प्रधानमन्त्री टेरेजा मेको १०५९ दिन


लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले १०५९ दिनपछि आफ्नो जिम्मेवारीबाट विश्राम लिएकी छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएसंगै उनको प्रधानमन्त्री पद पनि ‘कामचलाउ’ भएको छ । ‘ब्रेक्जिट’ पार लगाउन नसक्नु नै उनको राजीनामाको कारक बन्यो ।

मेले ब्याकबेन्च १९२२ कमिटीसमक्ष ७ जुन शुक्रबार राजीनामा दिएसंगै अब पार्टीले उनको उत्तराधिकारी चयन प्रक्रिया अगाडि बढाउने छ ।

संसदमा बहुमत रहेको कन्जरभेटिभ दलको नेता नै प्रधानमन्त्री हुने भएकाले अर्को नेता नचुनिएसम्म मे नै काम चलाउ प्रधानमन्त्री हुनेछिन् । जुलाई २२ सम्म नयां नेता चुनिइसक्ने योजना अनुसार मे अरु ६ साता प्रधानमन्त्रीकै रुपमा रहने बेलायती अखबारहरुले जनाएका छन् ।

युरोपेली संघबाट बेलायतको बहिगर्मन 
(ब्रेक्जिट) सम्बन्धि सम्झौता संसदबाट पारित गराउने आफ्नो प्रयत्न तीनपटकसम्म विफल भएपछि अन्ततः करिब तीनवर्षपछि मेले पद त्याग्नु परेको हो । जनमत संग्रहमा बहिगर्मन पक्षको जित भएपछि तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले २४ जुन, २०१६ मा राजीनामा दिएका थिए । 
क्यामरुनको राजीनामापछि त्यतिबेला गृहमन्त्री रहेकी मेले १३ जुलाई, २०१६ मा प्रधानमन्त्रीको 
जिम्मेवारी सम्हालेकी थिइन् ।

१० जुनबाट दलको नयां नेता चयन गर्न उम्मेदवारी आव्हानका लागि ब्याकबेन्च १९२२ कमिटीको तयारी छ । नेता बन्ने दौडमा प्रवेश गर्न कम्तीमा ८ जना सांसदहरुले समर्थन गर्नुपर्नेछ जुन यसअघि दुईजनामात्र चाहिन्थ्यो ।

विभिन्न चरणका गोप्य ब्यालेटबाट जितेर आउने टोरी सांसदमध्ये दुईजनाको प्रतिष्पर्धा पार्टी सदस्यहरुको मतबीच हुनेछ । कन्जरभेटिभका ३१३ सांसद र करिब एक लाख ६० हजार सदस्य छन् ।

अहिलेसम्म बोरिस जोन्सन, माइकल गोभ, जेरेमी हन्ट, म्याट हयानकक, एन्ड्री लिड्सम, डोमिनिक राब, सजिद जाविद, इस्थर म्याकभे, रोरी स्टेवार्ट, मार्क हार्पर लगायत ११ जनाले दलको नेता लड्ने घोषणा गरेका छन् ।

युरोपियन युनियनसंग आफूले गरेको ब्रेक्जिट सम्झौता संसदबाट पारित गराउन कयौं प्रयास गरेपनि असफल भएपछि मेलाई राजीनामा दिन आफ्नै टोरी र विपक्षी लेबर पार्टीबाट व्यापक दवाव परेको थियो । टोरीको ब्याकबेन्च १९२२ कमिटी अध्यक्ष सर ग्राहम ब्राडीले प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा भेटेर पद त्याग्ने समय मागेपछि मेको नाटकीय पद त्याग घोषणा भएको थियो ।
प्रधानमन्त्री मेले गत २४ मेमा राजीनामा दिने घोषणा गर्दा भावुक हुंदै ब्रेक्जिट सम्झौता पारित गर्न नसकेकामा पश्चाताप लागेको बताएकी थिइन् । आफ्नो उत्तराधिकारीले जनमत संग्रहको भावना अनुरुप ब्रेक्जिट प्रक्रिया टुंग्याउन सकुन् भन्ने चाहना मेको छ ।

ब्रेक्जिटका कारण तीन वर्ष समयावधि मेका लागि निकै तनावपूर्ण रह्यो । गत डिसेम्बरमा आफ्नै दलका ४८ सांसदले मेविरुद्ध संसदमा अविश्वास प्रस्ताव समेत दर्ता गरे यद्यपि उनले विश्वासको मत जितिन् । सन् १९९७ मा मेडनहेड सांसद निर्वाचित भएपछि ६२ वर्षीया मेको राजनीतिक करिअर प्रधानमन्त्रीसम्म पुगेर विश्राम लिने मोडमा पुगेको छ । मार्गरेट थ्याचरपछि मे ब्रिटेनको दोश्रो महिला प्रधानमन्त्री भएकी थिइन् ।

महारानी एलिजावेथ द्वितीयले शासन गरेयता ग्रेट 
ब्रिटेनमा १५ जना नयां प्रधानमन्त्री भइसकेका छन् । तर यहां कस्तो राजनीतिक संस्कार छ भने एक पटक प्रधानमन्त्री पद बाट बहिर्गमन भएको नेता पुनः उही पदमा कहिल्यै फर्कंदैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री