शनिबार, साउन ४ २०७६ | Sat, July 20, 2019
नेपालको समय: १३:१७ | UK Time: 08:32

म पनि एनआरएन यूकेको उम्मेदवार !

विनेपाली
२०७६ असार २२ गते ९:२९

लन्डन । एक बिहान काम जाने चटारो हुंदै थियो । एक सामाजिक अभियन्ता (अचेल यो शब्द खुब चल्तीमा छ, अर्थ नबुझेपनि) ले बारबार फोन हानिरहे । लाग्यो, केही अर्जेन्ट कामले सम्झिएछन् । 

कल ब्याक गरेपछि उनले अनुनय गरे, ‘सर म पनि यसपटक एनआरएनए यूकेमा …  घोषणा गर्नुपरयो । ‘तपाईंले सांच्चिकै उम्मेदवारी दिने हो ?’ प्रतिउत्तरमा तिनले भने, ‘एउटा समाचार बनाइ राखौं न । नोमिनेशनको दिनसम्म विचार गरौंला, अहिले घोषणा गर्दैमा न पैसा जान्छ, न समय । केही मानिसले कम्तीमा चिन्छन् ।’

काममा मारामार भइरहंदा आएको अर्को ‘इरिटेटिङ’ कल पनि उम्मेदवारी दिनेसंग नै सम्बन्धित थियो । काम सकिएपछि कल ब्याक गर्दा तिनले भने, ‘म पनि एनआरएनए यूकेमा उठ्न लागेको, न्यूज हालिदिनु परयो प्लिज ।’ 

एनआरएनए यूकेको नयां कार्यसमिति चयन हुन झण्डै ९ साता बांकी रहंदा अचेल यस्ता कलले आजित छन् पत्रकार । वास्तवमा सार्‍है सस्तो विषय भएको छ उम्मेदवारी घोषणा गर्ने । न कटिवद्द छ आफ्नो घोषणामा । न औपचारिक कार्यक्रममार्फत घोषणा छ, न अजेन्डा छन्, न उसको सामाजिक पृष्ठभूमि छ । एनआरएनए कस्तो संस्था हो, उसको काम कर्तव्य के छ ? जिम्मेवारीमा आएपछि मैले के भूमिका निर्वाह गर्नुपर्छ समेत उसलाई हेक्का छैन् । उसले समाजमा कस्तो छवी बनाएको छ ? मतलब छैन् । तर, उसलाई एक कल फोनको भरमा उम्मेदवारी घोषणा गर्ने समाचार हालेर चर्चित हुनु छ, अग्रिम शुभकामना लिनु छ । न्यूज पोस्टमा केही थान लाइक खान उ बडो आतुर छ । दुई चार कल फोनै पनि आउने भयो । बीबीक्यूतिर हात मिलाउंदै ‘ल है यसपटक मलाई…’ को अनुनय गर्दा उसलाई सान नै भएको छ । 

दुई वर्षसम्म गुमनाम पात्रहरु पनि चुनावको बेला खुबै सलबलाएका छन्। तर, नयां प्रचलन होइन यो। कार्यसमितिमै भएका केही अनुहार पनि फेरि पद लोलुपतामा डुबेर उम्मेदवारीको चर्चा बटुलिरहेका छन् । 

एनआरएननै भनेर वर्षौं देखि लागेका, समाज र देशका लागि हजारौं पाउण्ड खर्च गरेका ‘जेन्यूइन’ अभियन्ताप्रति कदापी लक्षित होइन यो लेख । त्यस्ता उम्मेदवारहरुलाई त हाम्रो नमन छ । मिडियाले साथ दिन पनि जरुरी छ । तर, अपवादबाहेक यस्तो घोषणा समाजसेवाप्रतिको मोहले हुंदै होइन् । अर्काले उचालेको भरमा, अरुले नै सदस्यता बनाइदिएको भरमा, अर्काको प्रायोजनमा केवल नामका लागि पछाडि दौडिरहेका अनुहार हुन् यी । सस्तो लोकप्रियताको भोकमा भइरहेका हुन् यी गतिविधि । आत्मामा समाजसेवा मात्र हुनेले यति हतार गर्दैन नाम घोषणा गर्न । ‘नोमिनेशन’ डेडलाइन आउन त समय छंदै छ नि ।  

यस्तो विकृति बढ्नुमा हामी पत्रकारहरुको सबैभन्दा ठूलो भूमिका छ । एक कल फोनको भरमा फेसबुकबाट फोटो तानेर आफैंले एजेन्डासहित समाचार बनाइदिने हामी ‘कथित’ जाने बुझेका पत्रकार नै दोषी छौं । धेरथोर चारो हालिदिएकै भरमा समाचार बनाउने, देखाउने हामी पत्रकारले नै नैतिक जिम्मेवारी लिन सक्नुपर्छ यो प्रवृत्ति बढ्नुमा । मेरो साथी, आफन्त, दाता, गाउंले वा यस्तै यस्तै ‘एक्सक्यूज’ मा समाचार बनाइरहने हो भने संस्थाको बचे खुचेको थोरै साख पनि विलिन हुन सक्छ । अब एउटा मापडन्ड जरुरी छ कस्तो ब्यक्ति र प्रत्यासीका न्युजलाई प्राथमिकता दिने भन्नेबारे । निस्चित छ अहिले उम्मेदवारी दिन्छु भन्ने ८० प्रतिशत नोमिनेशनको दिनसम्म पनि टिक्दैनन् । नाम कमाउन, बार्गेनिङ गर्न र काकताली परे पद नै हत्याउन खोज्नेहरु ‘पर्ख र हेर’ को अवस्थामा छन् । कतिपय अन्तिमसम्म होहल्ला गरेर पद खाने दाउमा छन् । किनकी उम्मेदवारीसंगै समय, स्रोत साधन र लगाव पनि चाहिन्छ ।

विडम्बना, यस्तो संस्थामा बौद्धिक, जाने बुझेको र निस्वार्थ व्यक्तिलाई कुनै रुची छैन् । केही दिन अघिमात्र प्राध्यापक डाक्टर सूर्य प्र. सुवेदीले अक्सफोर्ड विश्वविद्यालयबाट महाविद्यावारिधि उपाधि पाउने भएपछि समाचार बनाउने क्रममा यस पंक्तिकारलाई भनेका थिए, ‘म एनआरएन यूकेमै लागेको भए यस्तो उपलब्धिबाट टाढै हुन्थें । समय जति संस्थामै दिनु पर्दथ्यो, तिनै कथित समाजसेवीका कुरा सुनेर समय बर्बाद हुन्थ्यो । धन्न तत्कालिन समयमा मेरो विरोध र आलोचना गरिदिएर म यसबाट अलग भएं । अहिले म तिनै आलोचकहरुप्रति आभारी छु किनकि उनीहरु मेरो सफलतामा प्रेरणाका श्रोत हुन् ।’ 

समाजलाई ‘लिड’ गर्छ भनिने एनआरएन यूकेको भावी टिम छान्नु अघि अलिक चनाखो हुन जरुरी छ । विगतमा तिनले के काम गरे मुल्याँकन हुनुपर्छ । पदको पछाडि दौड्नेलाई पाखा लगाउँ, साथ होइन् ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक