त्रिपक्षीय सन्धि पुनरावलोकन गर्न नेपालको बेलायतसित प्रस्ताव

तस्वीर- नवीन पोखरेल

लन्डन । बेलायतको तीनदिने भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत भ्रमणका क्रममा मंगलबार समकक्षी टेरेजा मेसँग भेट गरी गोरखा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धि पुनरावलोकनको प्रस्ताव राखेका छन् ।

बेलायती प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ मा भएको करिब आधा घण्टा लामो भेटमा उनले नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय सन्धि पुनरावलोकन गर्न प्रस्ताव राखेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । प्रधानमन्त्रीले  गोर्खा सरोकारलाई गम्भीरतापूर्वक सम्बोधन गर्न मेलाई ध्यानाकर्षण गराएका थिए ।

बेलायती प्रधानमन्त्री मेले राजीनामा दिइसकेकाले नेपालका प्रधानमन्त्रीको १७ वर्षपछिको बेलायत भ्रमणमा कुनै पनि किसिमको सम्झौता हुन सकेन । ‘सहयोगभन्दा पनि मित्र राष्ट्रबीच सहयोग सुदृढ गर्ने कुरा महत्त्वपूर्ण हो,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘बेलायतको सहयोग निरन्तर भई नै रहेको छ । हामीले यसपटक प्रविधि हस्तान्तरण र लगानीका क्षेत्रमा सहयोग गर्न जोड दिएका छौँ ।’

प्रधानमन्त्री ओलीले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिको व्याख्या गर्दै राजनीतिक संक्रमणपछि नेपाल आर्थिक विकासमा केन्द्रित रहेको बताएका थिए । परराष्ट्रमन्त्रीका अनुसार उनले नेपालको विकास प्रयासमा अझ बृहत्तर सहयोग गर्न बेलायतसँग आग्रह गरेका थिए । ओलीले विकासका साथै प्राकृतिक विपत्ति जस्तै भूकम्पका बेला बेलायतको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

बेलायती समकक्षी मेले परिवर्तनका लागि नेपाललाई बधाई दिँदै बेलायतको सधैँ दृढ समर्थन र ऐक्यबद्धता रहेको विश्वास दिलाएकी थिइन् । दुवै मुलुक राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्य भएका नाताले मानवअधिकारका विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री ओलीले गोर्खा समस्याबारे कुरा उठाएका थिए । गोर्खाहरू बेलायत-नेपाल सम्बन्धको अत्यन्त महत्त्वपूर्ण कडी भएकाले उनीहरूको समस्याबारे छलफल गरेर अगाडि बढ्ने आश्वासन मेले दिएको मन्त्री ज्ञवालीले बताए ।

भेटमा ओलीले कूटनीतिक सम्बन्ध स्थापनाको दुई शताब्दी बढी समयमा पनि बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण नभएकोप्रति ध्यानाकर्षण गराउँदै उच्चस्तरीय भ्रमण शृंखला जोड्न आग्रह गरेका थिए । प्रत्युत्तरमा मेले आफ्ना उत्तराधिकारीले भावी दिनमा भ्रमणलाई प्राथमिकता दिने जनाएकी थिइन् ।

तस्वीर द रोयल फ्यामिली

यसैबीच, प्रधानमन्त्री ओलीले बेलायती राजकुमार हयारीसँग पनि मंगलबार भेट गरे । केन्जिङटन प्यालेसमा भएको आधा घण्टा लामो भेटमा द्विपक्षीय सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । भेटमा ओलीले प्रिन्स हयारीलाई भूकम्पका बेला गरेको सहयोगप्रति धन्यवाद दिएका थिए ।

करिब दुई वर्षअघि नेपाल भ्रमण गरेका हयारीले नेपाल अत्यन्तै चित्ताकर्षक मुलुक भएको बताउँदै आएका छन् । अफगानिस्तानमा गोर्खा सैनिकहरूसँगै बसेका हयारीले गोर्खालीको बहादुरी र आतिथ्यको खुलेर प्रशंसा गर्दै आएका छन् । भूकम्प गएको झन्डै एक वर्षपछि नेपाल पुगेका हयारीले आफ्नो बसाइ लम्ब्याएर उत्तरी गोरखामा गाउँलेहरूसँगै ढुंगा र माटो बोकेर विद्यालय पुनर्निर्माणमा सघाएका थिए ।

ओली र बेलायतको प्रमुख प्रतिपक्षी दल लेबरका नेता जेरेमी कोर्बिनबीच पनि भेटवार्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री