बुद्ध नेपालमा जन्मिएका हुन् कहिलेसम्म भनिरहने ?

हामीले विगत वर्षहरु जस्तै यसपालि पनि मे १२ तारिख बुद्ध जयन्ती मनाउंदै छौं । ध्रुवसत्य नै छ, बुद्ध लुम्बिनीमा जन्मिएका हुन् र यो नेपालमा नै पर्दछ । मेरा लागी बुद्ध कहां जन्मिए कहां हुर्किए अथवा भारतले नक्कली लुम्बिनी बनायो भनेर तर्क वितर्क गर्नु भन्दा पनि बुद्धले नेपाली समाज लगायत विश्व मानचित्रलाई कुन बाटो देखाए र आज हाम्रा बाटाहरु कस्ता छन् त्यो महत्वपूर्ण हुन्छ भन्ने लाग्छ ।

के हामी बुद्धले देखाएको बाटोमा हिडिंरहेका छौं त ? के हामीले बुद्धले दिएका उपदेशहरु जीवनका गोरेटोहरुमा लागू गरेका छौं त ? मलाई यस्तै प्रश्नहरुले झस्काइरहन्छ ।

मलाई लाग्दछ बुद्ध अब हामी नेपालीका मात्र नभएर 
संसारकै साझा भएका छन् । बुद्धलाई संसारले आफ्नो मान्दै गर्दा हामी चाहिं धर्मलाई अगाडि सारेर विभाजनको बीउ रोप्दैछौं, मेरो अघिल्ला ट्राफलगरस्क्वायरको बुद्ध जयन्ती मनाउंदाका अनुभवहरुले यस्तै भनिरहेछ ।

हामी अब अलिक वृहत सोचौं बुद्ध साझा हुन्, सबैका हुन् र उनका विचारहरु झनै बुलन्द पार्ने काम हामी नेपालीहरुको कर्तव्य हो ।

संकीर्ण मानसिकता त्यागेर हामी आफ्नो जात, जन्मथलो र समुदाय भन्दा माथि उठेर ट्राफलगरस्क्वायरमा सबै अटाएर उभिन सकियो भने बुद्धप्रति त्यो भन्दा ठूलो समर्पण अरु केही हुन सक्दैन् । आउनुस् हातेमालो गरेर यो पूण्य कार्यलाई सफल 
पारौं, बुद्धका विचारहरुलाई अझ बुलन्द पारौं ।

लेखक अन्जान बगाले

बुद्धलाई आज यो स्थानमा पुरयाउन ठूलो योगदान 
राजा असोकाको मानिन्छ । बुद्धज्ञान छर्ने ठाउंमा उनी अग्रस्थानमा छन् । फेरी हामीलाई त्यो बुद्ध ज्ञान 
छर्ने अहोभाग्य मिलेको छ । आउनुहोस् सम्राट असोक जस्तै बनेर बुद्धज्ञानलाई हामी पनि पढौं र हिंसाले 
रुमलिएको यो समाजलाई शान्तिको सन्देश छरौं ।

सन् २००१ मा जब तालिवानहरुले बुद्धको मूर्ती तोड्ने काम गरे त्यही दिन देखि मेरा चेतहरुले बुद्धका बारेमा जान्ने बुझ्ने काम अझ धेरै गरयो । मेरो मस्तिष्कले बुद्धलाई खाली नेपाल र भारतमा मात्र सिमित राखेको थियो अब त्यो रहेन । बुद्ध धर्मको रुपमा भारत, श्रीलंका, अफगानिस्तान, बर्मा, म्यान्मार, तिब्बत, चीन, जापान, कोरिया हुंदै एसिया महाद्धीपमा छाएका थिए भने शान्ति र 
अहिंसाको सन्देशमार्फत विश्वमा छाएका छन् । अफगानिस्तानमा उग्रवादीहरुले मूर्ति त तोडे तर त्यो समयमा बुद्धज्ञान झनै फिजिंएको देखेर सायद आत्माबोधले होला त्यो संसारकै एक ठूलो पुरानो बुद्धको मूर्ति जुन २००१ मा तालिवानहरुले फोडे । हाल आएर फेरी अफगान सरकारले स्थापित गर्ने प्रयत्न 
गर्दैछ ।

एसिया महाद्धीपमा बुद्ध चम्कंदै गर्दा हामीले सिमित समुदायमा मात्र राखियो भने त्यो बुद्ध अनि उनका ज्ञानहरुका अगाडि हामीले नै काडें तारले 
बारी रहेका हुनेछौं । स्वयम्भूमा सरस्वतीको मूर्ति छ, बौद्ध स्तुपा र बज्रयोगिनी मन्दिरका आफ्नै कथा छन् । मञ्जुश्रीलाई हिन्दूहरुले पनि मानेका छन् साथै बुद्धप्रति आस्था राख्नेहरुले पनि उत्तिकै मान्छन् । कैलाश पर्वत जसलाई महादेव शिवको घर मान्छन्, बौद्ध अनुयायीहरुले पनि त्यतिकै मानेका छन् ।

