प्रधानमन्त्री ओली लण्डनबाट रेल चढेर पेरिस

लन्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन दिने बेलायत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् । भ्रमणको अन्तिम दिन आफ्नो सम्मानमा दूतावासमा आयोजित रिसेप्सनमा ओलीले भने, ‘समकक्षी टेरेजा मेसहित ब्रिगेड अफ गोर्खाज मुख्यालय, विभिन्न सांसद र अन्य वरिष्ठ राजनीतिज्ञहरुसंगको भेटले सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध भएको मुलुकसंगको सम्बन्ध थप प्रगाढ बनेको छ ।’
ओलीले मंगलबार समकक्षी मे, प्रिन्स हयारी, प्रमुख प्रतिपक्षी दल लेबर नेता जेरेमी कोर्बिन लगायत नेता, व्यापारी र गोर्खा समुदालाई भेटेका थिए ।
१७ वर्षपछि नेपालका प्रधानमन्त्री बेलायत आएपनि बेलायती प्रधानमन्त्रीले राजिनामा दिएकाले कुनै सम्झौता भएन ।
ओलीले बेलायत नेपाल दुई शताब्दी भन्दा लामो कुटनीतिक सम्बन्ध भएको स्मरण गर्दै उच्चस्तरिय भ्रमण श्रृंखला निरन्तर बनाउन पनि आग्रह गरेका थिए । बेलायत नेपाल सम्बन्ध बहुआयामिक र विभिन्न कोणबाट अगाढि बढेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अप्ठेरो परिस्थितिमा बेलायतको सहयोग निरन्तर प्राप्त भएको पनि जनाए । बेलायतको सहयोग नेपालको लोकतन्त्र र समृद्धि संस्थागत गर्न कोशेढुङ्गा भएको उनले बताए।
विदेशी र नेपाली गरि झण्डै पांचसय माझ उनले गोर्खाहरु बेलायत नेपाल सम्बन्धको प्रमुख कडी भएको उनले बताए ।
‘नेपाली वीर छन् भन्ने कुरा सबैभन्दा पहिला बेलायतले थाहा पायो’, मजाक गर्दै प्रधानमन्त्री ओलीले थपे, ‘गोर्खाहरु ब्रिटिश सेनामा आएपछि त वीर नेपालीबारे अन्तर्राष्ट्रिय रुपमै थाहा भयो ।’
प्रधानमन्त्री ओलीले नेपाली कर्तव्यपरायण र अनुशासित भएको प्रसंग उल्लेख गर्दै नेपाली जहां पुगेका छन् त्यहां पीडा र अप्ठेरो होइन, बरु नेपालको प्रतिष्ठा उंचो बनाएका बताए । ओलीले नेपालीलाई आफ्नो कारोबार मिलाएर नेपाल फर्कन पनि आग्रह गरे ।

उपनियोग प्रमुख शरदराज आरनले सन्चालन गरेको उक्त कार्यक्रममा ब्रिटिश राज्यमन्त्री मार्क फिल्डले ब्रिटिशहरूमा नेपाल र नेपालीप्रति गहिरो स्नेह रहेको बताउँदै ब्रिटेनले नेपाललाई दिँदै आएको सहयोगको चर्चा गरेका थिए। 

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले स्वागत मन्तब्य दिंदै बेलायत नेपाल सम्बन्धबारे बोले । सो अवसरमा विभिन्न नाच प्रस्तुत गरिएको थियो । सहभागी एभरेष्ट इन रेस्टुराँको खानामा रमाए ।  

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलसहित बुधबार नै रेल चढेर पेरिस तर्फ लागेका छन् ।
तस्विर सौजन्य- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री