लन्डनको मुटुमा मनाइयो बुद्धजयन्ती

लन्डन । लन्डनको मुटु ट्राफलगर स्क्वायर अचेल ब्रेक्जिट विरोध अनि समर्थन रयालीले भरिरहन्छ । प्रदर्शनकारीले बेलायत र ईयूका झण्डा फहराइरहने उक्त स्थान आइतबार सांझ भने नेपाली झण्डा, ध्वजा पतका र बुद्धका पोस्टरले भरियो । नेपाली गीत संगीत घन्किए अनि मौलिक नेपाली नाचमा कलाकारले विदेशीको ध्यान खिचे । भैरव, लाखे नाच देखि कुमारी परम्पराको एउटा प्रदर्शन विदेशी आकर्षित गर्ने थप आइटम थिए । ‘फूलको आंखामा, रेशम फिरिरी… ‘ पनि घन्किए त्यहां ।

अवसर थियो बुद्धजयन्ती । बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघ बेलायत लगायतको सहकार्यमा बुद्धजयन्ती मनाएका हुन् ।

‘जहां छन् बुद्धका आंखा…’ गायिका शर्मिला बर्देवाको सुमधुर स्वरले माहोल एकाएक तात्यो । बर्देवासहित शर्मिला सिंह र सोनम उनेमको अर्को गीत ‘यो नेपाली शीर उचाली…’ ले एकपटक फेरि विदेशी भूमिमा नेपाली भावना जागृत गराएको महशुस दर्शकले गरे ।

करिब ५ सय हाराहारी नेपाली र केही विदेशी सहभागी उक्त कार्यक्रममा धार्मिक पूजा, शान्तिदीप प्रज्वलन, गौतम बुद्ध र लुम्बिनीसम्बन्धी ‘प्रिजेन्टेसन’ साथै पर्यटन 
प्रवर्धनात्मक कार्यक्रम गरियो ।

समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हृदयरत्न बज्राचार्यले भगवान बुद्धको जन्मस्थान लुम्बिनीबाट शान्ति, अहिंसा र मैत्रीको संदेश लिएर आफु बेलायत आएको बताए। उनले सन् २००४ मा स्थापित विश्वविद्यालयले विश्व शान्ति, सामन्जस्य र बुद्धको संदेशको प्राज्ञिक प्रवर्धनका लागि काम गरिरहेको बताए। उनले अक्सफोर्ड लगायत बेलायतका विभिन्न विश्वविद्यालयमा बौद्ध धर्म र दर्शनका विषयमा पढाई भैरहेको थाहा पाउंदा आफुलाई खुसी लागेको बताउंदै ती विश्वविद्यालयहरुसंग सहकार्य गर्न आफुहरु तयार रहेको पनि बताए।

आफ्नो स्वागत मन्तव्यमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले गौतम बुद्धको जन्म नेपालमै भएको हो भन्ने विषयमा अब कुनै शंका नरहेको बताउंदै लुम्बिनीको योजनावद्ध विकासका लागि संयुक्त राष्ट्र संघले सघांउदै आएको जनाए। उनले युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई विश्वकै शान्ति, अहिंसा र सह-अस्तित्वको केन्द्रको रुपमा विकास गर्न नेपाल सरकारले काम गरिरहेको जनाए। उनले आउंदो वर्ष बेलायतबाट एक लाख पर्यटक भित्राएर ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न आव्हान पनि गरे।

ब्रिटेनको लेबर पार्टीका एकजना नेता तथा ब्रिटिश संसदमा अल पार्टी पार्लियामेंटरी ग्रुप अन नेपालका अध्यक्ष वीरेन्द्र शर्माले आज विश्वले नै शान्ति, अहिंसा र एक अर्काको सम्मान गर्ने बाटोको खोजी गरिरहेको भन्दै बुद्धबाट प्रभावित महात्मा गान्धी, नेल्सन मण्डेलाजस्ता नेताहरुले संसारलाई नै नयां राजनीतिक सोच दिएको बताए। उनले ब्रिटिश सरकारले ब्रिटेनमा नेपाली समुदाय र गोर्खा सैनिकहरुले पुराएको सेवाको पहिचान गर्नुपर्ने बताउंदै समान पेन्सनका लागि भूतपूर्व गोर्खा सैनिकहरुले चलाई रहेको अभियानप्रति आफ्नो संधै समर्थन रहीआएको पनि जनाए।

