ब्रेक्जिट सम्झौता पारित गराउन प्रधानमन्त्रीको दौडधुप

लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनलाई आफ्ना मतभिन्नताहरु पन्छाउंदै बेलायत युरोपेली संघबाट बाहिरिने सम्झौता 
(ब्रेक्जिट) मा सहमति जनाउन आग्रह गरेकी छिन् ।

प्रधानमन्त्री मेले ब्रेक्जिट सम्झौता संसदबाट पारित गराउन विपक्षी दलको सहयोग खोजिरहंदा पुनः अपिल आएको हो । लेबर तथा कन्जरभेटिभ दलहरुबीच वार्ता पनि जारी छ ।

बेलायतले गत मार्च २९ मा ईयू छाड्नु पर्ने थियो तर 
सांसदहरुले प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेको सम्झौता तीनपटक अस्वीकार गरिदिएपछि अब ३१ अक्टोबर भित्र ईयू छाड्ने गरि नयां मिति तोकिएको छ ।

लन्डनबाट प्रकाशित हुने ‘डेली मेल’ समाचारपत्रमा एउटा लेख लेख्दै उनले गत बिहिबार भएको स्थानीय चुनावमा ब्रिटिश मतदाताहरुले दिएको सन्देश बुझ्न पनि आग्रह गरेकी छन् ।

स्थानीय निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले १३३४ काउन्सिलर पद गुमाएको छ भने लेबर पार्टीले ८२ स्थान गुमाएको छ ।

तेश्रो ठूलो दल लिबरल डेमोक्रयाटले ७०३ स्थान थप गरेको छ । त्यस्तै ग्रीन र स्वतन्त्र उम्मेदवारहरुले पनि स्थान बढाएका छन् ।

प्रधानमन्त्रीले ब्रेक्जिटबारे समयमै निर्णय लिन नसकेकाले चुनावमा त्यस्तो नतिजा आएको बताइन् ।

उता प्रधानमन्त्री मे भन्सार तथा श्रमिकहरुको हित लगायतका विषयमा सम्झौता गर्न तयार रहेको बताइएको छ तर यसको पुष्टि भइसकेको छैन् ।

सन् २०१६ जुनमा बेलायती जनताले इयूबाट अलग्गिने पक्षमा बढि मत दिएयता शुरु भएको ब्रेक्जिट प्रक्रिया लम्बिइरहेको छ । ५२४ दिन लामो छलफलपछि गत २५ नोभेम्बरमा ब्रसेल्समा आयोजित ईयू समिटमा प्रधानमन्त्री मेले प्रस्तुत गरेको 
५८५ पृष्ठ लामो ब्रेक्जिट प्रस्ताव ईयूका २७ राष्ट्र प्रमुखले स्वीकारेका थिए । पछि २६ पेजको राजनीतिक घोषणामा सैद्धान्तिक सहमतिसमेत बनेको थियो ।

५८५ पृष्ठ लामो दस्तावेजमा ब्रिटेनले ईयू छोड्दा डिभोर्स डिल अन्तर्गत ३९ अर्ब पाउण्ड तिर्नुपर्ने, ईयू र यूके नागरिकका हक अधिकार सुनिश्चितता गर्नुपर्ने र भविष्यमा व्यापार सम्बन्धी वार्ता 
रोकिएपनि उत्तरी आयरल्याण्ड र आयरल्याण्डबीचको सीमा नरोकिने जस्ता कुरा उल्लेख छ । अहिले बेलायतमा ३० लाख ईयू देशका नागरिक र युरोपेली मुलुकमा करिब १० लाख बेलायती रहेको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री