बिहीबार, असोज २ २०७६ | Thu, September 19, 2019
नेपालको समय: १८:५७ | UK Time: 14:12

डा. सीके राउत र वैकल्पिक राजनीतिः एक शल्यक्रिया

हेमन्तराज पौडेल
२०७६ असार ८ गते २३:२४

शक्ति र सत्ताको वरिपरि मानिसहरु माहुरीको रानो जसरी झुम्मिएका हुन्छन् । मानिस कि अरुको शक्तिको पछि लाग्छ कि आफ्नो स्वार्थको पछि । त्यसका पछि राजनैतिक, आर्थिक, वैचारिक, आध्यात्मिक, सामाजिक धेरै कारण हुन सक्छन् । राजनीतिको जरो यिनै कुराहरुमा अडेको हुन्छ । तिनै जरालाई टेकेर एउटा 
राजनीतिज्ञले सामान्य मानिसका मनमा बीउ रोपिदिन्छ । बीउ विषाक्त परेको छ वा असल भन्ने कुरा फलेपछि मात्रै थाहा हुन्छ । त्यसैले हरेक राजनीतिज्ञले जनताका दिमागमा बीउ छर्दा त्यो बीउको पहिचान राम्रो संग गर्न सकेनन् भने त्यसको परिणाम भयावह हुन सक्छ । 
राष्ट्रियताका नाममा, सिमानाका नाममा, रंगका नाममा, जातका नाममा, धर्मका नाममा, लिङ्गका नाममा, वर्गका नाममा भएका कुनै पनि आन्दोलन चाहे हिंसात्मक हुन् वा अहिंसात्मक त्यो बिग्रहकारी, घृणित, अमर्यादित, विभाजनकारी र विनाशकारी हुन जान्छ । राजनैतिक विश्व इतिहासले त्यही दर्दनाक दृश्यलाई बार बार देखाउंछ, मानव सभ्यता त्यसैको साक्षी छ । डाक्टर सिके राउत त्यसका अपवाद हुनै सक्दैनन् ।

बेलायतको प्रख्यात विश्वविद्यालय युनिभर्सिटी कलेज लन्डनमा यही साता उनको प्रवचन थियो । आफू भन्दा फरक विचार राख्नेलाई नकार्नु भन्दा उनी संगै पुगेर आफ्ना मतहरु राख्नु नै बुद्धिमानीपूर्ण हुन्छ भन्ने हेतुले यो पंक्तिकार पनि त्यो कार्यक्रममा सहभागी हुन पुग्यो । उनका कुरा सुन्ने र आफ्ना कुरा राख्ने एउटा रोमाञ्चक दोहोरी नै चल्यो । उपस्थित धेरैले थुप्रै प्रश्न सोधेका थिए । उनको प्रस्तुति पछि र अन्त्यमा उनीसंग त्यहि युनिभर्सिटीका प्राध्यापकहरु सहित संगै फोटो सेसन पनि चल्यो । केहीले उनीसंग फोटा खिच्न समेत हिच्किचाएको र अलि परे बसेको दृश्य पनि रोमान्चक नै थियो । तर, धेरैको अड्कल भन्दा फरक उनी नम्र, 
सभ्य, तार्किक र कुटनैतिक रुपमा प्रस्तुत भएका थिए ।

अस्ति भर्खरसम्म मधेशमा, मिडियामा त्यति उत्तेजित देखिएका राउत कसरी एकाएक यति नरम भए त ? 
संविधान त के राष्ट्र नै फरक चाहिन्छ भनेर मधेशमा आगो ओकल्ने राउतको कसरी यो छलांग सम्भव भयो ? कुन शुत्र थियो जसले उनलाई केपी सरकारसंग सम्झौता गराएर जेल बाहिर ल्यायो अनि पश्चिमा विश्वविद्यालय र प्रवासी नेपाली सामु नरम स्वरमा मधुर मुस्कानका साथ हामी गरिब छौं नि, तर नेपाल सधंै 
गरिब थिएन, नेपालको इतिहास यस्तो छ, थुप्रै आन्दोलन पछि अहिले गणतन्त्र छ र उनकै भाषामा हामी सही दिशा तिर जांदै छौं भन्ने तत्ववोध भयो ? धेरैका लागि संशयकारी छ उनको यो राजनैतिक छलाङ्ग । जसलाई चिर्नका लागि उनले जीवनभर प्रश्नका सामना गरिरहनु पर्ने छ र झर्को नमानी उत्तर दिइ राख्नु 
पर्ने हुन्छ । राजनीति उनले क्याम्ब्रीज युनिभर्सिटीमा 
पिएचडी गर्दा एकपटक लेखेको बुझाएको थेसिस जस्तो मात्रै हुने छैन् । राजनीतिमा त बार बार परीक्षा 
आइरहन्छ । यहां उनलाई यसो गर वा उसो गर भनेर डोरयाउने सुपरभाइजर पनि हुने छैनन् ।

