सोमबार, भदौ २ २०७६ | Mon, August 19, 2019
नेपालको समय: १०:१५ | UK Time: 05:30

बुद्ध र देवताहरु

टेक बहादुर थापा 'बुद्धप्रिया '
२०७६ जेठ ५ गते १९:४९

टेकबहादुर थापा

पूर्वीय दर्शनमा तेत्तीस कोटी देवीदेवताहरुको चर्चा हुन्छ । हिन्दु धर्ममा मात्र होइन, बौद्ध, जैन आदि धर्ममा पनि देवीदेवताहरुको महत्व रहेको पाइन्छ । देवलोकबाट देवताहरु भगवान बुद्धसंग ज्ञान आर्जन गर्न आउने गरेको उल्लेख बौद्ध शास्त्रहरुमा भेटिन्छ । यस तथ्यलाई भागवत गीताले पनि स्वीकार गरेको छ  । गीतामा  भनिएको छ – “देवताहरुले पनि धर्मलाई ठीक, ठीकसंग जान्न सक्दैनन्”  । प्रश्नोपनिषदमा देवीदेवताहरु भगवानको प्रार्थना गर्दछन् भनि बताइएको छ -” हे प्रभु ! जसरी मातापिताले आफ्ना छोराछोरीको रक्षा गर्दछन् त्यसरी नै तपाईले  पनि हाम्रो रक्षा गर्नु भएको छ ।”
बौद्ध शास्त्र “सुत्तनिपात अठ्ठ्कथा ” मा उल्लेखित अटठतिस मंगल -सुत्र  भगवान बुद्धले देवताहरुलाई गर्नुभएको उपदेश हो । शास्त्र अनुसार एकसमय मंगलका बारेमा मनुष्य लोकमा ठूलो मत भिन्नताहरु भयो । मंगल भनेको के हो ? मंगल कति प्रकारका छन् ? जस्ता  प्रश्नहरुका बारेमा राजगृह नगरको सभामण्डपमा भेला भएका मानिसहरुबीच छलफल भयो । सबैले आआफ्ना धारणाहरु राखे तरपनि मंगलका बारेमा निष्कर्ष निकाल्न सकेनन् । मत भिन्नताहरु कायम रहयो । यो कुरा देवलोकसम्म पुग्यो । देवताहरुले पनि यसबारेमा यथेष्ट छलफलहरु गरे । तर, उनीहरु पनि टुंगोमा पुग्न सकेनन् । अन्तत मंगलबारेको प्रस्ताव लिएर देवताहरु इन्द्रलोक गए । देवताहरुका राजा इन्द्रले पनि आफुलाई यस विषयमा राम्रो जानकारी नभएकाले सर्वज्ञ बुद्ध एकजनासंग मात्र यसबारे ज्ञान हुनसक्ने भएकाले देवताहरुलाई मंगल विषयको प्रस्ताव लिएर भगवान बस्नु भएको ठाउँमा जान आदेश गरे ।
देवता इन्द्रको आदेश अनुसार उनीहरु कोशल महाजनपदको राजधानी श्रावस्तीनगरमा अवस्थित जेतवन विहारमा पुगेका थिए । त्यस समय भगवान बुद्ध उक्त विहारमा बस्नु भएको थियो । हाल उक्त स्थान भारतको उत्तर प्रदेश प्रान्तको गोंडा- बहराइच जिल्लाबाट बाह्र मील पश्चिममा पर्दछ । त्यस स्थानमा पुगेर भगवानलाई अभिवादन गर्दै देवताहरुले आफ्नो प्रस्ताव यसरी गाथामा भनेका थिए –
” देसितँ देवदेवेन, सब्बपापविनासनं ।
 सब्बा लोकहितत्थाय, मंगलं भणाम हे ॥
अर्थात्, “भो भगवान, कल्याणका आकांक्षा गरी धेरै देवताहरु र मनुष्यहरूबीच मंगलको विषयमा वाद -विवाद चल्यो तर मंगल के हो भनि थाहा पाउन सकिएन । त्यसकारण हामीमा अनुकम्पा राखी मंगल विषय आज्ञा गर्नुहोस् ।” ती देवताहरुको यस किसिमको आग्रहपछि भगवानले देवताहरुलाई अठ्तीस मंगल उपदेश गर्नु भएको थियो । तिनै मंगल उपदेश भोलिपल्ट प्रिय शिष्य आनन्द स्थवीरलाई गर्नुभएको थियो र आनन्दले अरु भिक्षुहरुलाई सिकाउनु भयो । जसलाई मंगल-सुत्र भनिन्छ । यस किसिमका धम्म उपदेशहरु  भगवान बुद्धले देवताहरुलाई धेरै पटक गर्नुभएको बौद्ध शास्त्रहरुमा उल्लेख छ ।
माथि प्रस्तुत तथ्यहरुले देवता र बुद्ध एकै होइनन् भन्ने जिकिर गरेको छ । अत : भगवान बुद्ध र देवताहरु बीचको अन्तर बुझ्नका लागि सर्वप्रथम बुद्ध भनेको के हो ? देवताहरु भनेका के हुन् ? भगवान र देवतहरुमा के फरक छ ? बुद्ध देवता हुनुहुन्छ कि भगवान ? जस्ता  विषयहरुका बारेमा प्रष्ट हुन् जरुरी हुन्छ ।
सबैभन्दा पहिला भगवान शब्दका बारेमा नै चर्चा गरौं । भगवान शब्दको उत्पत्ति पाली भाषाबाट भएको मानिन्छ । पालिको भग्ग शब्दबाट भगवा, भगवतो हुँदै भगवान शब्दको निर्माण भएको हो । भग्ग र वान दुइ शब्द मिलेर बनेको भगवान शब्दको अर्थ राग, द्देष, मोह, लोभ, माया, आदि जस्ता क्लेशहरुको वन्दनबाट बाहिर आउनु भन्ने हुन्छ । भगवान शब्दलाई शाक्यमुनी बुद्धले  प्रयोगमा ल्याउनु भएको मानिन्छ । पाली भाषाको बुद्धकालीन एक गाथामा भनिएको छ –
 “भग्ग रागो, भग्ग मोहो, भग्ग दोसो अनासवो।
 भग्गस्स पापका धम्मा भगवातेनपाऊच्चित।”
