पोखरेली मञ्च युकेले ‘पीपल चौंथो नेपाल कप क्रिकेट प्रतियोगिता’ गर्दै

लन्डन । पोखरेली मञ्च युकेले पीपल चौंथो नेपाल कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

गत शुक्रबार १४ जुन साँझ फार्नबोरो नर्थक्याम्पस्थित पीपल मोर्गेजेज् एण्ड स्टेट एजेन्ट्सको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आयोजक पोखरेली मञ्च युकेले सो जानकारी गराएको हो ।

उक्त खेल रेडिङस्थित रेडिङ्ग क्रिकेट एण्ड हक्की क्लबमा आगामी जुलाइ १४ तारिख बिहान १० बजे शुरु हुनेछ भने २१ जुलाइका दिन फाइनेल खेल सम्पन्न हुनेछ ।

नकआउट सिस्टमले खेलाइने उक्त खेलका लागि १२ वटा टिमले आवेदन दिए पनि खेल दुई दिनसम्म सम्पन्न गर्नुपर्ने हुंदा ८ वटा टिमलाई मात्र दर्ता गरिएको मञ्चका उपाध्यक्ष एवं टुर्नामेन्ट संयोजक करम गुरुङले जानकारी दिए । सो प्रतियोगिता गर्न पीपल मोर्गेजेज् एण्ड स्टेट एजेन्ट्सले मुख्य प्रायोजकका रुपमा १००० पाउण्ड आर्थिक सहयोग गर्ने भएको छ । त्यस्तै, पहिलो पुरस्कार नगद ८०० पाउण्ड, मेडल र प्रमाणपत्र बगर भाइखलक युकेका अध्यक्ष चन्द्रमान गुरुङ र सदस्यहरुले, दोस्रो पुरस्कार नगद ५०० पाउण्ड, मेडल र प्रमाणपत्र सिटी एक्सप्रेस मनी ट्रान्सफर लिमिटेडले प्रायोजन गर्नेछ ।

करीब ५०० जना दर्शकको उपस्थिति रहने अपेक्षा राखिएको प्रतियोगिताका स्टार अफ दि टुर्नामेन्टलाई नमस्कार एभेन्ट तथा आश्विन श्रेष्ठले १५० पाउण्ड, मेडल र प्रमाणपत्र प्रायोजन गर्ने भएको छ । त्यस्तै, वेष्ट बलरलाई १०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र र डि एण्ड जे हिटिङ्ग सर्भिसेस्का धनु थकाली तथा जगन गुरुङले वेष्ट व्याटमेनलाई १०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र प्रायोजन गर्ने संयोजक गुरुङले जानकारी दिए ।

पोखरेली मञ्च युकेले चौंथोपटक गर्न लागेको टुर्नामेन्टमा राफल ड्र समेत खेलाइने जनाए । उक्त राफल ड्र विजेतालाई एक तोला सुन उपहार समेत राखिएको बताए ।

टिम दर्ता शुल्क १५० पाउण्ड उठाइएको सो टुर्नामेन्टमा साधारणतर्फ प्रवेश निःशुल्क गरिने र भिआइपीतर्फ भने खानासहित २५ पाउण्ड तोकिएको जानकारी दिए ।

कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासालाई उपाध्यक्ष एवं संयोजक गुरुङ, अध्यक्ष मानप्रसाद गुरुङ र उपाध्यक्ष वाचस्पति रेग्मीले मेटाउने प्रयास गरेका थिए ।

उक्त खेल उद्घाटनका लागि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र समापनका लागि एनआरएनए युके अध्यक्ष योगकुमार फगामीलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिसकिएको आयोजकले जानकारी दिए ।

त्यस्तै, खेलाडी, आयोजक र दर्शकहरुको सुविधाका लागि अल्डरसटस्थित मोमो स्टेशनले फुड स्टल राख्ने समेत जानकारी दिए । हेल्थ एण्ड सेप्टीलाई समेत बिशेष ध्यान दिइएको सो खेलमा विन्चेस्टर क्रिकेट क्लब, नवयुवा टिम, रमाइलो क्रिकेट क्लव, हन्स्लो क्रिकेट क्लव, मिड्ल्याण्ड क्रिकेट क्लव र क्यूजी सिग्नल क्रिकेट क्लवले भाग लिने भएको छ ।

सो पत्रकार सम्मेलनमा मुख्य प्रायोजक पीपल ग्रुपका डाइरेक्टर सूर्यप्रकाश गुरुङले एकअर्कामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिदैं शुभकामना दिए । त्यस्तै, मञ्चका संस्थापक अध्यक्ष क्याप्टेन सिबी पुन, सल्लाहकार महेश गुरुङ, मोमो स्टेशनका अमित गुरुङ लगायतले समेत शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको अन्त्यमा मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले उक्त टुर्नामेन्ट आयोजनाले खेलाडीहरुको क्षमता विकास हुने, एकअर्कामा चिनजान, इन्ट्रीग्रेशन र एकताको सुत्रमा बाँध्ने बताउदै उत्कृष्ट खेलाडीहरुलाई नेपालको टिमसंग खेलाइने योजना समेत रहेको जनाए ।

त्यस्तै, उनले मञ्चले गतवर्ष जस्तै यसपटक पनि आगामी अगष्ट २, ३ र ४ तारिखका दिन वेल्समा हाइक फर नेपाल आयोजना गर्न लागेको समेत जानकारी गराए । साथै, उनले उक्त दुवै दिन उपस्थित भई खेलाडीहरुलाई हौसला प्रदान गरिदिन बेलायतवासी नेपालीहरुमा अनुरोध गरे ।

मञ्चका अध्यक्ष मान प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं कार्यक्रम संयोजक करम गुरुङले स्वागत मन्तब्य दिएका थिए भने उपाध्यक्ष वाचस्पति रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री