विकलचन्द्र आचार्यको पुस्तक ‘बेलायतको वित्तीय अवलोकन’ सार्वजनिक


लन्डन । विश्व अर्थतन्त्रको शक्तिशाली केन्द्र बेलायत खासगरी विभिन्न समयमा ठूल्ठूला उतार चढावको साक्षी बनेको छ । सन् २००८ को विश्वव्यापी आर्थिक मन्दी होस् वा पछिल्लो समयको ब्रेक्जिट गतिरोध नै किन नहोस् । बेलायती अर्थतन्त्रले विभिन्न चुनौतिको सामना गर्दै आइरहेको छ । १९ औं शताब्दीको औद्योगिक क्रान्तियता निरन्तर विकासको गति समातेको अर्थतन्त्र दोस्रो विश्वयुद्धका कारण केहि शिथिल भयो । तर, सन् १९७० को दशकमा प्रधानमन्त्री मार्गरेट थ्याचरको निजीकरण नीतिसंगै पुन जुर्मुराएको बेलायत त्यसयता विभिन्न सामाग्री उत्पादन, कृषि, प्राकृतिक श्रोत, वित्त व्यवस्थापन लगायत विषयमा केन्द्रित छ ।

विभिन्न परिस्थिति बाबजुद बेलायतले कसरी आफ्नो अर्थतन्त्रलाई स्थिर राख्न सफल रह्यो भन्ने कुरा पक्कै पनि नेपालले सिक्न सक्छ । यही सेरोफेरोमा बेलायतमा लामो समयदेखि बसोबासरत अर्थ ब्यबस्थापनका जानकार विकलचन्द्र आचार्यको पुस्तक ‘बेलायतको वित्तीय अवलोकन’ शुक्रबार सार्वजनिक गरिएको छ । पुस्तकमा बेलायतको वित्तीय सामर्थ, बैंकिङ इतिहास, बैंकको संरचना तथा कार्यविधि, पाउण्ड स्टर्लिङको अवस्था, सम्पत्ति शुद्धीकरण, बिमा, ब्रेक्जिट, औद्योगिकक्रान्तिको शिक्षा, लन्डन स्टक मार्केट लगायत वित्तीय क्षेत्रका विविध विषय समावेश छन् ।

लेखक आचार्य

राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष एवं पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले पुस्तक विमोचन गरे । बेलायतको वित्तीय अवधारणा समेटेर लेखिएपनि नेपाली सन्दर्भ जोडिएकाले पुस्तक निकै उपयोगी रहेको क्षेत्रीले बताए । ‘पुस्तक धेरै नै उपयोगी र सूचनामूलक छ,’ उनले भने, ‘देश बाहिर बसेर पनि मातृभूमिलाई यत्तिको योगदान दिन सक्नु ठूलो कुरा हो ।’
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पुस्तकमाथि टिप्पणी गरेका थिए ।

बेलायतको वित्तीय परिवेशबाट नेपालले नीतिगत रुपमा धैरै कुरा सिक्न सक्ने देखिन्छ । विश्वको एक शक्तिशाली वित्तीय केन्द्रबारेको वास्तविक परिवेश बुझ्न पुस्तकले सहयोग पुरयाउंछ । बेलायतको वित्तीय क्षेत्रले संसारभरी प्रभाव पार्ने गरेकाले राजधानी लन्डन आर्थिक केन्द्र रहिआएको छ । बेलायतमामात्रै दिनमा औसत करिब २ दशमलब ७३ ट्रिलियन 
(२०७३ अर्ब) डलर बराबरको विदेशी विनिमयको कारोबार हुने गर्छ, जुन कुल विश्व कारोबारको ४० दशमलब ९ प्रतिशत हो । अमेरिकाको डाओ जोन्स र नस्डाक पछि लन्डन स्टक मार्केट आउंछ ।

बेलायतको प्रतिष्ठित प्राइभेट स्कुल आर्डिंङलाए कलेजमा छात्रवृत्ति पाएर बि.सं २०५० मा बेलायत पुगेका लेखक आचार्य शिक्षा, साहित्य तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउंदै आएका छन् । यसअघि आचार्यका लन्डनमा मुटु दुख्दा, कोरोनरी मुटुरोग, बेलायती आँगनमा गोर्खाली सुवास र मोह गरि चार कृति प्रकाशित भइसकेका छन् । ब्यबस्थापन बिषयबारे लामो अनुभव संगालेका लेखक ब्रिटिश मेडिकल जर्नालिष्ट एशोसिएसनका सदस्य समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री