खाना बनाउन खप्पिस् सेफहरु सामाजिक कार्यमा पनि उस्तै

लन्डन । स्वादिष्ट खाना ख्वाएर आम ग्राहकको मन जित्ने सेफहरुले आफूहरु ‘सामाजिक काममा पनि कम छैनौं’ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । उनीहरुले एउटा कार्यक्रम गरेर नेपालको विद्यालयमा पुस्तकालय व्यवस्थापनका लागि १० लाख रुपैयां संकलन गरे ।

बेलायतमा च्यारिटीप्रति मानिसहरुको वितृष्णा बढिरहंदा नेपाली सेफ एसोसिएसन यूकेको सोमबार आयोजित च्यारिटी डिनर भने खचाखच रह्यो ।

धादिङको निलकण्ठ नगरपालिका १४ स्थित धुवांकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि मिडल्याण्डको ओल्डवरीस्थित द स्यामसन 
ब्यांक्यूटिङमा च्यारिटी डिनर भएको हो । भूकम्पले ध्वस्त उक्त विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेपनि बजेट अभावमा पुस्तकालय थिएन । विद्यालयमा करिब ५५० विद्यार्थी अध्ययनरत छन् ।

प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले कार्यक्रमलाई सम्वोधन 
गर्दै बेलायतका नेपाली सेफहरुको सामाजिक कार्यको बडो प्रशंसा गरे । उनले नेपाली खाना, पर्यटन प्रवर्धन र मातृभूमिका लागि मरिहत्ते गर्ने सेफहरु सच्चा राजदूत भएको पनि बताए । एसोसिएसनका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनालाई संस्थाका तर्फबाट दोसल्लासहित विशेष अभिनन्दन गर्ने क्रममा राजदूत डा. सुवेदीले तिमल्सेना जस्ता निस्वार्थ भावनाले ओतप्रोत समाजसेवी समाज र राष्ट्रका लागि झन् खांचो भएको औंल्याए । संस्थाका अध्यक्ष दधि आचार्य र राजदूत सुवेदीले तिमल्सेनाको योगदानको कदर गर्दै सम्मान गरेका थिए ।

सामाजिक अभियन्ता तिमल्सेनाले बेलायतका विभिन्न क्षेत्रमा छरिएर रहेका नेपाली सेफहरुलाई एकत्रित गराउने र मातृभमिका लागि थोरै भएपनि सहयोग गर्ने उद्देश्यले सन् २०१२ मा एसोसिएसन स्थापना गरिएको बताए । हाल एसोसिएनमा सदस्य संख्या झण्डै ७ सय हाराहारी छ ।

वर्तमान अध्यक्ष दधि आचार्यले यस्ता खाले परोपकारी कार्यक्रम बेलायतका विभिन्न भेग र उद्देश्यका लागि गरिने जनाए । आचार्यले गत महिना नेतृत्व सम्हालेपछि संस्थाले लगत्तै च्यारिटी कार्यक्रम गरेको हो ।

महासचिव भूपन्द्र पाठकले सञ्चालन गरेको कार्यक्रममा संयोजक कृष्ण ढकालले स्वागत मन्तव्य दिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्षत्रय पुनम गुरुङ, शेरबहादुर सुनार र प्रेमगाहामगर, नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी, मनकामना महिला समूहकी उपाध्यक्ष देवी सापकोटा, गल्कोट नेपाली समाज यूके अध्यक्ष राजु कंडेल, सिर्जनशील समाजकी कोपिला अधिकारी, शान्ति नेपाली समाज यूके अध्यक्ष लिला बहादुर थापा, हाम्रो नेपाली समाज अध्यक्ष शिव खरेल, नटिंगहम नेपाली समाज अध्यक्ष गोविन्द खरेल, संस्थाको अधिवेशनमा नेतृत्व चयन गर्न गठित निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडा, आयुक्त फडिन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

करिब ५ सय सेफहरु सहभागी उक्त कार्यक्रममा विभिन्न 
संघसंस्थाका प्रतिनिधि, व्यवसायी, पत्रकार लगायतको उत्साहजनक उपस्थिति थियो ।

कार्यक्रममा चर्चित कलाकारहरु प्रिती आले, कुलेन्द्र बिक, अर्जुन काफ्ले, दीपाशा ‘जलपरी’ लगायत स्थानीय कलाकारहरु शिक्षा पौडेल, चञ्चल पन्थीको प्रस्तुति बेजोड रहयो । प्रितीको नयां पुरानो ब्याटल होस् वा कुलेन्द्रको ‘सालको पात…’, दर्शकहरु ‘वान्समोर’ भन्दै नाचिरहे । जलपरीको ‘सेक्सी’ नाचमा नझुम्मिने कमै थिए । अर्जुन र प्रितीको दोहोरीमा रमाउने दर्शक पनि असंख्य थिए ।

उक्त अवसरमा कलाकार र सहयोगीलाई सम्मान गरियो ।

तस्विरहरु- राजेन्द्र पौडेल

प्रतिक्रिया

सम्बन्धित सामाग्री