गोर्खा क्याप्टेन लिम्बुलाई अनेवा नक्षत्र

लन्डन । एकजना सर्भिङ गोर्खा क्याप्टेन कैलाश लिम्बु अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठानको ‘अनेवा नक्षत्र पुरस्कार- २०७५’ बाट पुरस्कृत भएका छन् । प्रतिष्ठानले शनिबार लन्डनमा एक कार्यक्रम गरि गोर्खाली श्रष्टा लिम्बुलाई उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारमा प्रमाणपत्र र ६० हजार रुपैंया छ । कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार बलदेव मजगैयाँले लिम्बुलाई बधाइसहित पुरस्कार प्रदान गरेका थिए ।

लिम्बुको अंग्रेजी पुस्तक ‘गोर्खा’ का लागि उक्त पुरस्कार प्रदान गरिएको हो । विगत २० वर्षदेखि ब्रिटिश आर्मीमा सेवारत लिम्बुले उक्त पुस्तकमा अफगानिस्तान युद्धभूमिमा बिताएका क्षण, लाहुरे जीवन, आफ्नो संघर्ष, उतारचढाव आदि उल्लेख गरेका छन् । ‘गोर्खा’ पुस्तक सन्डे टाइम्सको ‘टप टेन वेष्ट सेलर’ मा समेत परेको थियो । ब्रिटिश सेनामा गोर्खा भर्तीको दुईसय वर्ष गांठका अवसरमा सन् २०१५ मा प्रकाशित उक्त पुस्तक लेख्न लिम्बु ब्रिगेड अफ गोर्खाका कयौं अफिसर मध्येबाट छनोट भएका थिए ।

प्रमुख अतिथी बजगैंया र पुरस्कृत श्रष्टा लिम्बु पुस्तक विमोचन गर्दै

पुरस्कार ग्रहणपछि लिम्बुले प्रतिष्ठानप्रति आभार व्यक्त गरे । ‘यसले मलाई थप हौसला प्रदान गरेको छ’- नेपाली समुदायका कार्यक्रममा खासै नदेखिने लिम्बुले भने, ‘मेरो अर्को कृति पनि छिट्टै प्रकाशनको तयारीमा छ । तपाईंहरुको पुरस्कारले मलाई थप उर्जा मिलेको छ ।’

प्रतिष्ठानले स्थापनाकाल २०१२ देखि नै वर्षेनी एक जना श्रष्टालाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कारबाट मदन पुरस्कार विजेता अमर न्यौपाने, सांसद शान्ता चौधरी, लेनिन बन्जाडे, नारायण अमृत लगायत सम्मानित भइसकेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार बलदेव मजगैयांले लेखन भावनाबाट प्रेरित भएर आउनुपर्ने बताउंदै लिम्बुको पुस्तकले युद्धभूमिको ताजा स्मरण गराउने बताए । मजगैयांले आफू पनि प्रजातन्त्रका लागि बन्दुक बोकेको स्मरण गर्दै लिम्बुको कलम अझ रफ्तारमा बढोस् भन्ने शुभकामना दिए ।

प्रतिष्ठानकी महासचिव जया लक्ष्मी राईले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष विकलचन्द्र आचार्यको हालै नेपालमा विमोचित पुस्तक ‘बेलायतको वित्तिय अवलोकन’ पुनः विमोचन गरियो । प्रमुख अतिथी मजगैयाँ र पुरस्कृत श्रष्टा लिम्बुले उक्त पुस्तक विमोचन गरेका थिए । उक्त पुस्तकमा बेलायतको सय वर्षको आर्थिक परिदृश्य, बैंकिङ प्रणाली, औद्योगिक क्रान्ति, नवउदारवादमा विभाजित अर्थतन्त्र, बेलायतको वित्तिय सामथ्र्य, ब्रेक्जिट, इयू जनमत संग्रह, बैंक लकर, सम्पत्ति शुद्धीकरण आदि विषय समेटिएका छन् ।

कार्यक्रमका सभापति विकलचन्द्र आचार्यले चर्चा बटुलेका श्रष्टामात्र नभई ओझेल परेर साहित्य लेखनमा सक्रिय प्रतिभाहरुलाई समेत उजागर गर्न प्रतिष्ठानले नियमित पुरस्कार प्रदान गर्दै आएको बताए । उनले प्रतिष्ठान बेलायतको नेपाली डायस्पोरामा नेपाली भाषा, संस्कृतिको प्रवर्धनमा लागि रहेको पनि जनाए ।

कार्यक्रममा कोषाध्यक्ष गोपी सापकोटाले स्वागत मन्तव्यसहित लिम्बुको पुस्तकको संक्षिप्त परिचय दिएका थिए । उनले अंग्रेजी कृति ‘अ सुसाइट नोट’ बाट ‘दि क्रियसन’ शीर्षकको एउटा कविता पनि सुनाए भने महासचिव जया राईले युद्ध मैदानबाट शीर्षकको कविता वाचन गरेकी थिइन् ।

तस्विर सौजन्य- भरत रोका

प्रतिक्रिया

सम्बन्धित सामाग्री