क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन युकेमा नयां नेतृत्व

फार्नबोरो । क्युओजिएलआर एक्स सर्भिसमेन्स् एसोसिएसन युकेको वार्षिक साधारणसभा तथा चौंथो महाधिवेशनले नयां नेतृत्व चयन गरेको छ । २२ जुन २०१९ शनिबार ग्रेन्ज कम्युनिटी जुनियर स्कुल हल फार्नबरोमा सम्पन्न महाधिवेशनले चौंथो कार्यसमिति अध्यक्षमा वसन्त गुरुङ, उपाध्यक्षमा लेफ्टिनेन्ट मेखबहादुर गुरुङ, महासचिवमा प्रकाश रावत, सचिवमा किरण गुरुङ, कोषाध्यक्षमा गन्ज तामाङ, सह कोषाध्यक्षमा नारायण गुरुङ, मेडिया तथा जनसम्पर्क अधिकृतमा मुकेश राई र क्षेत्रीय प्रतिनिधिमा मित्रबहादुर गुरुङ पुनः निर्वाचित भएका छन् ।

पूर्व अध्यक्ष मेजर भलामान राई, मेजर चित्रराज लिम्बु र पूर्व रेजिमेन्टल सार्जन्ट मेजर शिवशरण गुरुङ रहेको तीन सदस्यीय निर्वाचन समितिले सम्पूर्ण निर्वाचन प्रकृया पुरा गरि सर्वसम्मत चौंथो नयां कार्यसमिति घोषणा गरेको थियो । वसन्त गुरुङको नेतृत्वमा रहेको तेस्रो कार्यसमितिलाई नै सर्वसम्मत पुनः तीन वर्षको एक कार्यकाल थपेर चौंथो कार्यसमिति गठन गरिएको हो ।

निर्वाचन परिणाम घोषणा पश्चात निर्वाचन समितिका सचिव शिवशरण गुरुङले उत्साहजनक सहभागिताका लागि सबैमा आभार व्यक्त गरे । साथै पूर्व अध्यक्ष तथा निर्वाचन समितिका अध्यक्षद्वय मेजर भलामान राई र मेजर चित्रराज लिम्बु एमभिओ एमबीइले पनि नव निर्वाचित 
पदाधिकारीलाई बधाई तथा शुभकामना दिए ।

तीन चरणमा विभाजित कार्यक्रम महासचिव प्रकाश 
रावतले सञ्चालन गरेका थिए । आरम्भमा एसोसिएसनका दिवंगत सदस्यहरु स्वर्गीय निरबहादुर राई र स्वर्गीय जीत पुनको सम्झनामा दुई मिनेट मौनधारण गरिएको थियो ।

पहिलो चरणको वार्षिक साधारणसभामा अध्यक्ष वसन्त गुरुङले स्वागत मन्तब्य राखेपछि महासचिव प्रकाश रावतले संस्थाको वार्षिक प्रतिवेदन तथा प्रगति विवरण र कोषाध्यक्ष गञ्ज तामाङले आर्थिक प्रतिवेदन निर्णयार्थ प्रस्तुत गरेर सर्वसम्मत अनुमोदन गरिएको थियो ।
त्यसैगरि पूर्व अध्यक्ष मेजर भलामान राई र अध्यक्ष वसन्त गुरुङले निर्णयार्थ प्रस्तुत गरेको संस्थाको नयां विधान सम्बन्धमा गहन छलफलपछि केही परिमार्जन सहित सर्वसम्मत पारित गरिएको थियो ।

सभामा सदस्यहरुको बोल्ने क्रममा सबैले एसोसिएसनको सर्वोपरि हित र भावी कर्यक्रमका निम्ति सकारात्मक सुझाव दिंदै हालसम्म भइरहेका कार्यहरुमा खुशी प्रकट गरे । उनीहरुले तेस्रो कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद समेत दिए ।

