लन्डन आएर नेवा भोजमा गायक प्रेमध्वज

लन्डन । पासा पुचः गुथि यूके साउथ इष्ट लन्डनले शनिबार उलवीचमा आयोजना गरेको नेवा भोज (गुथि भ्वय) मा नेपाली संगीतका मुर्धन्य श्रष्टा वरिष्ठ गायक प्रेमध्वज प्रधान सरिक भए । प्रमुख अतिथी गायक प्रधान, विशेष अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी लगायत करिब दुईसय ५० जनाले पलेटी कसेर लप्टेमा भ्वय ग्रहण गरे ।

त्यसअवसरमा बेलायतबासी नेवार समुदाय मात्र नभएर गैरनेवार नेपाली र विदेशी समेत उपस्थित थिए । 

नेवार समुदायको सांस्कृतिक पर्व ‘गुठि भ्वय:’ मा करिब ४ दर्जन नेवारी परिकार समावेश थिए । मौलिक शैलीमा लप्टेमा पस्किएका परिकारको स्वाद लिन सहभागीहरु पलेंटी कसेरै बसेका थिए । भोजमा परम्परागत शैलीमा घरमै तयार पारिएको रक्सी र जुजु धौ लगायत पनि थिए । 

भोजमा परिकारहरु तयार पार्न संस्थाका २१ महिला तथा १० जना पुरुषले स्वयमसेवकको रुपमा सहयोग गरेका थिए । 

भोजको लागि ज्येष्ठता र वरिष्ठताका आधारमा गायक प्रेमध्वज प्रधान, राजदूत डा दुर्गाबहादुर सुवेदी, रामप्रसाद प्रजापति, रजनी प्रधान र विमल कक्षपतिलाई नाइके चयन गरिएको थियो । 

गायक प्रेमध्वज प्रधानले नेवारी भाषाको आफ्नो बहुचर्चित गीत ‘राजामती…’ समेत गाएर सुनाए । नेवारी संस्कृतिबिना नेपाली संस्कृति अधुरो हुने चर्चा गर्दै राजदूत सुवेदीले बेलायतमा नेपाली संस्कृति र मौलिकताको संरक्षण गर्न भोजले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

औपचारिक समारोहमा समाजसेवी शिवजी श्रेष्ठले गायक प्रेमध्वज प्रधानलाई प्रमुख अतिथी पाउनु गर्वको कुरा भएको उल्लेख गर्दै गायकको ‘करियर’ बारे बताए ।  

त्यसअवसरमा पासा पुचः यूकेका अध्यक्ष ओजेश सिंह तथा पूर्व अध्यक्षहरु कुमार श्रेष्ठ र कपिल श्रेष्ठ, पासा पुच साउथ ईस्ट लण्डनका पूर्व अध्यक्षहरु चुत्रबहादुर श्रेष्ठ र मनिष श्रेष्ठ लगायत विशेष अतिथिको रुपमा सहभागी थिए । 

आयोजक पासा पुचः साउथ इष्ट लण्डनका अध्यक्ष सुशिल प्रजापतिले भोजमा सहभागी तथा तयारीमा सहयोग पुरयाउने सबैप्रति आभार प्रकट गरेका छन् । बेलायतमै जन्मिएका, यतै हुर्किएका नयाँ पुस्तादेखि गैरनेवार नेपाली समुदाय र विदेशीहरुमाझ पनि नेवारी खाना र संस्कृतिको प्रबर्धन गराउनु भोजको लक्ष्य रहेको उनले जनाए ।

बेलायतमा विगत ४ वर्षदेखि हरेक वर्ष यो भोज आयोजना हुंदै आएको छ ।

तस्विरहरु- रुपक प्रजापति

प्रतिक्रिया

सम्बन्धित सामाग्री