मैले उनलाई सोधेको थिएं, तपाईंलाई पुलिसको 
कस्टडीमा देख्नु भन्दा युसीएलको लेक्चर हलमा शैक्षिक विज्ञहरुका साथ देख्दा खुशी लागेको छ । राजनीतिको मूल प्रवाहमा शान्तिपूर्ण अवतरण र पुराना विचारबाट मुक्त हुंदै नयां सिराबाट राजनीति सुरु गर्नु भएकोमा वधाई छ । आज हामी एउटै मन्चमा हाम्रो साझा दुस्मन गरिवी र असमानताका विरुद्ध एउटै स्वरमा छौं । कति फरक छ आफ्ना कार्यकर्ता र लन्डनमा शैक्षिक विज्ञहरुलाई सम्बोधन गर्दा ? अलिक घोरिएर उनले लेखेको “मधेसको इतिहास“ नामको किताब उचाल्दै म तथ्यहरुमा विश्वास गर्छु तर यो लेभलको विचार मैले मेरा कार्यकार्ताहरुलाई बुझाउन गारो हुन्छ तर प्रयास त म गर्ने छु भनेर उनको राजनैतिक विवशता नभनिकनै दर्शाएका थिए ।

अर्का प्रश्नकर्ताको किन मधेसलाई बढी फोकस गर्नु भयो नि भन्ने जिज्ञासामा उनले शरीरको एउटा अंग मजवुत बनाउनु भनेको पुरै शरीर मजवुत हुनु नै हो नि भनेर समग्र नेपाली सम्प्रभुत्ताको समर्थन गरेका थिए । सिंगो मधेशको माग आजको आवश्यकता होइन त्यसका लागि राष्ट्रिय अन्तराष्ट्रिय समर्थन पनि गारो छ भनेर उनले आफूले बाटो परिवर्तन गरेको हो भन्ने कुरा घुमाउरो पारामा स्वीकारेका थिए । मधेसमा कति परदेश हुन्छ भन्ने कुरा त्यहांका जनताको चाहना, त्यो देशको कानुनले निर्धारण गर्छ भनेर उत्तेजना बिनानै जवाफ फर्काएका थिए । उनले प्रस्तुत गरेको प्रवचनमा केपी ओलीको तस्बिर र सरकारको समृद्धिको नारा देखि पोखराको माछापुच्छ्रे र तराईको सुन्दर फांट संगै देखाएर तराई र पहाडलाई जोड्दै नेपाल स्वर्ग हो भनि आफ्नो भनाई टुङ्गयाएका थिए । उनको प्रवचन त सकियो तर अब यहां बाट सुरु हुन्छ उनको नयां 
परीक्षाको आरम्भ ।

राष्ट्रिय सम्प्रभुत्ता स्वीकारेर राजनीतिको प्रवाहमा आइसके पछि उनी र उनको जनमत पार्टीका अगाडि चुनौतीका पहाड र अवसरको ढोका दुवै देख्न सकिन्छ ।

