प्रधानमन्त्री ओलीले बेलायती राजकुमार हयारीलाई भेट्ने


लन्डन । बेलायतको तीन दिने औपचारिक भ्रमणका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती राजकुमार हयारीबीच भेटघाट तय भएको छ । प्रिन्स हयारीसंग जुन ११ मंगलबार केन्जिङटन प्यालेसमा भेट तय भएको लन्डनस्थित दूतावास श्रोतले जनाएको हो ।

करिब दुई वर्षअघि नेपाल भ्रमण समेत गरेका ब्रिटिश राजकुमार हयारीले नेपाल अत्यन्तै चित्ताकर्षक मुलुक भएको बताउंदै आएका छन् । अफगानिस्तानमा गोर्खा सैनिकहरुसंगै बसेका हयारीले गोर्खालीको बहादुरी र आतिथ्यको पनि खुलेर प्रशंसा गर्ने गरेका छन् ।

भूकम्प गएको झण्डै एकवर्ष पछि नेपाल पुगेका हयारीले आफ्नो बसाइ लम्ब्याएर उत्तरी गोर्खाको एक गाउंमा गाउंलेहरुसंगै ढुंगा माटो बोकेर एक स्थानीय विद्यालयको पुनर्निर्माणमा सघाएका थिए ।

प्रधानमन्त्री ओली र बेलायती समकक्षी टेरेजा मेबीच ११ तारिखकै दिन दिउसो भेटवार्ता छ ।

नेपालका प्रधानमन्त्री १७ वर्षपछि बेलायत आउने भएपछि यहांको नेपाली समुदाय उत्साहित र आशावादी छ । प्रधानमन्त्री ओलीले भ्रमणका अवसरमा नेपाली डायस्पोरालाई समेत सम्वोधन गर्ने भएकाले उनीहरु आफ्ना कुरा राख्न आतुर छन् । आफ्ना प्रधानमन्त्रीसंग एनआरएनले दोहोरो नागरिकता र भूपू गोर्खाहरुले समान पेन्सन मुद्दा उठाउने बताएका छन् ।

बेलायती प्रधानमन्त्री मेको निमन्त्रणामा प्रधानमन्त्री ओली १० जुन सोमबार लन्डन उत्रने कार्यक्रम छ । तर, मेले गत शुक्रबार दलको नेताबाट राजीनामा दिइसकेकाले उनी यतिखेर कामचलाउ प्रधानमन्त्रीका रुपमा छिन् ।

बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको २०३ वर्ष पुगिसकेको छ । भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन सघाउने बताउंछन् लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी (ओबिइ) ।

‘प्रधानमन्त्री टेरेजा मेले छिट्टै सरकार छाड्न लागेको भए पनि ब्रिटिश सरकारको संयन्त्र भने स्थायी र व्यावसायिक छ । म भ्रमणको स्वागत र सफलताको कामना गर्दछु’, सुवेदीले भने । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री