले भाषा, साहित्य, संस्कृति जस्ता नेपाली पहिचानलाई जीवन्त राख्न समाजका हरेक सदस्यबाट दिइने सहयोगले 
संस्थामा ठूलो सहयोग पुग्ने विचार प्रकट 
गर्दै आर्थिक सहयोग गर्ने परिषदका प्रमुख सल्लाहकार डा. 
राघवप्रसाद धिताल ‘ओबिइ’ तथा डा. जनक कुमारी धिताल, सल्लाहकार घनबहादुर थापा मगर तथा कृष्णा थापा मगर, गीतसंगीत प्रस्तुति संयोजन गर्ने कोशेली संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, परिषद्का उपाध्यक्ष कलाकार वसन्त रायक्षेत्री, कलाकार प्रमोद शर्मा, कलाकार मनोज अन्जान व्यवस्थापन सहयोग गर्ने ओम तामाङ तथा वेम्ली रेस्टुरेन्ट परिवार, अतिथि संयोजन गर्ने कलाकार तथा कवि लेखक सुरेन्द्र श्रेष्ठ र पत्रकार भगिरथ योगी लगायत सहभागी सबैमा धन्यवाद ज्ञापन गरे ।

राष्ट्रिय गानबाट आरम्भ गरिएको उक्त साहित्यिक कार्यक्रममा सन् २००४ देखि २००८ सम्म परिषद्ले संचालन गरेको नेपाली भाषा साहित्य जागरण अभियानमा अभिछिन्न रूपमा सक्रिय सहभागी रही कुटनीतिक क्षेत्रबाट नेपाली साहित्यको श्रीवृद्धि गर्न योगदान पुर्याएवापत नेपाली 
दूतावास लन्डनका द्वितिय सचिव कवि लव सुवेदीलाई ‘विशिष्ट साहित्य सम्वर्धन पुरस्कार’ द्वारा शुसोभित गरिएको थियो भने आ आफ्नो क्षेत्रबाट नेपाली साहित्यको श्रीवृद्धि गर्ने नेपालस्थित 
वरिष्ठ साहित्यकारद्वय पूर्वमन्त्री बलदेव शर्मा मजगैंया र युवा साहित्यकार निर्मलकुमार थापालाई साहित्य अभिनन्दन 
गरिएको थियो ।

समारोहमा भाषा साहित्यको अभिवृद्धिमा संस्थागतरूपले निरन्तर योगदान पुरयाउने परिषदकी उपाध्यक्ष कवयित्री डा. सुधा श्रेष्ठ र रमेश श्रेष्ठ दम्पतिलाई विशिष्ट सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।

यस अघि परिषद्का अध्यक्ष कोमल मल्ल, पूर्वअध्यक्ष वरिष्ठ साहित्यकार हरिसिंह थापा, सहअध्यक्षद्वय कवि गोकुल भण्डारी र कवि रेशम अर्यालले पुरस्कार र अभिनन्दनपत्र वाचन गरेका थिए ।

त्यसैगरी श्रृंखलावद्धरुपमा अडियो पुस्तक प्रकाशन गरी नेपाली भाषा साहित्यको श्रीवृद्धि गराएवापत परिषद्का पूर्वअध्यक्ष कवि खगेन्द्र नेपालीलाई ‘एनएलडिसी साहित्य पुरस्कार २०१८’ र रेडियो सञ्चारबाट निरन्तररुपमा नेपाली भाषा साहित्यको श्रीवृद्धि गराएवापत बिएफबिएस गोर्खा रेडियोका सञ्चालक सम्पादक योगराज राईलाई 
’एनएलडिसी साहित्य पुरस्कार २०१९’ प्रदान गरिएको घोषणा गर्दै यी दुबै पुरस्कार आगामी वर्ष शुसोभन गरिने जानकारी परिषदका संस्थापक पूर्वअध्यक्ष तथा पुरस्कार सम्मान समितिका संयोजक सुरेशजंग शाहले दिए । उक्त साहित्य पुरस्कारको ट्रष्ट परिषद्का अध्यक्ष कवि कोमल मल्ल र पूर्व कार्यकारिणी सदस्य कोहिनुर मल्लले आ आफ्ना बुबामुमाका नाममा सन् २०११ बाट स्थापना गरेका हुन् ।

समारोहमा परिषद्की नवनियुक्त सह महासचिव कथाकार डा. संगीता स्वेच्छाको कथा संग्रह ‘गुलाफसंगको प्रेम’ विमोचन प्रमुख अतिथि वरिष्ठ सल्लाहकार डा. राघव प्रसाद धिताल, विशिष्ट अतिथिहरू वरिष्ठ साहित्यकार पूर्वमन्त्री बलदेव शर्मा मजगैंया, नेपाली दूतावास लन्डनका द्वितिय सचिव कवि लव सुवेदी, युवा साहित्यकार निर्मलकुमार थापा, यती अध्यक्ष ध्रुव केसी र परिषद्का अध्यक्ष कोमल मल्लले संयुक्तरुपमा गरेका थिए ।

विमोचित पुस्तक माथि विवेचना गर्दै अन्तराष्ट्रिय साहित्य समाजका भूतपूर्व उपाध्यक्ष कृष्ण बजगाईं र युवा साहित्यकार निर्मलकुमार थापाले कथाकार डा. 
संगीता स्वेच्छाले आफ्नो कथा संग्रह ‘गुलाफसंगको प्रेम’ भित्र समाजका विविध घट्नाक्रम संगालेको बताउंदै कथा पढेर समाजलाई बुझ्न आग्रह गरे ।

विमोचित कृति ‘गुलाफसंगको प्रेम’ कथा संग्रहकी लेखिका परिषद्की सह-महासचिव डा. संगीता श्रेष्ठले आफ्ना कथाहरू समाज भित्रकै विविध हिस्सा भएको र सामाजमा जोकोहीले महसुस गर्ने अनुभूति भएको चर्चा गर्दै प्रकाशन र विमोचनमा सहयोग पुरयाउने सबैमा आभार व्यक्त गरिन् ।

साहित्य र गीतसंगीतको मिश्रण रहेको उक्त साहित्य सन्ध्याको दोस्रो चरणमा कोशेली नेपाली सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, परिषद्का उपाध्यक्ष कलाकार वसन्त रायक्षेत्री, कलाकार प्रमोद शर्मा र कलाकार मनोज अन्जान, पविता बराइली लगायत कलाकारले सुमधुर गीतसंगीत प्रस्तुत गरेर श्रोता दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।

त्यसैगरी कविता वाचनतर्फ भाग लिने कविहरूमा वसन्त 
रायक्षेत्री, हरिसिंह थापा, सुरेन्द्र श्रेष्ठ, डा. सुधा श्रेष्ठ, घनबहादुर थापा मगर, मनोज अन्जान, खगेन्द्र नेपाली, ध्रुव केसी, डा. संगीता श्रेष्ठ, गोकुल भण्डारी, सीता भण्डारी कंडेल, रेशम अर्याल र कोमल मल्ल थिए ।

साहित्य सन्ध्या समारोह परिषद्का अध्यक्ष कोमल मल्लको सभापतित्व, उपाध्यक्ष डा. सुधा श्रेष्ठको स्वागत मन्तव्य र महासचिव वीरेन्द्र कुंवरको उद्घोषणबाट सञ्चालन गरिएको थियो । कार्यक्रमको अन्त्यमा रात्रीभोज भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री