बेलायतको प्रधानमन्त्री बन्ने प्रतिष्पर्धामा बोरिस अगाडि

लन्डन । ब्रिटेनको सत्तारुढ कन्जरभेटिभ दलको नेता छान्न बुधबार तीन चरणको मतदान सम्पन्न भएको छ । ३१३ कन्जरभेटिभ सांसदहरुबीचको चुनावी मैदानमा अब ४ जना उम्मेदवार मात्रै बांकी छन् । अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टेवार्ट तेश्रो चरणको ब्यालेटमा जम्मा २७ मत ल्याएर बाहिरिएपछि अब प्रतिष्पर्धामा बोरिस जोन्सन, जेरेमी हन्ट, माइकल गोभ र साजिद जाविद छन् ।

बोरिस १४३ मत ल्याएर पहिलो स्थानमा छन् भने जेरेमी हन्ट ५४ मतसहित दोश्रो स्थानमा छन् । माइकल गोभले ५१ र साजिद जाविदले ३८ मत ल्याए । भूतपूर्व विदेशमन्त्री बोरिस तीन चरणकै निर्वाचनमा पहिलो स्थानमा रहंदै आएका छन् । दलको नेता नै भावी प्रधानमन्त्री बन्ने भएकाले बोरिस बेलायतको नयां प्रधानमन्त्री बन्ने सम्भावना बढेर गएको छ ।

चौंथो चरणको मतदान बिहीबार हुने तालिका छ ।

बोरिस

बिहीबारको मतदानपछि छानिने अन्तिम दुई प्रतिष्पर्धीमध्येबाट कन्जरभेटिभ (टोरी) पार्टीका एकलाख ६० हजार सदस्यहरुले पोस्टल भोटमार्फत दलको नेता चुन्नेछन् । २२ जुनमा अन्तिम मतदान हुने र त्यसको महिना दिनभित्र बेलायतले नयां प्रधानमन्त्री पाइसक्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री टेरेजा मेले दलको नेताबाट राजिनामा दिएपछि उनी अहिले कामचलाउ प्रधानमन्त्रीका रुपमा छिन् ।

टोरी नेता बन्ने दौडमा रहेका पांच प्रतिष्पर्धीहरु मंगलबार राती बीबीसी वान लाइभ वहसमा सहभागी भएका थिए । टिभी वहसमा उनीहरुबीच ३१ अक्टोबरको समयसीमाभित्र बेलायतले ईयू छाड्ने कि नछाड्ने भन्नेमा घम्साघम्सी परयो ।

एउटा प्रश्नको जवाफमा बोरिस जोन्सनले ३१ अक्टोबरमा ईयू छाड्न एकदमै सम्भव भएको बताए । गृहमन्त्री साजिद जाविदले उक्त मिति माथि अरू बढी ध्यान दिनु पर्ने बताए भने माइकल गोभ र जेरेमी हन्टले थप समय चाहिन सक्ने बताए । तर, रोरी स्टेवार्टले भने आफ्ना प्रतिस्पर्धीहरुलाई बिना कुनै ठोस योजना ब्रिटेनमाथि विश्वास गरौं भनेर अगाडी बढिरहेको आरोप लगाएका थिए । रोरी तेश्रो चरणबाट बाहिरिएका छन् ।

करिब एक घण्टा लामो वहसमा उनीहरु सबैले ब्रेक्जिट टुंगो नलागेसम्म आमनिर्वाचन भने नगर्ने दृढता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री