नेपाल पत्रकार महासंघ पोर्चुगल संयोजकमा छन्त्याल, सह-संयोजक थापा

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा कार्यरत नेपाली पत्रकारहरुलाई साझा रुपमा समेट्न नेपाल पत्रकार महासंघ तदर्थ समिति सर्वसम्मत गठन गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य तथा महासंघका युरोप शाखा अध्यक्ष केजिन राईको उपस्थितिमा तदर्थ समिति गठन गरिएको हो ।

समितिको संयोजकमा योगेन्द्रमिलन छन्त्याल, 
सहसंयोजकमा राजकुमार थापा र प्रवक्तामा पेम्बा गेलु शेर्पा चुनिएका छन् । त्यसैगरि, सदस्यहरुमा भगवान गिरी, यामबहादुर गुरुङ, बासु सत्याल र निरन्जन सापकोटा तथा सल्लाहकारमा राजकुमार दिक्पाल र नारायण अर्याल चयन भएका समितिले जनाएको छ ।

सो अवसरमा प्रस्तावित समितिले पोर्चुगलका विभिन्न संघसंस्थाबीच वृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरयो । अन्तरक्रियामा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अध्यक्ष गोविन्द आचार्यले 
सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता गर्नुपर्ने वा सच्याइनु पर्ने बताउंदै महासंघ यस मुद्दामा पछाडि नहट्ने दावी गरे ।

अध्यक्ष आचार्य ट्युनिसियामा आयोजित अन्तर्राष्ट्रिय पत्रकार महासंघको विश्व सम्मेलनमा भाग लिई नेपाल पत्रकार महासंघ युरोप शाखाको निमन्त्रणामा पहिलोपटक पोर्चुगल आएका हुन् ।

सो अवसरमा अध्यक्ष आचार्यले महासंघको पवित्र 
संस्था भित्र प्रवेश गर्दा सबैले राजनैतिक, क्षेत्रीय, जातीय वा कुनै पनि खालका विचार र धारणा त्याग्न सुझाव थिए । ‘जसरी मन्दिरमा प्रवेश गर्नु अगाडि जुत्ता बाहिर खोलेर पसिन्छ, त्यसैगरि महासंघको मन्दिर भित्र पस्दा पनि त्यसै गर्नुपर्छ’-आचार्यले भने ।

महासंघ युरोप शखाका अध्यक्ष केजिन राईले युरोपमा नेपाली पत्रकारिताको इतिहास र नेपाली पत्रकारहरुको अवस्थाबारे प्रकाश पारे । उनले युरोपभर नेपाल पत्रकार महासंघका उपशाखा गठन गरिनु पर्नेमा पनि जोड दिए । सो अवसरमा अनेसास पोर्चुगलका संस्थापक अध्यक्ष समेत रहेका 
राईलाई अनेसास पोर्चुगलले प्रमाणपत्रकासाथ विशेष सम्मान गरेको थियोे ।

अन्तरक्रियामा पोर्चुगलका प्राय नेपाली संघसंस्थाका अध्यक्ष र प्रतिनिधिहरुको उपस्थिति थियो । सो अवसरमा वक्ताहरुले पोर्चुगलमा नेपाल पत्रकार महासंघ गठन अत्यन्त स्वागतयोग्य रहेको बताउंदै निष्पक्ष पत्रकारिताकालागि शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री