डार्टफोर्डमा अन्तर सामुदायिक सांस्कृतिक कार्यक्रम

लन्डन । डार्टफोर्ड नेपाली समाजको पहलमा डार्टफोर्ड र आसपासका नेपालीलगायत अन्य देशबाट यहां बसोबास गरिरहेका समुदायहरुको भव्य सांस्कृतिक कार्यक्रम टेम्पल हिल कम्युनिटी सेन्टरमा आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली, भारतीय, केन्यान र फिलिपिनो गरी चार विभिन्न देशका १० वटा नृत्य तथा गीत प्रस्तुत गरिएका थिए । उक्त कार्यक्रममा डार्टफोर्ड बोरो काउन्सिलका काउन्सिलरहरु क्रिस सिप्पम, रिचर्ड वेल्स्, टम म्याडिसन र अलिना गस्किन तथा एनएचएसका तर्फबाट जेनी सोलोमन उपस्थित भएका थिए । यसका साथै केन्ट पुलिसका तर्फबाट सुकी रान्ध्वा, सोनी रान्ध्वा तथा अभरिल मुरको उपस्थिति थियो ।

दुई सत्रमा बांडिएको उक्त कार्यक्रमको पहिलो सत्र समाजका महासचिव बेद भट्टराईले सञ्चालन गरेका थिए भने दोश्रो सत्र निकिता खरेल र सम्राट कोइरालाले सञ्चालन गरेका थिए ।

समाजका अध्यक्ष दीपक थापाको सभापतित्व र उपाध्यक्ष गजेन कटुवालको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा इन्साइट हेल्थका जेनी सोलोमनले स्वास्थ्य सेवा र सो सम्बन्धि जानकारी दिएकी थिइन् ।

त्यसैगरी केन्ट पुलिसका तर्फबाट सुकी रान्ध्वाले डार्टफोर्डवासी नेपालीहरुलाई केन्ट पुलिसमा जागिर खान आउन आव्हान गरे ।

काउन्सिलर रिचर्डले नेपाली समुदायसंग मिलेर कम्युनिटी 
सेफ्टीका क्षेत्रमा काम गर्न इच्छुक रहेको उल्लेख गर्दै गत वर्ष नेपाली समाजका महासचिवले काउन्सिलको मिटिङ्गमा उपस्थित भई चोरी र सुरक्षाका विषयमा कुरा उठाएपछि काउन्सिल र पुलिसलाई धेरै सहयोग भएको साथै नेपाली कम्युनिटीसंग मिलेर काम भइरहेको र आगामी दिनमा यो जारी रहने प्रतिवद्धता ब्यक्त गरे ।

समाजका सल्लाहकार डा. तेजेन्द्र फेरालीले समाजमा शान्ति र सुरक्षा जस्ता आधारभूत आवश्यकताका साथै विभिन्न देशबाट ’माइग्रेट’ भई यहां बस्ने मानिसहरुले संगै ल्याएर आएका कला, संस्कृति र रितिरिवाजहरुको पनि संरक्षण गरिनु पर्ने दलिल पेश गरे ।

नेपाली भाषा पाठशालाका विद्यार्थीहरुद्वारा नेपाली राष्ट्रिय गान तथा ब्रिटिश राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा एलिना पौडेलले ‘यो हो मेरो माइतीघर’ बोलको गीतमा उत्कृष्ट नृत्य प्रस्तुत गरेकी थिइन् भने रित्तिका श्रेष्ठले काठमाडौं उपत्यकाको मौलिक परम्परा झल्कने नेवारी नृत्य गरेकी थिइन् ।

फिलिपिनी गायक जोसेलितो बालुङेको गीतले सबैलाई मन्त्रमुग्ध पारेको थियो भने ब्रिस्टी घिमिरेको ‘फूलको आंखामा फूलै संसार’…ले आनी छोइङ डोल्माको शान्ति र सौम्यको गीतलाई सम्झायो ।

केन्याका कलाकारहरुको नृत्य तथा गीत बेजोडको थियो भने सास्रिक कार्कीको ‘यो नेपाली ठिटो’ को नृत्य नेपाली शान र मानको परिचायक बन्यो ।

साउथ इन्डियाको कला र संस्कृति झल्कने नृत्य भारत नाट्यम टोलीका कलाकारहरुले प्रस्तुत गरेका थिए । नेपाल र भारत लगायतका अन्य देशहरुमा समेत मनाइने कृष्णचरित्रसंग सम्बन्धित प्रस्तुतिले सबैलाई आनन्दित पारेको थियो । महिमा र नोबल पराजुली दिदी भाइको नृत्य बेजोड रह्यो भने अन्तिम नृत्य समाजकी सदस्य सुनिता गौतमको थियो ।

कार्यक्रम अन्त्यमा मुख्य अतिथि काउन्सिलका डेपुटी लिडर क्रिस सिप्पमले कलाकारहरुलाई प्रमाणपत्र वितरण गर्दै आफू यस कार्यक्रमबाट अति प्रभावित भएको र विभिन्न संस्कृतिलाई एक ठाउंमा ल्याएर समाजमा सकारात्मक सन्देश र भाइचाराको अभिवृद्धि गराउने काम भएको र आगामी दिनमा यो निरन्तर होस् भन्ने शुभेक्षा ब्यक्त गरे ।

कार्यक्रममा डार्टफोर्ड वरपरका करिब १०० नेपाली, काउन्सिलर, केन्ट पुलिस लगायत इन्डिया, केन्या, फिलिपिन्सका कलाकार समेत गरि १५० भन्दा बढिको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री