मलाई लाग्छ, बुद्धिष्टहरुको मन्त्र ‘ॐ मणिपद्मे हुं’ को सुरुवातनै ॐ बाट सुरु छ, हामी सबै ॐ परिवारका सदस्य हौं । मेरो यो गन्थनको मुल उद्देश्य बुद्धलाई विभाजित 
नगरौं भन्ने हो । बुद्धलाई हामीले सिमित जात र समुदायमा मात्र राख्यौं भने त्यो बुद्ध माथी, उनका विचारहरु माथी हामीले घोर अन्याय गरेका हुनेछौं ।

त्यसैले पनि यो विभाजित नेपाली समुदाय र नेपाली हरुको नश्ललाई जोड्न हामी समुदाय, समाज र जातबाट बाहिर निस्किएर हातमा हात अनि कुममा कुम जोडेर विश्व समुदायमाझ एकता र शान्तिको सन्देश छर्न जरुरी छ ।

त्यो अभिभारा हामी सम्पूर्ण नेपालीहरुको हुनेछ । म फेरी भन्दैछु, मे १२ गते ट्राफलगर स्क्वायरमा सबै पाल्नु होला ।

हाम्रो उद्देश्य एउटै हो, अनि साझा हो । त्यो बुद्धका शान्तिका बाटाहरु देखाउने अनि ति बाटाहरुमा आफूलाई पनि हिंडाउने हुनेछ । आशा छ, ति मार्गहरु हामीलाई र आउने पुस्तालाई बाटो देखाउनेछ । त्यो बाटो हिजोका दिनहरुमा किरात, लिच्छबी हुंदै आजसम्म नासो सरी हामीमाझ आएको छ ।

मैले २००५ तिर बुद्धधर्म अझै बुझ्ने मनसायले मैले तिब्बतसम्मको यात्रा तय गरेको थिएं । युवराज्ञी भृकुटीले बुद्धका ज्ञानहरुलाई अझै राम्रोसंग मलजल गर्न सकेकी थिइन् र अरनिकोले रंग भर्ने काम गरेका थिए र आज सम्म त्यो जिवित रहेको पाएं ।

तिब्बतमा रहेको ठूलो बुद्धको मूर्ति नेपालतर्फ फर्काएर राखिएको रहेछ सायद भृकुटीको देन हो जसलाई हामीले हरित तारा पनि भनेर चिन्छौं । तिब्बतीहरु तान्त्रिक बुद्धिजममा विश्वास राखेको पाए पछि चिनियां सरकारले तिब्बतलाई नियन्त्रण गर्दा थोरै विवाद पनि देखियो ।

कसैको मनमा ठेस पुरयाउने उद्देश्य पनि होइन र दलाई लामाप्रति मेरो सम्मान रहन्छ तर विश्व 
राजनैतिक मञ्चमा दलाई लामालाई अमेरिकाले प्रयोग गरी बुद्धिजमलाई विवादित बनाए जस्तो लाग्छ । यसमा विमति जनाउन सक्ने तपाईंहरुका अधिकारहरु सुरक्षित छन् ।

हामीले बुद्ध जयन्ती मनाउंदै गर्दा आयोजकहरुप्रति मेरो थोरै गुनासो राख्ने अनुमति चाहन्छु ।

बेलायतमा बुद्धप्रति आस्था राख्ने श्रीलंकन समुदाय, बर्माका बर्मिज समुदाय, भियतनाम, थाइलेन्ड र बुद्ध मान्ने विभिन्न देशका समाज अनि गुम्बाहरु पनि जोड्न सकियो भने हामी विश्व चित्रमा अझै सशक्त हुन सक्थ्यौं जस्तो लाग्छ ।

अब पश्चिमा समाजले बुद्धलाई जीवन जीउने कलाको रुपमा लिने गरेको छ र म बुद्धलाई मान्ने गरेको छु भन्दा पनि उनीहरुले निकै सम्मानित नजरले हेर्ने गरेको अनुभव सांटेको छु ।

विगत केही समय देखि हाम्रो नेपाली समाजले बुद्धका विचारहरुलाई केही अनुशरण मात्रै गर्न सके पनि हामी माथी पुग्थ्यौं कि जस्तो लाग्छ । हामी विपरित छौं विभाजित समाज छ । तीन सय पचास भन्दा बढी संस्था छन्, खादा, माला, आसन अनि भाषणको मोह छ ।
मैले यो लेख्दै गर्दा पनि केही समुदायका व्यक्ति र अगुवाहरुबाट नेपाली समाजले बुद्धका विचारहरुलाई अंगालेर सबैलाई समेटेर शान्तिपूर्वक नेपाली समाजलाई जोड्ने काम गरुन् ।

हजुरहरु सबैमा बुद्ध जयन्तीको अग्रिम मंगलमय शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री