लेखक हेमन्त पौडेल

चुनौतीहरु-

आफ्नो पार्टी बाहिर उनलाई देश टुक्रयाउने आन्दोलनको नेतृत्व गरेको भनेर सर्वसाधारण र विपक्षी हरुले घोचिरहने छन् । उनले विगतमा उत्तेजित हुंदै बोलेका, लेखेका दस्तावेजहरु मिडिया सामु आइरहने छन् र स्वतन्त्र मधेसको नाममा पहाड र तराईबीच खनिएको खाडल, रोस, घृणा मेटिन लामो समय लाग्नेछ । उनकै आफ्नो पार्टी भित्र कार्यकर्ताहरुले हामीलाई धोका दियो भनेर एक किसिमको लघुताभास लामो समयसम्म रहने छ । जसरी माओवादी आन्दोलनमा निकाला गरिएका लडाकुहरु आज बिप्लवसंग मिलेर प्रचण्डका विरुद्ध आगो ओकल्दैछन् । ती मधेशी युवाहरु अर्को कुनै हिंसात्मक आन्दोलनमा सहभागी हुने डरलाग्दो सम्भावना हुन सक्छ । उनीहरुलाई देखाइएको गलत सपना र त्यसको परिणामको नैतिक जिम्मेवारी राउतले 
लिनुपर्ने हुन्छ । यी दुवै विरोधहरुकाबीचमा आफूलाई कहांनेर उभ्याउने छन् उनको भविष्य त्यसैमा निर्धारण हुनेछ । मधेसमै भइराखेका अरु मधेसी दलहरु जो लामो समय देखि राजनीतिमा दख्खल राख्छन्, जसको संगठन गाउंगाउं सम्म छ । तिनलाई चिर्न सजिलो काम हुने छैन् । तर, राजनीतिमा असम्भव पनि केही हुंदैन ।

राजनैतिक दल नै बनाएर आइसकेपछि उनको विकासको मोडेल के हो ? उनको राजनैतिक दर्शन के हो ? आर्थिक रुपमा उनले कस्तो नीति अपनाउने छन् ? परराष्ट्र नीतिमा उनी कहां नेर छन् ? सपना देखाउनु र पुरा गर्नु नितान्त फरक कुरा हुन् । भांडामा भए भन्दा बढी उनले पनि दिन सक्ने छैनन् र त्यसो हुंदा उनी पनि अरु भन्दा फरक देखिने छैनन् । जातको आधारमा २ सिट लिएर आउने हुन् कि थन्किने हुन् वा मधेसबाट 
प्रतिनिधित्व गर्दै देशलाई नै नेतृत्व गर्नेछन् जुन सम्भावना अहिलेलाई कतै देखिन्न ।

अवसरहरु-

उनका अगाडि चुनौती मात्र हैन् अवसरहरु पनि छन् । अन्तर्राष्ट्रिय प्रख्यात विश्वविद्यालयमा डिग्री हासिल गरेका र विदेशी मञ्चहरुमा आफ्ना कुराहरु पुरयाउन सक्नु, शक्तिकेन्द्रहरुसंग निरन्तर सम्पर्क राख्न सक्ने हैसियत हुनु, स्तरीय वाक कटुता हुनु, मुल प्रवाहमा आउनु यी तमाम कुराहरुले राउतलाई सघाउने नै छ । तर, त्यो भन्दा पहिला विगतमा उनले खनेका खाडलहरु पुर्नुपर्ने हुन्छ । मधेशको दुस्मन पहाड हैन्, न कि पहाडको मधेस र हाम्रा दुस्मन अरु नै छन् । दुस्मन गरिबी हुन्, अशिक्षा हुन्, सामाजिक जडता हुन्, रुढीवादी परम्परा हुन्, बाल विवाह हुन्, दाइजो प्रथा हुन्, वितरण प्रणाली हुन्, भ्रष्टाचार हुन्, कति ठाउंमा कानून हुन् ।

डाक्टर राउतले नेपाली जनतासंग लाज नमानीकन हाम्रा दुस्मन त यिनीहरु पो रहेछन्, आउनुहोस् हातेमालो 
गरौं र सातै प्रदेश, सबै जात जाति मिलेर एउटा सुन्दर देशको निर्माण गरौं भन्नु पर्छ । तर, यो कुरो पनि बिर्सनु हुंदैन, हामी भित्र भएका विभेद पनि हट्नु पर्छ । 
बिरालाहरु बनारस पुगेर घन्टी बांधी साधु बनेका हुन् कि धुसा ओडेर भित्रै भित्रै शिकार गर्दैछन्, त्यो कुरो समयको गर्भमा छ । वर्तमानलाई सावधानी र बिना पूर्वाग्रह विश्वास गर्नु सिवाय अर्को विकल्प देखिंदैन् । त्यो कसैलाई मन परोस् वा नपरोस् । आशा गरौं डाक्टर राउतले बिरालाको काशी जाने कथा चरितार्थ गर्ने 
छैनन् । अस्तु

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक