‘आर’शालामा शान्ति ठटालका सृजना

काठमाडौं, जेठ १८- नेपाली आधुनिक संगीतकी मूर्धन्य संगीतकार शान्ति ठटालले पलेँटी शृङ्खलामा आफ्ना सृजनाहरू प्रस्तुत गरेकी छिन् । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा भएको पलेँटीमा उनले बनाएका डेढ दर्जन जति गीत समेटिएका थिए । सन् २००६ देखि प्राय वर्षेनी पलेँटीमा प्रस्तुत भएकी शान्तिले यसपालीको कार्यक्रम निम्ति धेरै जस्तो नयाँ गीत छानेकी थिइन् । साथै उनका ती सांगीतिक रचनाहरू प्रस्तुत गर्नका निम्ति उनकै शिष्याहरू बिमला सेन्चुरी प्रधान र अञ्जली प्रधानले साथ दिएका थिए ।

कार्यक्रमलाई पलेँटीका संयोजक तथा संगीतकार आभासले संचालन गरेका थिए । आभासले संगीतकार शान्ति ठटालसँगको सांगीतिक संगतमा आधारित रहेर आफ्नो संस्मरण वाचन गरेका थिए । आभासले आफ्नो संस्मरणमा शान्ति ठटाललाई मालति फूलसँग तुलना गर्दै ठटाललाई ‘संगीत-मल्लिका’को विशेषणले सम्वोधन गरेका थिए ।

कार्यक्रमको थालनी भजनबाट भएको थियो । श्याम प्रधानको शब्द रचनाबाट कार्यक्रम थाल्दै गर्दा आभासले भने- ‘शान्ति ठटालसँग मैले आध्यात्मिक वार्ता पनि गरेको छु । उहाँमा प्रगतिशील आध्यात्मिकताको चिन्तन छ । भजनको माध्यमले मानिसमा नैतिक सोच निर्माण गर्ने प्रयत्न गर्नु प्रगतिशील चिन्तन हो ।‘

भजनपछि नेपाली आधुनिक गीत लेखनका प्रणेता रत्न शमशेर थापाद्वारा रचित तीनवटा गीत प्रस्तुत भएका थिए । गायिका बिमला सेञ्चुरी प्रधानले ‘तिर्सना छल्किन्छ’ र ‘मलाई चोट फेरि’मा स्वर दिएकी थिइन् । अञ्जली प्रधानले भने ‘आँखा आँखामा वैँशको मात’ सुनाएकी थिइन् ।

कार्यक्रममा शान्ति ठटालले तीन हप्ता पहिले काठमाण्डौ भित्रिएर सृजना गरेको सबैभन्दा कान्छो संगीत पनि प्रस्तुत भएको थियो । गजल शैलीको नयाँ गीतका बारेमा आभास भन्दै थिए- ‘शान्ति ठटाल दिदीसँगको सांगीतिक सहकार्यको लोभले हो मैले दुई हप्ता पहिले उहाँले बजाउँदै गरेको हार्मोनियम माथि केही गीतका शब्द छोडेर हिंडेको थिएँ । उहाँले भोलिपल्टै त्यसमा भरेको संगीत सुनाउनु भयो । उहाँको क्षमता साँच्चै अद्भूत छ । शान्ति दिदीले यति छिटै यति स्तरिय धुन भरेकोमा म चकित भएको छु ।‘ आभासले प्रतिक्रिया जनाएको त्यो नयाँ सृजनालाई बिमलाले स्वर दिएकी थिइन्- ‘जीवन चुपचाप गुजारेँ त के भो ? तिमीले जित्यौ म हारेँ त के भो ?’

शान्ति ठटाललाई यसपाली पलेँटीले संगीतकारको रुपमा मात्र प्रस्तुत गर्न खोज्दा खोज्दै पनि प्रसंशकहरूको हार्दिक अनुरोधका कारण उनले गीत नगाइ धर पाइनन् । उनले भनिन्- ‘हुन त म गायनबाटै संगीतमा प्रवेश गरेकी हुँ ! गाउन मन पनि लाग्छ तर अब गाह्रो हुन्छ‘ आठ दशक पार गरिसकेकी ठटाल भन्दै थिइन् । ‘ल एउटा मात्र सुनाउँछु है त ।‘ उनले ध्यान मग्न हुँदै सुनाइन्- ‘नझार आँखाबाट कसैका प्रीतहरू’ । उनको स्वर सुनेसँगै ‘आर’शाला तालीले गुञ्जियो । त्यो गीतको समापनसँगै श्रोताको उत्साह झन् चुलियो र फर्माइस् भयो- ‘खै त तपाईंको ‘एन्थम’ अर्थात् ‘सम्हालेर राख’ ? ‘आज त एउटा मात्र पो गाउँ भनेको’ भन्दै गरेकी शान्तिले फेरि हार्मोनियममा औंला चाल्दै उनको पहिचान बोकेको गीत ‘सम्हालेर राख’को उठान गरिन् । ‘आर’शाला फेरि तालिले गुन्जायमान भयो । गायन सक्नासाथ शान्ति ठटालको मुहारमा झल्किएको हाँसोले पलेँटीको मञ्च झन् खुलेको देखिन्थ्यो ।

शान्ति ठटालले संगीतका चौतर्फी विधामा सिद्धता हासिल गरेकी छन् । उनले संगीत भरेका चलचित्रका गीत नेपाली संगीत संसारमा निकै लोकप्रिय मानिन्छन् । चलचित्रका गीत प्रस्तुत गर्ने क्रममा संगीत भरेर पनि आन्तरिक कारणले रेकर्ड हुन नपाएको रचना पनि समेटिएको थियो । गायिका अञ्जली प्रधानले सुनाएको गीत ‘कसैलाई सम्झिदिन्छु फूल देखे बनभरि’ गीतकार ईश्वर बल्लभले गुरुप्रसाद मैनालीको कथा ‘बिदा’मा आधारित चलचित्रका निम्ति लेखेका रहेछन् । शान्ति ठटालले भनिन्- ‘चलचित्रका निम्ति कवि ईश्वर बल्लभले लेख्नुभएको एउटा गीत र भजनमा धुन भरेकी थिएँ । त्यहीताका म जागिरे भएर सिक्किमतिर लागेँ र त्यस चलचित्रमा पछि दिब्य खालिङले संगीत भरे ।‘ त्यसपछि गायिका बिमला सेञ्चुरीले चलचित्र ‘बाँच्न चाहने’हरूका दुईवटा लोकप्रिय गीत ‘नयाँ नयाँ घामको किरण’ र ‘मिठो मिठो तिम्रो साथ मिठो’ प्रस्तुत गरिन् । कार्यक्रमको समापन भने ताल प्रधान रमाइला गीतहरूबाट भएको थियो ।

कार्यक्रमको अन्तमा शशी ठटालले लेख्नु भएको लोकप्रिय गीत ‘मायालुले सम्झे कि कसो’ प्रस्तुत गर्दा ‘आर’शालामा उपस्थित धेरै दर्शक, श्रोताका ओठहरू पनि सँगसँगै चलमलाएका थिए ।

आगामी पलेँटीमा शान्ति ठटालले नै धुन भरेको महाकवि देवकोटाको कृति ‘मुनामदन’ प्रस्तुत हुने जानकारी पनि गराइएको थियो ।कार्यक्रममा शान्ति ठटाललाई किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गीतारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिएका थिए ।

शान्ति ठटालसँगको पलेँटी शनिबार र आइतबार पनि जारी रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री