पहिलो चरणको कार्यक्रमको अन्तमा सदस्यहरुले बोल्ने क्रममा उठेका केही विषयको बुंदागत छलफल र निर्णय गरेपछि अध्यक्ष वसन्त कुमार गुरुङले उपस्थित सबै सदस्यप्रति आभार प्रकट गर्दै तेस्रो कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गरेका थिए । दोस्रो चरणमा क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन युके चौथो कार्यसमिति निर्वाचन कार्यक्रम राखिएको थियो ।

कार्यक्रमको तेस्रो तथा अन्तिम चरणमा क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन युकेको वार्षिक भेटघाट तथा क्युओजिएलआर ६१ औं जन्मदिवस सेलेब्रेशन गरिएको थियो । सो अवसरमा एसोसिएसनका सदस्य तथा परिवारहरुको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रममा रेजिमेन्टका बहालवाला कमान्डर क्युओजिएलआर लेप्टनेन्ट कर्णेल वेष्ट, गोर्खा मेजर चक्रबहादुर क्षेत्री र रेजिमेन्टल सार्जन्ट मेजर प्रकाश गुरुङ विशेष अतिथिको रुपमा उपस्थित थिए । त्यसैगरि रेजिमेन्टल एसोसिएसनबाट पनि रेजिमेन्टका पूर्व कमान्डरहरु तथा अफिसरहरु लेफ्टिनेन्ट कर्णेल ब्रीजर ओबिई, लेफ्टिनेन्ट कर्णेल गिलहाम, लेफ्टिनेन्ट कर्णेल मेकालिष्टर र लेफ्टिनेन्ट ग्रिन अतिथि थिए । सबै अतिथिलाई एसोसिएसनका अध्यक्ष वसन्त गुरुङ, उपाध्यक्ष लेफ्टिनेन्ट मेखबहादुर गुरुङ र महासचिव प्रकाश रावतले खादा लगाई स्वागत गरे ।

कुइन्स् ओन गोर्खा लजिष्टिक रेजिमेन्टबाट सेवानिवृत्त भइसके पश्चात संयुक्त अधिराज्य बेलायतको विभिन्न क्षेत्रमा विभिन्न पेशा तथा ब्यवसायमा संलग्न एउटै रेजिमेन्टका सम्पूर्ण भूतपूर्व सदस्यहरुलाई एकत्रित गराउन, आफ्नो रेजिमेन्टको संस्कार, संस्कृति र पहिचानको संरक्षण-सम्बर्धन गर्दै आफ्ना सहपाठी कमरेड र तिनका परिवारजनमा आवश्यक पर्दा सहयोग, परोपकारी तथा सामाजिक सेवा गर्न सन् २००६ मा ‘क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन युके’ स्थापना भएको थियो ।

कार्यक्रममा अल्डरसटस्थित प्यालेस रेष्टुरेन्टका प्रोपाइटर ऋषि रानाको ब्यवस्थापनमा खाना तथा पेयपदार्थ प्रवन्ध गरिएको थियो । साथै निर्मल सिरिसको संयोजनमा एक तोला सुन प्रथम पुरस्कार र आधा तोला सुन दोस्रो पुरस्कार सहित अन्य आकर्षक पुरस्कार रहेको राफल ड्र पनि खेलाइएको थियो । 
राफल ड्र प्रथम पुरस्कार श्रीमती मिना रावत र दोस्रो पुरस्कार मित्र गुरुङले जिते । सो अवसरमा होमबहादुर रानाको संयोजकत्वमा गीत तथा नृत्य पनि प्रस्तुत गरियो ।

कार्यक्रममा रेजिमेन्टको प्रथम गोर्खा लेफ्टिनेन्ट कर्णेलमा पदोन्नति भएका मेजर देवेन्द्र आले एमभिओ 
एमबीइ, स्यान्डहस्ट टाउन काउन्सिलको काउन्सिलरमा निर्वाचित भएका रामकुमार लिम्बु र मिस इंग्ल्यान्ड २०१९ प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल सुश्री प्रतिष्ठा रावतलाई अध्यक्ष गुरुङले सम्मान गर्दै वधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री