लन्डनमा रमाउंदै फुटबलर लामा

लन्डन । विदेशका दर्जनौं मुलुक घुमेपनि फुटबलर विक्रम लामालाई बेलायत बेग्लै अनुभूति भएको छ । ‘अरु बेला टिमसंग खेल खेल्न गएको हुन्थें । कोच र अफिसियलका अगाडि स्वतन्त्र हुन मिल्दैनथ्यो’, बुधबार सांझ व्यक्तिगत 
भ्रमणका लागि लन्डन उत्रिएका लामाले भने, ‘अनुशासनभन्दा यसपटक बिन्दास छ । जता घुमेपनि, भेटेपनि कसैको रोकतोक हुने छैन् ।’

तर, यो होइन एक्लै भएर उनले बाटो बिराउनेछन् । सोहोतिर टहलिने छन् । बरु फुर्सदिलो समय विभिन्न इंगलिस क्लब र पदाधिकारी भेट्ने, नेपाली समुदायसंग साक्षात्कार गर्ने र लन्डनका केही ऐतिहासिक धरोहर अवलोकन उनको योजना छ ।

नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत च्याप्टरका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीको पहलमा पहिलो पटक बेलायत आएका थ्री स्टार क्लबका टिम क्याप्टेन लामा 
‘फिजियोथेरापी’ र खेल अभ्यास गर्ने योजनामा पनि छन् । नेपाली फुटबलमा उत्कृष्ट मिडफिल्डर मानिने लामा खुट्टाको इन्जुरीका कारण केही समय थलिएका थिए । ‘राम्रो ठाउं आएका बेला खुट्टाको फलोअप पनि गर्ने सोचेको छु’, उनले सुनाए, ‘फुटबलको जननी देशमा आउंदा यहांका क्लब अवलोकन र अभ्यासका लागि कुरा भइरहेको छ । बेलायतको तीन साता बसाइ रचनात्मक काममा खर्चने छु ।’

आउंदो वर्ष ३० मे, २०२० का दिन इंग्ल्याण्ड सी टिम र नेपालको राष्ट्रिय फुटबल टिमबीच अल्डरसट टाउन फुटबल क्लबमा खेल हुने घोषणा स्वागतयोग्य भएको उनले बताए । तर, राज्यले खेलाडीहरुलाई थप हौसला दिनुपर्ने उनको धारणा छ ।

नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत र एनआरएनए यूकेले लामासंग साक्षात्कार कार्यक्रम तय गरिसकेको संघका अध्यक्ष क्षेत्रीले जनाए ।

नेपाली फुटबल इतिहासमा नयां होइनन् लामा । सन् २०१२ देखि राष्ट्रिय फुटबल टिमबाट खेल्न थालेका उनले राष्ट्रिय अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागिता जनाएर नेपाललाई कयौं पदक दिलाइसकेका छन् ।

सन् २०१६ मा आयोजित १२ औं साउथ एसियन गेम्समा स्वर्ण पदक दिलाउन उनको पनि अहंम भूमिका छ, जतिबेला उनी नेपाली राष्ट्रिय टिमको उपकप्तान थिए । सन् २०१६ मै बंगलादेशमा भएको बंगबन्धु गोल्ड कप र मलेसियामा आयोजित सोलिडारिटी कपमा नेपाली टिम वीनर हुंदा उपकप्तान लामाले ‘क्रेडिट’ नपाउने त कुरै भएन । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री