मिडल्याण्डबाट एनआरएनमा सामूहिक उम्मेदवारी घोषणा

नटिङहाम, यूके । गैर आवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनका लागि मिडल्याण्डबाट आठ जनाले सामूहिक उम्मेदवारी घोषणा गरेका छन् । सोमबार साझा नेपाली समाज यूकेले नटिङहामस्थित काठमाडौं लाउन्जमा गरेको पत्रकार सम्मेलनमार्फत आठ अभियन्ताले संयुक्त उम्मेदवारी घोषणा गरे । २०१९-२०२१ का लागि संयुक्त उम्मेदवारी घोषणा गर्नेमा 
अन्तराष्ट्रिय समन्वय परिषद् सदस्यदेखि एनआरएनए यूके सदस्यसम्म छन् ।

गैर आवासीय नेपाली संघ यूकेका अभियन्ता दयानिधि सापकोटाले आइसीसी सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, पशुपति पोखरेलले एनआरएनए यूके उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे । अर्का अभियन्ता कोसलेश्वर ढकाल (कृष्ण) ले सचिव पदमा, विष्णु चालिसेले सह-कोषाध्यक्षमा, श्रीमति गोमा पौडेलले सदस्यमा, कृष्ण 
खरालले सदस्यमा, शंशाक शर्मा (कृष्ण पौडेल) ले सदस्य र नृपेश उप्रेतीले सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरे ।

उक्त कार्यक्रमको संयोजन गरेका सामाजिक अभियन्ता एवं सफल व्यवसायी दयानिधि सापकोटाले उम्मेदवारका रुपमा प्रतिवद्धता व्यक्त गर्दै सामाजिक काममा समर्पित भएर डायस्पोरामा योगदान पुरयाउन आफ्नो उम्मेदवारी रहने बताए । उनले आफू विजयी भए नागरिकता निरन्तरता मुद्दामा पहल जारी राख्ने प्रतिवद्धता जनाए । मिडल्याण्डमा पकड जमाएका सापकोटाले गैरआवासीय नेपालीबाट उठाएको रकमको आर्थिक पारदर्शिता कायम गर्न लागि पर्ने विश्वास दिलाएका छन् ।

उपाध्यक्ष पदका भावी उम्मेदवार पशुपति पोखरेलले सात उम्मेदवारको तर्फबाट सामूहिक प्रतिवद्धता प्रस्तुत गरेका थिए । सो प्रतिवद्धतामा सदस्यताका आधारमा क्षेत्रगत प्रतिनिधित्व सुनिश्चितता, एक पटक बनिसकेको सदस्यले फेरी फारम भर्नुपर्ने झन्झट हटाउने, संघको आर्थिक पारदर्शिता, गोर्खा समस्या समाधानमा पहल, अनलाइन भोटिङ व्यवस्था र एनआरएनए यूके हाउस बनाउन पहल गर्ने आदि छन् ।

कार्यक्रममा सचिवका उम्मेदवार कोसलेश्वर ढकाल, सह-कोषाध्यक्षका उम्मेदवार बिष्णु चालिसे, सदस्य पौडेल, खराल, शर्मा र उप्रेतीले एनआरएनए यूकेको कार्यसमितिमा रहेर काम गर्ने अवसर दिन आफूहरुलाई साथ दिन आग्रह गरेका थिए ।

खचाखच भरिएको घोषणा सभामा एनआरएनए आइसीसी सह-कोषाध्यक्ष सोम सापकोटा, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्षहरु शेर सुनवार, पुनम गुरुङ, प्रेम गाहामगर, सुशीला राई , ललित न्यौपाने, मिडल्याण्डस्थित शान्ति नेपाली समाजका लिलाबहादुर थापा, पिटरबोरो नेपाली समाजका शिव भण्डारी, प्रेम आलेमगर, नटिङहम नेपाली समाजका अध्यक्ष गोविन्द खरेल, हाम्रो नेपाली समाज उल्भरहयाम्पटन अध्यक्ष शिव खराल, एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए यूके सदस्य पवन शर्मा, एनआरएनए यूके सचिव तारानाथ भण्डारी, आसन्न निर्वाचनमा महासचिब पदका उमेद्वार फडिन्द्र भट्टराई  लगायतले आठ उम्मेदवारलाई शुभकामना दिए ।

महेश अधिकारीको अध्यक्षता एवं पत्रकार तथा गजलकार नृपेश उप्रेतीले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए यूके सदस्यहरु अर्कराज तिमल्सेना, 
राजन खकुरेल, एनआरएन अभियन्ता कृष्ण तिमल्सेना, सुष्मा राई लगायत वर्तमान कार्यसमिति पदाधिकारी पनि शुभकामना दिन पुगेका थिए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री