यहाँ भग्गको अर्थ नष्ट र वानको अर्थ तृष्णा हुन्छ । त्यसैले जो मनुष्यले राग, द्देष, मोह, तृष्णा आदि क्लेशहरुलाई भग्ग गरेर पाप कर्मबाट मुक्त्त हुनसफल हुन्छ हो त्यस्ता महापुरुषलाई भगवान भनिन्छ । सामान्यतया भगवान र देवताहरुलाई समानार्थी शब्दका रुपमा बुझ्ने गर्दछौ जुन हाम्रो बुझाइमा भएको  खोट हो । ब्रम्हलोकमा बस्नेलाई ब्रम्ह, मनुष्यलोकमा बस्नेलाई मनुष्य भनिए जस्तै  देवलोकमा बस्नेलाई देवता भनिन्छ । देव शब्दमा “तल्”  प्रत्यय जोडिएर  देवता शब्दको व्युत्पत्ति भएको हो । बौद्ध शास्त्र अनुसार जसको उत्पत्ति कुसल कर्मलाई मानिन्छ । मनुष्य जुनीमा रहंदा शील पालना (राम्रो आचरण) र कुशल कर्म गरिएको छ भने उक्त मनुष्यलाई देवलोकको ढोका खुल्दछ । हिन्दु मान्यता अनुसार पनि एकसय पटक श्रमेव नामक यज्ञ गर्ने मनुष्यले देवलोकको बास पाउँछ । देवलोकलाई भोगलोक पनि भनिन्छ किनभने मनुष्यलोकमा गरेको पुण्य कर्मको फल खाएर बस्ने लोक भएको हुनाले भोगलोक भनिएको हो । भोग गरेर बस्ने लोक भएको हुनाले देवताहरुले आफुसंग भएको क्लेशहरु मेटाउने कर्म गर्न सक्दैनन । क्लेश मेटाउने मार्ग भनेको विपस्यना  हो जुन देवताहरुको मार्ग होइन ।
अर्जुनले महाभारतमा कृष्णलाई भनेकै छन् ,-“म यो सारा वायुलाई भेला पारेर एउटा थैलोमा हालेर राखिदिन सक्छु तर यो मनलाई एकाग्रह बनाई राख्न सक्दिनँ ।” त्यसैले देवतहरुमा लोभ, मोह, राग, द्धेष, जस्ता मिथ्या दृष्टिहरु रहेको पाइन्छ । तृष्णारुपी क्लेशहरु भएको हुनाले इन्द्र, कृष्ण, अर्जुन, बिष्णु, राम, शिव, सूर्य, अग्नि, वायु आदि देवता हुन् भगवान होइनन् ।
देवतहरुमा मिथ्या दृष्टि नहटेको हुनाले आर्य आष्टांगिक मार्ग उनीहरुमा हुदैन । देवताका राजा इन्द्रले आफ्नो भेष बदलेर गौतम ऋषिको भेष धारणा गरी गौतमकी पत्नी अहिल्यासंग व्यभिचार गरेका थिए । विष्णुले आफ्नो लागि भनी मागिएकी कन्यापछि कन्यादानका समयमा छल गरेर महादेवका हातमा हालिदिएका थिए । दक्ष प्रजापतिले यज्ञमा नबोलाएको रिसमा महादेवले आफ्नो अपमान भएको ठानी दक्ष  प्रजापतिको टाउको काटेर बोकाको टाउको लगिदिएका थिए । महादेव काम, क्रोध, मोह आदिका प्रतीक हुन् भन्ने कुरा सतीदेवीको लास बोकेर महिनौं हिंडेको कथाबाट प्रष्ट हुन्छ । श्वोर हजार, एकसय, आठ जना गोपिनीहरुसंग राशलीला गर्ने कृष्ण कनैयाले गर्दा नै महाभारत युद्धमा त्यत्रो विनाश भएको थियो । युद्ध गर्न नचाहेका अर्जुनलाई युद्धको लागि प्रेरित गर्ने कृष्ण सम्यक दृष्टि राख्दैनथे भन्ने प्रमाण हो महाभारत युद्ध । राम तुलनात्मक रुपमा ज्ञानी, आज्ञापालक जस्ता देखिए पनि पत्नी सीता उपर दयावान हुनसकेको देखिंदैन । रावणले हरेर लगेकी सीतालाई हनुमान मार्फत ल्याएपछि परीक्षणको नाममा आगोमा जलाउने कार्य भगवानको गुण भित्र पर्दैन । यी तथ्यहरुबाट प्रष्ट हुन्छ इन्द्र ,राम, कृष्ण, बिष्णु, शिव, अर्जुन आदि देवता थिए भगवान थिएनन् । उसो भए भगवान को हो त ? शाक्यमुनी बुद्ध देवता हुनुहुन्छ कि भगवान ?
बौद्ध मत अनुसार शाक्यमुनी बुद्ध अठ्ठाइसौं बुद्ध हुनुहुन्छ । शाक्यमुनी बुद्धभन्दा अघिका सताईसौँ बुद्धलाई दीपंकर बुद्ध भनिन्छ । दीपंकर बुद्धको पालामा सुमेध नामक भिक्षु भएर शाक्यमुनी बुद्धले जन्म लिनु भएको थियो । सुमेध भिक्षु हुनुभन्दा पहिला सातपटकसम्म इन्द्र देवता भएर जन्म लिनुभएको थियो । भिक्षु सुमेध पछि राजकुमार सिद्धार्थ भएर जन्मनु भयो । उहाँलाई शाक्यमुनी बुद्ध हुनुलाई चार असंख्य कल्प लागेको थियो । हो, उनै राजकुमार सिद्धार्थ नै शाक्यमुनी बुद्ध हुनुहुन्छ । बुद्ध भनेको सम्पूर्ण क्लेशहरु हटाएर चार आर्य सत्य ज्ञान प्राप्त गरेको महापुरुषलाई बुद्ध भनिन्छ । त्यसैले बुद्धको लागि न कोही प्रिय न कोही अप्रिय थिए ।  उहाँ सबैप्रति उपेक्षा भाव राख्नु हुन्थियो । अष्ठ विद्याले सम्पन्न हुनुहुन्थ्यो । लोकको विद् हुनुहुन्थ्यो । मनुष्य र जनावरहरुलाई आफ्नो प्रभावमा राख्नसक्ने अनुपम ज्ञान उहाँसंग थियो । मनुष्य र देवताका मार्ग दर्शक समेत हुनुभएकाले शाक्यमुनी बुद्ध भगवान हुनुहुन्छ ।

