बेलायती वयस्कहरु संसारमै सबैभन्दा बढि रक्सी पिउंछन्

लन्डन । एउटा विश्वव्यापी सर्वेक्षणले बेलायती वयस्कहरुले संसारमै सबैभन्दा बढि रक्सी पिउने गरेको देखाएको छ ।

१२ महिनाको अवधिमा बेलायती वयष्कहरुले औसत ५१.१ पटक रक्सी पिएको पाइएको छ, जुन झन्डै हप्तामा एक पटक हो । तर, संसारका ३६ मुलुकमा गरिएको सर्वेक्षणले औसत वयस्कहरुले वर्षमा ३३ पटक मात्र रक्सीजन्य पेय पिउने गरेको देखाएको छ ।

बेलायतपछि अमेरिका, क्यानडा र अस्ट्रेलियाका वयस्कहरु सबैभन्दा बढी रक्सी पिउनेमा छन् । आठ वर्षसम्म गरिएको विश्वव्यापी ‘ग्लोबल ड्रग्स सर्भे’ ले त्यस्तो देखाएको हो । अनुसन्धादाताहरुले विश्वव्यापी रुपमा एक लाख २० हजार जनासंग सर्वेक्षण गरेका थिए जसमा इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डकामात्र ५ हजार चारसय वयस्कसंग 
प्रश्न सोधिएको थियो ।

यस अघि बेलायतमा गरिएको एक सर्वेक्षणले १० वर्ष अघिको तुलनामा बेलायती वयस्कहरुले कम रक्सी पिउन लागेको जनाएको थियो । विशेषज्ञहरुले वयस्क पुस्ताको तुलनामा सहस्राब्दी पुस्ता भनिने युवायुवतीहरुले कम रक्सी पिउने गरेको बताएका थिए ।

ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले वयस्कहरुले सातामा १४ युनिट (झन्डै ६ पिन्ट बियर) भन्दा बढि पिउन नहुने सुझाएको छ ।

ग्लोबल ड्रग्स सर्भेका संस्थापक प्राध्यापक एडम विन्स्टकले भनेका छन्, ‘रक्सी पिएर मातेको मान्छेलाई चोटपटक लाग्ने खतरा मात्रै होइन, स्वास्थ्यलाई पनि धेरै बढि जोखिम हुन्छ ।’

उनले ब्रिटिशहरुलाई अन्य युरोपेली मुलुकका वयस्कहरुको जस्तै थोरै पिउने बानी बसाल्न पनि सुझाव दिएका छन् ।

इंग्ल्याण्डमा एक करोड मानिसले अल्कोहल सेवन गर्ने गरेको पाइएको छ । बेलायतको अल्कोहल उद्योग १३ बिलियन पाउण्ड बराबरको रहेको तथ्यांक छ ।

पछिल्ला वर्ष बेलायतमा रक्सीका कारण हुने मृत्युदर बढिरहेको पाइएको छ । बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय (अफिस फर नेशनल स्टयाटिसटिक्स) का अनुसार, सन् २०१७ मा अल्कोहलका कारण ७ हजार ६९७ जनाले ज्यान गुमाएका थिए ।

उता, इंग्ल्याण्ड र वेल्समा धेरैजसो हिंसात्मक अपराधिक घट्ना अल्कोहल सेवनपछि भएका तथ्यांकले देखाएका छन् । सन् २०१६, २०१७ मा रक्सी सेवनका कारण ४ लाख ६४ हजार घट्ना भएका थिए जुन कुल हिंसात्मक अपराधको ४० प्रतिशत हो ।

सन् २०१७ देखि ०१८ सम्म इंग्ल्याण्डमा अल्कोहलका कारण ११ लाख जना मानिस अस्पताल भर्ना भएका थिए । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री