आन्दोलनले गोर्खा समस्या समाधान गर्दैन् : राजदूत

फाइल तस्विर

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवदीले गोर्खा सत्याग्रहले थालेको सडक संघर्षप्रति आपत्ति प्रकट गरेका छन् ।

ट्वान्टीफो न्यूजप्रेस डट कमको पहिलो वार्षिकोत्सव कार्यक्रममा शनिबार अन्डरसटमा राजदूत डा. सुवेदीले आन्दोलनले समस्याको समाधान नगर्ने ठोकुवा गरे । भूतपूर्व गोर्खाहरुको असमान पेन्सनप्रति गोर्खा सत्याग्रहले अघि सारेको संर्घषप्रति संकेत गर्दै सुवेदीले भने, ‘आन्दोलन, घेराउ र संघर्षले समस्या समाधान गर्दैन् ।’

राजदूत सुवेदीले बेलायत बसोवास गर्ने भूतपूर्व गोर्खाका लागि बेलायत छहारी भएकाले बेलायतको नुन खाएपछि यहां कानूनलाई सम्मान गर्न आग्रह गरे । बेलायतलाई गालीमात्र गरेर समस्या समाधान नहुने दावी गर्दै उनले नेपाल र बेलायतलाई जोडेर बांच्न सक्नुपर्ने बताए । नेपाल सरकार र दूतावासको पहलमा गोर्खा समस्या धेरै हदसम्म समाधान भइरहंदा भूपू गोर्खाहरुको अचानक आन्दोलन घोषणालाई राजदूत डा. सुवेदीले सहज रुपमा लिएका 
छैनन् । गोर्खा समस्या समाधानका लागि बेलायती मन्त्रीले घोषणा गरेको विशेष प्याकेजप्रति भूतपूर्व गोर्खाले असहमति जनाएपछि पहिलो पटक राजदूत सुवेदी कडा रुपमा प्रस्तुत भएका थिए ।

गत मार्च अन्तिम साता नेपाल सरकारले गरेको लगानी सम्मेलनमा बेलायतबाट जम्मा ९ जना प्रतिनिधिले मात्र भाग लिएकोमा पनि उनले असन्तुष्टि जनाए । राजदूत सुवेदीले गैरआवासीय नेपाली संघ यूकेलाई लगानीको ठूला गफ गर्न छाडेर सानै भएपनि लगानी गर्न आग्रह गरे । ‘ठूला कुरा गरेर टुप्पाबाट काम सुरु गर्ने होइन्, बरु सानो कुरा गर्नुहोस् र सानैबाट काम सुरु गर्नुहोस्’- डा सुवेदीको सुझाव थियो ।

एनआरएनले अर्वौ रुपैयां लगानीको गफ दिएपनि काम हुन नसकेकोप्रति राजदूतको असन्तुष्टि थियो । नेपालमा लगानी प्रेरित गर्न भन्दै दूतावासमा आधा दर्जन कार्यक्रम भइसक्दा पनि त्यसको अनुशरण नभएपछि 
राजदूतमा वितृष्णा पैदा भएको हो ।

कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीका हक अधिकारका लागि एनआरएनएले काम गरिरहेको बताए । एनआरएनएका संरक्षक रामप्रताप थापाले नागरिकता निरन्तरताका लागि निरन्तर दवाव र संवाद जारी राख्नुपर्ने बताए । 
अस्ट्रेलियाका लागि अवैतानिक वाणिज्यदूत दीपक खड्काले एनआरएनएले नेपालमा लगानी गर्नका लागि प्रणालीगत सुधार गर्नुपर्ने जनाए । एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले नागरिकता, भूतपूर्व गोर्खाका अधिकार र लगानीका लागि निरन्तर काम गरिरहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट र नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले गैरआवासीय नेपालीको समस्या समाधाका लागि प्रेस जगतले सहयोग गर्ने वचन दिए । नेपाल पत्रकार महासंघ यूके शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेलले डायष्पोरामा नेपाली अनलाइन मिडिया बलियो हुनुलाई महासंघले सकारात्मक रुपमा लिएको बताए ।

वार्षिकोत्सवमा एनआरएनए सह-कोषाध्यक्ष सोम सापकोटा, एनआरएनए आइसीसी सल्लाहकार सुरेन्द्र श्रेष्ठ, एपी वान टेलिभिजनका महाप्रवन्धक विकास लामिछाने, एनआरएनए अभियन्ताहरु मे. (रि) डमर घले, सूर्य गुरुंग, विश्वआदर्श पण्डित, दयानिधि सापकोटा, एनआरएनए पोर्चुगल अध्यक्ष कुवेर कार्की, जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, एनआरएन यूके वेल्स् राज्यपरिषद्का 
रामचन्द्र पोखरेल, स्कटल्याण्डका लिलाराम निउरे, यती एसोसिएसनका कृष्ण पौडेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।

ट्वान्टीफो न्यूजप्रेस डट कमका अध्यक्ष विनय अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार नृपेश उप्रेतीले गजल वाचन गरेका थिए भने मिसेस यूके नेपालका विजेताले नृत्य प्रस्तुत गरे ।

पहिलो वार्षिकोत्वसका अवसरमा एपीवान टेलिभिजनले भूतपूर्व गोर्खा समस्या, नागरिकता र लगानीका बारेमा छुटाछुट्टै वहस समेत गरेको थियो । टिभी प्रस्तोता टिकाराम यात्रीले वहस चलाएका हुन् ।

यसैवीच, ट्वान्टीफो न्यूजप्रेस डट कमले विभिन्न व्यक्तिलाई अवार्ड समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री