भगवान बुद्ध बत्तीस लक्षण र असी अनुब्यंजनद्वारा युक्त हुनुहुन्थ्यो । उहाँको शरीर सामान्य मानिसहरुको भन्दा फरक थियो । एकदिन द्रोण नामक ब्राम्हणले बाटोमा अनौठो पाइला देखे । त्यो पाइला मनुष्यहरुको भन्दा भिन्न थियो । एक समानका औँलाहरुको छाप थियो । पैतालामा फूल जस्ता चक्रहरु थिए । द्रोण ब्राम्हण विद्वान भएकाले ती पाइलाहरुलाई उनले सामान्य रुपमा लिएनन् । उनलाई ती पाइला समान्य मानिसको होइन भन्ने लाग्यो र उनले पाइला पिछा गर्दै गए । यसरी ती पाइलाहरु पिछा गर्दै गएको केही समयपछि तपस्यारत एक भिक्षुलाई देखे । ती तपस्वीको शरीर अनौठो प्रकारको थियो । टाउकोको अगाडिको भाग केही माथि उठेको थियो । शरीरको छाला पहेलो थियो । शरीर पूरै चिल्लो, धुलो पनि नटाँसिने प्रकारको थियो । निधारको बिचको भाग भुँमरी परेको थियो । अनुहार पूरै शान्त थियो । यी अनौठा लक्षणहरु देखेर द्रोण ब्राम्हणले भगवान बुद्धलाई सोधेका थिए -“तपाई देवता, गन्धर्व, यक्ष, मनुष्य के हो ?” बुद्ध भगवानले जवाफ दिँदै भन्नु भएको थियो -“हे ब्राम्हण ! म देवता, गन्धर्व, यक्ष , मनुष्य केही होइन , बुद्ध हुँ ।”  त्यसैले सम्पूर्ण क्लेशहरु नष्ट गरी सम्मासं बुद्धो हुनुभएका तथागत देवता होइन भगवान हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक