नेकपाका प्रवास संगठनको एकता केही हप्तामै टुंगिने

तस्वीर- एभरेष्ट गौतम

लण्डन । बेलायत भ्रमण आएका प्रधानमन्त्री केपी शर्मा ओलीसित नेकपाका युकेस्थित भातृसंगठनका नेतृत्वले भेटघाट गरेका छन् ।

नेपाली दूतावास लण्डनमा मंगलबार बिहान भएको सो भेटघाटमा नेकपाका युकेस्थित भातृसंगठनहरु प्रवासी नेपाली मञ्च युके र जनप्रगतिशील मञ्च युके नेतृत्वको उपस्थिति थियो । प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनी र जनप्रगतिशील मञ्च युकेका अध्यक्ष सुरेश गौतमको टोलीले प्रधानमन्त्रीसित संयुक्त भेट गरेको थियो ।

तत्पश्चात परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसित दुवै संगठनको टोलीले विस्तृत छलफल गरेको थियो । छलफलका क्रममा परराष्ट्र मन्त्री ज्ञवालीले नेकपाका प्रवासस्थित संगठनहरुको एकता केही हप्तामै टुंगिने जानकारी दिएका थिए । उनले पार्टी एकतामा बाँकी रहेका अन्य विषयहरु पनि प्रधानमन्त्री देश फर्किएपछि लगत्तै सकाउने बताए ।

प्रवासी नेपाली मञ्चका अध्यक्ष पुडासैनीका अनुसार सो अवसरमा प्रवासी नेपालीका समस्याहरु र नेपालको विकास र सम्वृद्धिमा प्रवासी नेपालीहरुले गर्न सक्ने सहयोगका बारेमा पनि छलफल भएको थियो । छलफलमा आफूहरुले प्रवासमा रहेका विज्ञहरुबाट लाभ लिन, प्रवासी नेपालीहरुको नागरिकताको निरन्तरता, पुस्तान्तरण, पछिल्लो पुस्ता विदेशमै पलायन हुनसक्ने चिन्ता, गोर्खा समस्या, वैधानिक बाटोबाट रेमिट्यान्स नेपाल भित्र्याउने लगायतका विषय उठाएको पुडासैनीले बताए ।

छलफलमा मन्त्री ज्ञवालीले एनआरएन र गोर्खाहरुको समस्याबारे सरकार जानकार रहेको र समस्या समाधानमा दृढ रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री