लुम्बिनी क्षेत्रमा पुरातात्विक खोज गरेका ब्रिटेनको डरहम विश्वविद्यालयका प्राध्यापक रबिन कनिङ्गघमले आज भन्दा १२३ वर्ष अघि सन् १८९६ मा जनरल खड्ग शमशेर तथा  एलोइस एन्टन फुहररले नेतृत्व गरेको टोलीले लुम्बिनीमा सम्राट अशोकले गाडेको अशोक स्तम्भ पत्ता लगाएको बताए। सो स्तम्भमा लुम्बिनीमै गौतम बुद्धको जन्म भएको स्पष्ट उल्लेख गरिएको भन्दै उनले लुम्बिनी क्षेत्रमा मात्रै २५० भन्दा बढी पुरातात्विक महत्वका स्थानहरु रहेको बताए।

प्राध्यापक कनिङ्गघमले सन् १९९७ मा केवल १६,००० पर्यटकहरुले मात्रै लुम्बिनीको भ्रमण गरेकोमा यो वर्ष दस लाख पर्यटकहरुले लुम्बिनीको भ्रमण गरेको बताए । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल शुरु भएपछि पर्यटकको संख्या २० लाखसम्म पुग्न सक्ने र त्यस्तो अवस्थामा लुम्बिनी क्षेत्रका पुरातात्विक महत्वका स्थानहरुको संरक्षण गर्ने कुरामा विशेष ध्यान दिन उनले सुझाव दिए ।

समारोहमा रोयल बरो अफ केंसिंगटन एण्ड चेल्सीकी मेयर मेरी टेरेस रोसी, रशमुर बरो काउन्सिलका काउन्सिलर पल टेलर, एनआरएन युकेका अध्यक्ष योगकुमार फगामी लगायतका वक्ताहरुले पनि आफ्नो मन्तव्य दिएका थिए।

कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदी, बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, कपिलवस्तु समाज यूकेका अध्यक्ष महेन्द्र कुंवर, कार्यक्रम संयोजक शिवजी श्रेष्ठ तथा सहसंयोजकद्वय हयारी गुरुङ र जिवन सेनले प्रमुख तथा विशेष अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

बुद्ध फाउण्डेसन यूकेका कोषाध्यक्ष राजन खकुरेलले धन्यवाद मन्तव्य दिए । उक्त अवसरमा औपचारिक कार्यक्रम लक्षुमन गुरुङ र सांस्कृतिक कार्यक्रम गौमाया गुरुङले सञ्चालन गरेका थिए ।

वाल प्रतिभा नक्षत्रका सौरभी दाहाल, दिव्या र काव्या दाहाल, मुस्कान घिमिरे, सयपत्री नेपाली कल्चरल ग्रुप, सुशील प्रजापति, विनोद चिपालु लगायत कलाकारले विभिन्न नाच प्रस्तुत गरे । लामा गुरु धरम गुरुङले धार्मिक पूजा गरेपछि कार्यक्रम शुरु भएको थियो ।

कार्यक्रममा विभिन्न काउन्सिलका काउन्सिलरहरु अतिथिका रुपमा सहभागी थिए । कार्यक्रमस्थलमा दूतावास कर्मचारीले ‘नेपाल भ्रमण वर्ष २०२०’ सम्बन्धी विभिन्न प्रचार सामाग्री वितरण गरेका थिए ।

तस्विरहरु- कुशल श्रेष्ठ, के के मुभिज

प्रतिक्रिया

सम्बन्धित सामाग्री