लन्डनमा भानु जयन्ती

लन्डन । बेलायतस्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले लन्डनमा २०६ औं भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ मनाएको छ ।

वेष्ट लन्डनको एक्टनस्थित एबीआइ कलेजमा आयोजित उक्त समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेपाली राजदूतावासका द्वितिय सचिव तथा कवि लव सुवेदीले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्न आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गरे । नेपाली भाषा साहित्यको विकासमा परिषद्को विशिष्ट योगदान र इतिहास रहेको चर्चा गर्दै प्रमुख अतिथि सुवेदीले आफ्नो पनि यस परिषदमा पुरानो संलग्नता रहेको स्मरण गरे ।

परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजंग शाहले आदिकवि भानुभक्त आचार्यको जीवनीबारे प्रकाश 
पार्दै  अत्यन्त अविकसित समाज रहेको त्यो कालखण्डमा भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको लहर चलाए, त्यो आफैंमा एक साहसिक कदम रहेको र त्यसले नेपाली साहित्यको यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्न महत्वपूर्ण योगदान पुरयाएको चर्चा गरे ।

सभापतिको आसनबाट बोल्दै परिषदका अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले परिषदले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउंदै आएको जनाउंदै नेपाली पहिचान युग युगसम्म जीवन्त राख्न नेपाली भाषा, साहित्य, संस्कृति जस्ता चिनारी जोगाउंदै लैजानुपर्ने 
औचित्यतर्फ प्रकाश पारे ।

यसअघि स्वागत मन्तव्यका क्रममा परिषद्का सहअध्यक्ष कवि रेशम अर्यालले बेलायतमा साहित्यिक माहोलको शुरुवात गरेर परिषदले एउटा संवेदनशील अगुवाइ गरेको इतिहासबारे चर्चा गरे ।

कार्यक्रम सञ्चालन गर्दै परिषद्का महासचिव कवि वीरेन्द्र कुंवरले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको साहित्यिक योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे ।

राष्ट्रिय गान र आदिकविको तस्वीरमा माल्यार्पणबाट आरम्भ गरिएको समारोहमा परिषद्का पूर्वअध्यक्ष वरिष्ठ कवि हरिसिंह थापाले भानुभक्तिय रामायणका श्लोक वाचन गरेका थिए भने परिषदका कोषाध्यक्ष कवि तथा कलाकार मनोज अन्जानको सारंगीको धुन र उपाध्यक्ष कवि तथा कलाकार वसन्त रायक्षेत्रीको मादलको साथमा लोक धुन प्रस्तुत गरिएको थियो । कवि हरिसिंह थापा र कवि रेशम अर्यालद्वारा लयवद्ध कविता प्रस्तुत गरिएको थियो । साहित्य 
संगीतको समिश्रण रहेको उक्त 
समारोहमा सहभागी मन्त्रमुग्ध भएका थिए ।

दोश्रो चरणको कविता वाचन कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट आएका ११ कविले आ-आफ्ना रचना वाचन गरे । कविता वाचन गर्नेमा वसन्त रायक्षेत्री, घनबहादुर थापामगर, मनोज अन्जान, रेशम अर्याल, जीत छन्त्याल बुढाथोकी, विजय हितान, वीरेन्द्र कुवर, मदन थापा, हरिसिंह थापा, कोमल मल्ल र सुरेशजंग शाह थिए ।

समारोह सफल बनाउन परिषद्का कोषाध्यक्ष मनोज अन्जान, कार्यकारिणी सदस्य डम्बरसिंह प्रयास र एबीआइ कलेजका प्रोप्राइटर/ डाइरेक्टर कृष्ण भट्टले आर्थिक तथा ‘लजिस्टिक’ सहयोग गरेका थिए ।

तस्विर- नेपालीसमाजयूकेडटकम

प्रतिक्रिया

सम्बन्धित सामाग्री